लुम्बिनीका मुख्यमन्त्री सोनामले पाए विश्वासको मत

काठमाडौं, लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए ।सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो । सोमबार बैठकमा ४३ जना उपस्थित थिए ।

यस्तै प्रस्तावको विपक्षमा १ मत पर्‍यो । एमालेले बहिस्कार गरेको प्रदेश सभामा मुख्यमन्त्री केसीले राखेको प्रस्तावमा मतदान भएको हो ।

माओवादी नेता केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमाले नेतासमेत रहेका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले अल्मतमा परेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि केसी गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए ।

एमालेले भने प्रदेश सभा बैठकमा लगातार अवरोध गरेको थियो । सांसद विमला वली र अजय शाहीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमालेले बैठकमा अवरोध गरिरहेको छ ।