केन्द्रीय समितिमा प्रचण्डको प्रस्ताव- आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायम राखौँ

पुस ११ देखि राष्ट्रिय सम्मेलन गरौँ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेका छन् । शनिबारदेखि काठमाडौँमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा आगामी निर्वाचनसम्म वर्तमान सत्तारुढ गठबन्धनलाई कायम राख्ने प्रस्ताव राखेका हुन् ।

केपी शर्मा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सारेका छन् ।

उनले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताएका छन् । प्रचण्डले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् । पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्न प्रचण्डको प्रस्ताव छ । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण गर्ने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते स्थानीय तहमा सम्मेलन र कात्तिक ३० मा जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

आजकै बैठकमा प्रचण्डले विधान संशोधनको प्रस्ताव पनि पेस गरेका छन् । प्रचण्डले दुई वटा प्रस्ताव गरेपछि त्यसमाथिको छलफलका लागि ८ वटा समूह बनाइएको छ । समूहमा भएको छलफल बैठकमा पेस हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आठ वटै समूहलाई भोलि बिहान ११ बजेसम्मका लागि छलफलको समय दिइएको छ ।