चीनले बनाइदिएको त्यो तातोपानी नाका !

नाकामा चहल-पहल सुरु

सिन्धुपाल्चोक । भूकम्पपछि बन्द रहेको नेपाल-चीनवीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सञ्चालन हुने दिन नजिकिँदै गर्दा सीमा क्षेत्रमा विस्तारै चहल-पहल सुरु भएको छ । भूकम्पपछि खण्डहरु बनेको यस क्षेत्रको भौतिक संरचना विस्तारै पहिलाको भन्दा राम्रोसँग निर्माण भएको छ । भूकम्प लगत्तै तातोपानी भन्सारबाट हिँडेका भन्सारका कर्मचारीहरु र्फकन थालेका छन् ।

भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन ।

भवनभित्र सुन्दर बगैंचा, पानीको फोहोरा, पार्किङलगायत सबै सबै सुविधासम्पन्न छ । भोटेकोशी नदीमाथि निर्माण भएको १ सय ६० मिटर लम्बाइको पक्की ट्रष्ट पुलमा इन्जिनियरिङ रुपमा असाध्यै राम्रो डिजाइन गरिएको छ ।

०७० पुस ५ गते सुख्खा बन्दरगाहाको निर्माण सुरु गरिएको थियो । निर्माण सुरु भएको ३० महिनाभित्र काम सक्ने तयारी भए पनि भूकम्प र भोटेकोशी बाढीले निर्माण कार्य रोकिएको थियो ।

चीन सरकारले तातोपानी नाका खोल्न चासो दिएपछि रोकिएको बन्दरगाह निर्माण पुनः सुचारु भएको थियो ।

नेपालमा हालसम्म ५ वटा सुख्खा बन्दरगाह छन् । सबै भारतीय नाका क्षेत्रमा भएपनि चीनसँग सीमा जोडिएको क्षेत्रमा भने यो पहिलो सुख्खा बन्दरगाह हो । चिनियाँ पक्षले आगामी जेठ ६ गते सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गर्नै तयारी गरेको छ ।

नाकामा चहल-पहल सुरु

राजधानीबाट नजिकै रहेको भन्सार भएकाले पनि विगतमा यहाँ आउनका लागि कर्मचारीहरु निकै मेहनत गर्थे । दुई अधिकृतसहित १ सय बढी कर्मचारीहरु यसअघि कार्यरत भए पनि भूकम्प लगत्तै सबै कर्मचारी भागेका थिए ।

नाका सञ्चालन हुनै लाग्दा भन्सार विभागले कर्मचारीहरु पठाउन सुरु गरेको छ ।