काठमाडौँमा भित्ते चित्र मेटाएको विरोधमा धर्ना

काठमाडौं,चित्रकारहरूले रत्नपार्कको आकाशे पुलको भित्तामा पुनः फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने माग राख्दै धर्ना दिएका छन् ।

काठमाडौं महानगरपालिकाले चित्र मेटाएपछि राष्ट्रियसभा गृहमा आधा घण्टाभन्दा बढी विरोध स्वरूप उनीहरुले आइतबार धर्ना दिएका थिए । विरोध धर्नापछि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई निवेदन पत्र बुझाएका थिए । उक्त चित्रमा पुनः कोभिड-१९ विरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने उनीहरुको माग छ ।

दुजाङ शेर्पाको परिकल्पनामा कोभिडविरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र केही साताअघि चित्रकार साङ्गे थिङ लामा, सुमिना श्रेष्ठ, कृपा शेर्पालगायतले कोरेका थिए। त्यहाँ डाक्टर,नर्स, पत्रकार, प्रहरी, सशस्त्र प्रहरीलगायतको तस्विर थियो । महानगरपालिकाले उक्त भित्ते चित्र गत बुधबार मेटाएपछि यसको चौतर्फी विरोध भएको छ ।