राष्ट्रकविको सानदार छविः देशभक्ति र स्वाभिमान

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ । –माधव घिमिरे

अहिले देशले फेरि एक पटक स्वाभिमानको पाठ सम्झिएको छ । जुन पाठ राष्ट्रकवि माधव घिमिरेले यी दुई पङ्क्तिमा राम्ररी सम्झाएका छन् । यस्तै शरीर नै जुरुक्क उठाउने स्वाभिमानका भाका कविका ओँठबाट अब सुन्न पाइने छैन । कालापानी र सुस्तातिर देशको सीमा रुँदै गर्दा कवि घिमिरे यो धर्ती छाडेर परलोकमा यिनै गीतको भाव खोज्दै हुनेछन् ।
नेपाली साहित्यका शिखरपुरुष राष्ट्रकवि माधव घिमिरेको २०७७ भाद्र २ गते साँझको पाँच बजेर ५५ मिनेट जाँदा निधन भएको छ ।

उनको निधनसँगै विभिन्न सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरू श्रद्धाञ्जली तथा समवेदनाका शब्दहरूले भरिएका छन् । एक किसिमले देश नै शोकमा डुबेको छ । नेपाली मनमुटुका ढुकढुकीलाई आफ्ना शब्दमा सजाएर कालजयी साहित्यिक सिर्जनाहरू दिएका घिमिरेले नेपाली कविता, गीतिनाटक, गीत, निबन्ध, समालोचना जस्ता अनेक विधामा कलम चलाएका छन् । प्रकृतिलाई सृजनाको मूल स्रोत मान्ने घिमिरे साहित्यिक प्रतिभाका हिसाबले कवि शिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटासँग तुलनीय मानिन्छन् । अझ कतिपय समालोचकहरूले त यी दुई प्रतिभालाई जोड्दा कवि घिमिरेको प्रतिभा बराबर पाउन सकिन्छ भन्ने दाबी गरेका छन् । यसो भन्नुमा लेखनाथको सिृजनात्मक परिष्कारचेत र देवकोटाको स्वच्छन्द काव्यिक कारिगरीको दोभान घिमिरेको प्रतिभामा पाइनुलाई आधार बनाइएको पाउन सकिन्छ ।

वि.सं.१९७६ असोज ७ गते लमजुङको पुस्तुत गाउँमा जन्मिएका घिमिरे त्यस क्षेत्रको रमणीय प्राकृतिक सौन्दर्यलाई भोग्दै हुर्किए । त्यसैले हिमचुली मुन्तिरका पाखा पखेरा यिनका लागि स्वर्ग समान प्रिय बने र गीतमा उनिएः

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो !

घिमिरेका गीतमा नेपाली माटोको सुगन्ध मगमगाउँछ । नेपालीको कर्मको गीत गाएर कहिल्यै नथाक्ने कवि पसिनामै जीवन देख्दछन् । नेपालका हरेक जात–जाति, भाषा– भाषीप्रति यिनको उत्तिकै सम्मान छ । यिनी अनेकतामा एकता चाहने कवि हुन् ।

थुतिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा अनि फूलबाट

राष्ट्रिय अखण्डता र देशभक्तिका गायक घिमिरे महामुलुकको पक्षमा सधै वकालत गर्दछन् । सुन्दर शान्त विशाल मुलुकको कामना गर्दछन्ः
गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल ।

कवि घिमिरेका सृजनामा संस्कृतिचेत निकै उच्च रहेको छ । बैशाख, यही हो मेरो मिथिला जस्ता कविता शकुन्तला, अश्वत्थामा, देउकी, बालकुमारी जस्ता गीतिनाटक, पापिनी आमा, राजेश्वरी जस्ता खण्डकाव्य किन्नर–किन्नरी गीतिसंग्रह आदि रचनाहरूमा घिमिरेको सांस्कृतिक चेतले साकार रूप धारण गरेका छन् ।

शान्तिका उपाशक घिमिरे अश्वत्थामा गीतिनाटकमा युद्धको सन्त्राश र कल्पकल्प रहिरहने पीडालाई ज्यादै मार्मिक किसिमले ध्वन्यार्थका विविध तहमा प्रस्तुत गर्न सफल छन् । विश्वयुद्ध र त्यसको परिणामलाई पृष्ठभूमि बनाई महाभारतको कथामा वर्णित एक पात्र अश्वत्थामालाई चरित्रनायक बनाई लेखिएको घिमिरेको यो कृति विश्व प्रशिद्ध नोवेल पुरस्कारका लागि समेत पठाइएको सूचना पाइन्छ ।

रसवादी कवि घिमिरे आफ्ना काव्यहरूमा शृङ्गार रस र करुण रसलाई निकै परिपाकावस्थामा पुराउन सफल देखिन्छन् । त्यसो त यिनका काव्यमा साहित्यका नवै रसको यथोचित र प्रासाङ्गिक प्रयोग भएको पाइन्छ । करुण रसको सुन्दर प्रयोग भएका यिनका गौरी, राजेश्वरी आदि खण्डकाव्य, अश्वत्थामा, देउकी, बालकुमारी आदि गीतिनाटक गुणस्तरका हिसाबले निकै उच्च कोटिका रहेका छन् । यिनका धेरैजसो रचना रसध्वनिको स्वभाविक तर विशिष्ट प्रयोगका कारण सुन्दर, मनोहर र लोकप्रिय बनेका छन् ।

छैनन् आज उनी म रुन्छु, नहुँला भोलि म मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो पिलपिले ताराहरू ती रुनन् । (गौरी)

गौरी खण्डकाव्यका हरेक श्लोकहरू करुण रसले भिजेका छन् । पत्नी वियोगले मर्माहत करुण भावनाको उच्च संवेगलाई भावुक कवि मनले गौरी खण्डकाव्यको स्वरूप दिएको पाइन्छ । जीवनमा जस्तासुकै पीर व्यथा आए पनि मान्छेले सहनै पर्दछ । राष्ट्रकवि पनि सम्हालिनुको विकल्प थिएन । आफू मर्नुभन्दा अगाडि क्यै नौलो काम गरेर जाने धोको कवि घिमिरेकोे थियो ।

क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे म मरी नजाऊँ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ ।

आशावादी कवि सधै जीवन र देशको गीत गाए । उनी महाकाव्य साधनामा वषौँदेखि तल्लीन थिए । ‘ऋतम्भरा’ महाकाव्यले साकार रूप लिँदै थियो । सायद केही श्लोक–सर्ग थप्दै थिए । उनी हिमालको उच्चतालाई जीवनको लक्ष्य बनाई हिँडे । हामीलाई हाम्रा देशका साँस्कृतिक निधिहरूको संरक्षण गर्न सधैँ सम्झाइरहे । मादल, झ्याली, चुड्का ख्यालीको महत्व बुझाउँदै रहे । दशैँ तिहारका उल्लासमा भुलाउँदै रहे । नेपाल रहे हामी नेपाली रहन्छौँ उनैले सिकाएर गए । भेटमा प्रेरणा दिँदै राष्ट्रकवि भन्थे ‘हामीले देश बनाउनुपर्छ, नसके देश बँचाउनुपर्छ ।’

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

आखिर नश्वर शरीर न हो । चाडबाडहरू मुखैमा आउँदै गर्दा घिमिरेले १०१ वर्ष भन्दा लामो जीवन पाए पनि संसार छाड्नै प¥यो । पार्थिव शरीर हामी माझ नरहे पनि उनका अमर कृतिमा घिमिरे बाँचिरहनेछन् । उनी र उनका कृतिमाथिका अनुसन्धानले घिमिरेलाई अमर बनाई राख्नेछन् । घिमिरेलाई उनकै शब्द सापटी लिएर नभनूँ भने पनि साश्रु भन्नै परेको छः

फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा ।

लेखक पुष्कर रिजाल र राष्ट्रकवि स्व: माधव घिमिरे

हार्दिक शब्दसुमन राष्ट्रकवि ! हार्दिक श्रद्धासुमन नेपाली साहित्यका महान तपस्वी !!