इन्टरपोल पर्यवेक्षकबाट सशस्त्र प्रहरी हट्यो

विश्वका प्रहरीहरूको साझा संस्था इन्टरपोलको ‘पर्यवेक्षक’बाट नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)लाई हटाइएको छ ।
गृह मन्त्रालयको सिफारिसमा इन्टरपोलले सशस्त्र प्रहरीलाई इन्टरपोल महासभाको पर्यवेक्षकबाट हटाएको हो । पर्यवेक्षकको रूपमा भाग लिन नपाएपछि सशस्त्र प्रहरी गृह मन्त्रालयसँग असन्तुष्ट बनेको छ । गृह मन्त्रालयले सशस्त्रलाई सहभागी नगराउन फ्रान्स स्थित इन्टरपोल मुख्यालयलाई पत्राचार गरेपछि असोज १० देखी १३ सम्म चीनमा सम्पन्न ८६ औं महासभामा समेत सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भाग लिन पाएनन् ।

८६ औं महासभालाई चिनिया राष्ट्रपति सी जिन पिङले वेइजिङ स्थित चाइना नेशनल कन्भेन्सन सेन्टर’मा उदघाटन गरेका थिए । प्रहरी महानिरीक्षक प्रकाश अर्याल, अतिरिक्त महानिरीक्षक (एआइजी) बमबहादुर भण्डारी र प्रहरी उपरीक्षक (एसपी) किरण बज्राचार्य महासभामा सहभागी भई १ साता अघि नै काठमाडौं फर्किसकेका छन् ।

“सशस्त्र प्रहरीलाई इन्टरपोल महासभामा पर्यवेक्षक बनाउन आवश्यकता नदेखेरै नोमिनेशन नगरेका हौं,” गृह मन्त्रालय उच्च स्रोतले भन्यो, “पछि आवश्यकता ठानेमा सिफारिस गरौंला तर कानन कार्यान्वयन गर्ने निकाय जाने ठाउमा सशस्त्रको उपस्थिति अनिवार्य छैन ।”
१ सय ९२ राष्ट्रका कानुन कार्यान्वयन गराउने प्रहरीहरूको साझा संस्था इन्टरपोलको नेपाल प्रमुख प्रहरी महानिरीक्षक रहने व्यवस्था छ । नेपालको कानुन कार्यान्वयन गराउने निकाय नेपाल प्रहरी हो । तर, विसं २०६४ सालबाट इन्टरपोलले सशस्त्र प्रहरीलाई पर्यवेक्षक संस्थाको रूपमा वार्षिक साधारण सभामा सहभागी गराउँदै आएको थियो । १ दशकअघि गृहमन्त्री कृष्णप्रसाद सिटौलाको दवावमा इन्टरपोल महासभाको पर्यवेक्षकको रूपमा तत्कालिन सशस्त्र प्रहरी प्रमुख वासुदेव वलीलाई सहभागी गराएका थिए ।

त्यसयता सशस्त्र प्रहरी प्रमुख हरेक महासभामा प्रहरी महानिरीक्षकसँगै सहभागी हुँदै आएका थिए । नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल इन्टरपोलमा सशस्त्र प्रहरीको सहभागीता आवश्यकतै नभएको बताउँछन् । सशस्त्रले आफ्नो भूमिका के हो भन्ने बुझ्न नसकेर कहिले सेना र कहिले प्रहरीको चरित्र देखाएको ढकालको धारणा छ । “सम्वन्धित देशको कानुन कार्यान्वयन गर्ने निकाय इन्टरपोलको सदस्य रहने स्पष्ट व्यवस्था अनुसार नेपाल प्रहरीको प्रमुख इन्टरपोल नेपालको अध्यक्ष पनि हो,” पूर्वएआइजी ढकाल भन्छन्, “विश्वभर नै यही प्रावधान हो, त्यही भएर इन्टरपोलमा प्यारामिलिटरी फोर्सलाई सदस्य वा पर्यवेक्षकको रूपमा सहभागी गराउन आवश्यकता नै छैन ।”

नेताहरूको स्वार्थ, अहम र अज्ञानताको भूमरीमा फसेर सशस्त्र प्रहरी अर्धसैनिक बलको महत्व र स्थापनाकालमा लिइएको उद्देश्यबाट विचलित भएको ढकालको टिप्पणी छ । “कहिले सेनाजस्तो, कहिले प्रहरीको जिम्मेवारीमा जानखोज्ने सशस्त्रको चरित्र गलत हो,” ढकाल भन्छन्, “इन्टरपोलमा पनि प्रहरी मात्रै जाने हो, अरु निकायका जिम्मेवारीमा नजर लगाएर अर्धसैनिक बल मूल दायित्वबाट विचलित हुनुहुँदैन ।”