असार २४ देखि सुर्खेतमा भेरोसेल खोप लगाउने तयारी

सुर्खेत,सुर्खेतमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २४ गतेदेखि दिइने तयारी भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइनेछ ।

जिल्लामा ६ हजार १५३ जनालाई दोस्रो डोज दिइने स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिएका छन्। वाग्लेका अनुसार कार्यालयले खोप कार्ड लिएर पहिलो डोज लगाएको केन्द्रमा गई सेवा लिन सूचना समेत जारी गरेको छ ।असार २४ गते ९७ जना नेपाली सेना, ४७९ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि प्रदेश प्रहरी कार्यालय तथा नेपाली सेनाका लागि उत्तरपश्चिम पृतनामा खोप दिइने छ ।

यस्तै असार २५ गते सुर्खेत कारागारका ७७ जना कैदीबन्दी, २६ गतेदेखि सबै स्थानीय तह र प्रदेश अस्पतालमा २६ गतेदेखि २८ गतेसम्म खोप लगाइने छ । बिहान १० बजेदेखि चार बजेसम्म खोप सेवा लिन सकिने कार्यालयले जनाएको छ ।