बाढीले बगाउँदा गाडीसहित ३ जना बेपत्ता

पर्वत,कुस्मा नगरपालिका–८ दोबिल्लास्थित सुन्दरे खोलामा पहिरोपछि आएको बाढीले बगाउँदा गाडीसहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका प्राविधिक र कर्मचारी रहेका छन् । इन्जिनियर राजाराम आचार्यसहित गाडीमा सवार ३ जना बेपत्ता भएको आयोजनाले जनाएको छ ।

राति करिब १२ देखि १ बजेको बिचमा घटना भएको भए पनि बिहान करिब ५ बजे मात्रै जानकारी आएको पर्वत प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रदीप पौडेलले बताए । उनका अनुसार बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्गको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर आचार्य र सवारीचालक इन्द्र थारु छन् भने अर्का एक जनाको पहिचान हुन सकेको छैन ।

‘हामीले बिहान ५ बजे मात्रै घटनाबारे जानकारी पायौं,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक पौडेलले भने, ‘अहिलेसम्म गाडी र मान्छेको केही पत्तो लागेको छैन ।’ मध्यपहाडी राजमार्गको उक्त खण्डभन्दा करिब ७० मिटर तल मोदीखोला छ । गाडी नम्बर र अन्य विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।