यस्तो छ देउसीभैलीको इतिहास !

देउसीभैलो कहिलेदेखि सुरु भएको हो भन्ने कुनै औपचारिक इतिहास भेटिँदैन । तिहारका वेला गीत गाउँदै घरघरमा पुगेर आशिक दिने र दान थाप्ने संस्कार हो देउसीभैलो । देउसी भैलीलाई लोकगीतभाका र नृत्यसँग पनि जोडेर हेर्ने गरिन्छ । तिहारको वेला एउटा घर पनि नछुटाई खेल्नुपर्छ भन्ने मान्यता छ ।

तिहारको मुख्य विषेशताको रूपमा देउसीभैलीलाई लिने गरेको पाइन्छ । या भनौँ यसले तिहारको शोभालाई बढाएको छ । यसले विकास गरेका आफ्नै सामाजिक सन्देश छन् । तर, यसलाई धार्मिक कारणसँग जोडेर हेरिएको पाइन्छ ।
धर्मराज थापा, चूडामणि बन्धु, कृष्णप्रसाद पराजुलीजस्ता लोकसंस्कृतिका अनुसन्धानकर्ताले यो लोकभाका भएको र सद्भाव, सुखशान्ति र समृद्धिको कामना गर्दै खेलिने गीतसंगीत भएको बताउँदै आएका छन् । उनीहरूले यो संस्कृति युगौँदेखि सुरु भएको मान्दै आएका छन् । देउसीभैलोको सन्दर्भमा किरात समुदायको पनि आफ्नै व्याख्या पाइन्छ । किरात धर्मको मौलिक आख्यानअनुसार कात्तिक औँसीको दिनदेखि ३ दिन ३ रातसम्म दीपावली गरेर देउसी (दिनमा र रातमा) खेलिन्छ । र, त्यसलाई अवलम्बन पनि गरेको पाइन्छ ।

यद्यपि देउसीभैलो कसरी सुरुवात भयो भन्ने विषयमा भने इतिहासविद् तथा संस्कृतिविद्बीच एकमत पाइँदैन । हिन्दू धर्मावलम्बीले पुराणलाई आधार मानेर यसको व्याख्या गरेको पाइन्छ । ग्रन्थकै आधारमा इतिहासकार गोविन्द टन्डन भन्छन्– अहंकार मेटाइएको उपलक्ष्यमा देउसीभैलो खेलिएको हो । यसमा दान दिने प्रचलन छ र यो भनेको अहंकारको प्रतीक हो । यसमा बलिराजाको कथा रहेको उनको भनाइ छ ।

उनले बलिराजा अहंकारवादी भएको र देवी–देवतालाई कुदृष्टिले हेर्ने गरेको, पछि उनी खुसी भएर दानी बनेको र त्यसैको उपलक्ष्यमा देउसीभैलो खेलिएको बताउँछन् । यतिसम्म कि देवीहरूलाई उनले राज्य नै दिने बताएका थिए । त्यसपछि दान दिने चलन सुरु भएको बताउँछन् । उनी यो विशुद्ध मनोरञ्जनका लागि खेलिने पनि उल्लेख गर्छन् । उनका अनुसार हाम्रो समाज वा देश कृषिप्रधान रहेकाले काम सकाएर दीपावली गर्दै गीत गाउँदै नाच्दै रमाइलो गर्ने संस्कृति नै देउसीभैलीको रूपमा विकास भएको हो । उनले भने, ‘त्यतिवेला देवश्री भन्दै गीत गाउने चलन थियो । यो मौसममा सबै जातजातिमा यस्ता खालका गीत गाउने र उल्लास मनाउने प्रचलन थियो । त्यतिवेला पुरुषले देवश्री भन्दै गाउँथे । जुन अपभ्रंश हुँदै देउसुरे हुन पुग्यो । तर, देवश्री महिलाले भन्न पाउँदैनथे र उनीहरूले भैली भन्ने गर्थे ।’ हिन्दूधर्मको आविष्कार भएसँगै यसलाई धर्मसँग जोडेर आफ्नै ढंगले परिभाषित गर्दै र थप्दै लगेको आहुती बताउँछन् । तर, देउसी भारतमा नभएकाले यो नेपालको पर्वगीत रहेको उनी बताउँछन् ।

एकथरी धर्मवलम्बीहरू भने अयोध्यावासीले आफ्ना राजा रामको स्वागतमा देउसी गाएको बताउँछन् । कात्तिक मासको बाक्लो कालो मौसममा घ्यूको दियो बालेर उनीहरूले सत्कारमा (देवश्री राम)भन्दै गाएको र नारा लगाउँदै घुमेको पनि उल्लेख भएको पाइन्छ । देवश्री रामको अर्थ ‘हाम्रा राम देउता’ हो ।

गाउँघरमा देउसीभैलो भाइटीकाको दिन विशेष रूपले खेलिने भए तापनि लोकभाकाका अध्येता सुबी शाह भने ठाउँठाउँका चलनअनुसार भाइटीकाको दिन नखेलेर अघिल्लै दिन खेलेको पाइने उल्लेख गर्छन् । देउसीभैलो कसरी सुरुवात भयो भन्ने विषयमा इतिहासविद् तथा संस्कृतिविद्बीच एकमत पाइँदैन । हिन्दू धर्मावलम्बीले पुराणलाई आधार मानेर यसको व्याख्या गरेको पाइन्छ ।

पुराणमा यसरी भनिएको छ

पुराणमा देउसीभैलोको विषयमा उल्लेख गरिएको छ । बलिराजासँग जोडेर यस देउसीभैलो गीतलाई प्रस्ट्याइएको पाइन्छ । बलिराजा पृथ्वीमा राज्य गर्ने गर्थे, उनी अति नै दानी थिए । प्रत्येक दिन दान नगरी उनी केही खाँदैनथे । यही कारणले स्वर्ग र अरू लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे, जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए ।

त्यसपछि वामन (बाहुन्ने)को रूप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे, यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् । यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे । तर, बलिले दान संकल्प के सकेका थिए, वामनको रूप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश । त्यसपछि तेस्रो पाउभरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे ।

उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एकपल्ट तिहारको वेला पृथ्वी घुम्ने अवसर दिइयोस् । प्रार्थनालाई स्वीकार गरेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यही तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वासमा दीप जलाइएको भन्ने पनि भनाइ छ । देउसेहरू बलिराजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलिगीत विकृत रूप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् । एकथरी धर्मवलम्बीहरू भने अयोध्यावासीले आफ्ना राजा रामको स्वागतमा देउसी गाएको बताउँछन् । कात्तिक मासको बाक्लो कालो मौसममा घ्यूको दियो बालेर उनीहरूले सत्कारमा (देवश्री राम)भन्दै गाएको र नारा लगाउँदै घुमेको पनि उल्लेख भएको पाइन्छ ।

किरातमा आफ्नै किम्बदन्ती

किरातहरू ‘देउसी रे’को आफ्नै इतिहास रहेको उल्लेख गर्छन् । किरातको किंबदन्तीअनुसार आदिम कालमा किरात राज्यमा वलिहाङ नामक राजा थिए । उनलाई जन्ममृत्युको समेत ज्ञान थियो । प्रजामाझ निकै लोकप्रिय रहेका उनीसँग ज्योतिष विज्ञानको ज्ञान र भविष्यवाणी गर्ने अद्भूत क्षमता थियो । उनले आफ्नो मृत्युमितिबारे जनतालाई अवगत गराई कात्तिक औँसीको दिन आफ्नो घर, आँगन सफासुग्घर राखी धुप बाली युमासाम्माङ (किरातहरूको आराध्यदेवी)को प्रार्थना गर्न आग्रह गरे ।

उक्त समाचारले जनतामा शोक छायो । उनीहरूले बिहानैदेखि धुपबत्ती बालेर आफ्नो राजालाई बचाइदिन प्रार्थना गरे । राजा बलिहाङ बच्न सकेनन् । तर, प्रजाहरूले युमासाम्माङको सामु लम्पसार भएर अझै धेरै बचाइदिन आग्रह गर्दै प्रार्थना गरिरहे । प्रार्थनाले गर्दा युमासाम्माङले हर्षित भइन् र जीवनदान दिइन् । र, बिहान झुल्केघामसँगै बलिहाङले पुनर्जीवन पाए । त्यसैको उपलक्ष्यमा सारा प्रजालाई त्यो सुनाउँदै देउसीभैलो खेलिएको किराती किंबदन्ती छ । -नयाँ पत्रिका