पदमुक्त भएका पाँच सांसदको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं,माओवादी केन्द्रको कारवाहीमा परि पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए ।

त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले साउन ४ गते रिट दर्ता गराएका थिए ।पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

उनीहरू पाँचैजनाले आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको दावीसमेत उनीहरूको छ ।