नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरू आन्दोलित

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । संस्थाले तिन महिना देखी कर्मचारीहरूलाई तलब नखुवाएको भन्दै आज देखी आन्दोलित भएका हुन् ।कोरोना महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरिरहेको अवस्थामा बैशाख देखी हाल सम्म तलव नखुवाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको उक्त संस्थामा कार्यरत कर्मचारी कृष्ण बहादुर बुढाले बताए ।

उक्त संस्थामा रहेका ट्रेड युनियनहरु र संस्थाले प्रत्येक महिना बितेको ५ दिन भित्रमा तलव खुवाउने भन्ने लिखित सहमती गरिएकोमा संस्थाले त्यसलाई लागू नगरेको नर्सिङ अधिकृत सुमन गिरीले बताइन् ।

मेडिकल कलेजमा रहेका तिनवटा ट्रेड युनियनहरुले व्यवस्थापन पक्ष सँग तलव वृद्धी लगायतका मागहरू राखी ७ बुदे मागपत्र असारको ९ गते बुझाएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खानले बताए ।

आन्दोलनरत कर्मचारीहरूले लेखा शाखा, प्रशासन शाखा र प्रवन्धक सञ्चालकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।