प्रदेश २ प्रदेश सभा बैठक स्थगित

जनकपुर,बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेश २ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ । यो दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । प्रदेश सभा संसद सचिवालयले बुधबार १ बजे का लागि बैठक आह्वान गरेको थियो। तर, बैठक स्थगितसम्बन्धी प्रदेश सांसदहरुलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ ।

यस अघि असार १५ गते १ बजेका लागि बोलाइएको बैठक पनि १ दिनअगाडि स्थगित गरेको जानकारी गराउँदै २३ गते बैठकको समय निर्धारण गरिएको थियो। सचिवालयका सचिव रंजित यादवले बुधबार १ बजे बस्ने प्रदेश सभा बैठक आगामी असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए। सचिव यादवले प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले बुधबार बस्ने बैठक स्थगित गरिएको बताए।

उनले सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानी गर्न २४ गतेसम्म मात्रै हुने भएकाले व्यस्तताका कारण संसद सचिवालयमा सूचना टाँसेर प्रदेश सभा बैठक स्थगित गरिएको बताए । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सभामा पेश गरेको बजेटमाथि छलफल सुरु हुन सकेको छैन। बजेटमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले संसदीय विकास कोषको बजेट ५ करोड माग गरेका छन्। विपक्षी दलका संसदहरुसँग संसदीय विकास कोषको रकमबारे सरकारले छलफल गरी आन्तरिक रुपमा सहमति गरेको छ।

संसदीय विकासको कोषको बजेट नबढाई स्थानीय तहमा पठाइने सशर्त अनुदान कटौती गरी प्रदेश सांसदहरुमार्फतबाट खर्च गर्ने विषयमा सरकार र विपक्षी दलका सांसदहरुबीच सहमति भएका एक प्रदेश सांसदले बताए । प्रदेश सरकारमा नेपाली कांग्रेसका तीन मन्त्री थपिएपछि मन्त्रालयगत बजेट बाँडफाँट र मन्त्रीहरुबीच मन्त्रालयको बजेटमा समेत विवाद हुँदा सरकारले बजेटमाथि छलफल गर्न प्रदेश सभा बैठक बोलाउन सकेको छैन। प्रदेश सभा संसद सचिवालयले बैठक बोलाए पनि सरकारले तयारी नपुगेको जानकारी गराएपछि संसद सचिवालयले प्रदेश सभा बैठक पटक पटक स्थगित गर्दै आएको छ।