समाजसेवीको आवरणमा लुकेका अस्ट्रेलियन यौनदुराचारी पक्राउ

अस्ट्रेलियन नागरिक केन्डलर मार्कुसलाई धादिङ गोगनपानीका बासिन्दाले हरेकपटक गाउँ आउँदा सम्मान गर्थे । गोगनपानीमा उनको समाजसेवीको पहिचान थियो । नेपाल आएलगत्तै उनी सो गाउँमा पुग्ने गर्थे । तर, मार्कुसको उद्देश्य विशुद्ध समाजसेवा थिएन, सो गाउँका गरिब बालकहरूसँग अप्राकृतिक यौन गतिविधिमा रमाएर आनन्द लिने थियो । बिहीबार पक्राउ परेपछि मात्र मार्कुसको वास्तविकता उदांगो भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलको ठहिँटीस्थित होटेलबाट उनलाई पक्राउ गरी एक बालकलाई उद्धार गरेको छ ।

पेसाले इलेक्ट्रिसियन बताउने उनी पटक–पटक नेपाल आउने गरेको सिआइबीकी प्रवक्ता एसपी मीरा चौधरीले बताइन् । हालसम्म उनले दुई बालकमाथि यौनदुराचार गरेको पुष्टि भएको छ । ‘धेरै बालक उसबाट पीडित भएको हाम्रो अनुमान छ,’ एसपी चौधरी भन्छिन्, ‘उसलाई सहयोग गर्ने अन्य मान्छे पनि हुन सक्छ ।’ उनको थप पृष्ठभूमि थाहा पाउन प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । सन् २०१४ देखियता उनी चारपटक नेपाल आइसकेका छन् । मार्कुस पछिल्लोपटक २० अगस्टमा नेपाल आएका थिए ।

अन्य देशको तुलनामा नेपालको कानुन कमजोर

कमजोर सजायका कारण नेपाल विश्वमै बाल यौनदुराचारीको ‘हब’ बन्दै गएको छ । गत वर्ष २५ भदौमा अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस र नेपाली एजेन्ट बुद्ध पुतवारलाई बाल यौनदुराचारको अभियोगमा सिआइबीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा संगठित रूपमै दुवैले नेपालमा बाल यौनदुराचारको धन्दा गर्ने गरेको खुलेको थियो । नेपालमा प्रहरीले बाल यौनदुराचार मुद्दामा जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाउँछ । जसमा १३ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । विदेशमा जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ । नेपालमा गरिब परिवारका बच्चालाई सहयोगको प्रलोभनमा सजिलै प्रभावमा पार्न सकिने ठानेर यौनदुराचारीहरू पर्यटकको आवरणमा आउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

हाल जेलमा रहेका ४८ वर्षीय अमेरिकी नागरिक कुम्बस यसअघि पनि बाल यौनदुराचार मुद्दामा अमेरिकामा पक्राउ परी फरार भएका व्यक्ति हुन् । पेसाले उनी मोबाइल एप डिजाइनर हुन् । २१ वर्षीय नेपाली युवक पुतवार भने विदेशीलाई बालक उपलब्ध गराउने एजेन्ट हुन् । धेरै विदेशीले नेपाल आउँदा उनलाई नै फोन गरेर बालक मगाउने गरेको खुलेको थियो । पक्राउ परेका कुम्बसले पाँचजना बालकलाई ठमेलको एक होटेलमा बोलाएर यौन दुव्र्यवहार गरेको खुलेको थियो । पालैपालो बालकहरूलाई बोलाएर उनले यौन दुराचार गर्दै आएका थिए । त्यसबापत उनले बालक र एजेन्टलाई पैसा दिँदै आएका थिए ।

विश्वका धेरै देशमा बाल यौनदुराचार मुद्दामा कडा सजाय भए पनि नेपालमा कमजोर सजाय भएको यस्तो प्रवृत्तिका मान्छेहरू पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । नेपालमा पक्राउ परे पनि केही वर्षमै छुट्ने भएकाले विश्वका बालदुराचारीका लागि नेपाल ‘हब’ बन्दै गएको छ । बाल यौनदुराचार एक प्रकारको मानसिक रोग हो । यस्ता रोग भएका मानिस कलिला बालकस“ग यौनक्रीडामा रमाउने गर्दछन् ।

पर्यटकको आवरणमा यौनदुराचारी

नेपालमा पटक–पटक बाल यौनदुराचारी पक्राउ पर्दै आएका छन् । गत १५ असारमा प्रहरीले जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिचेलाई पक्राउ गरेको थियो । उनको कोठाबाट एक बालकको उद्धार गरिएको थियो । गत जेठमा पनि एक साउदी अरेबियन बाल यौनदुराचारकै आरोपमा पक्राउ परेका थिए । ६३ वर्षीय साहिद मोहम्मदलाई महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले पक्राउ गरेको थियो । एक सडक बालकलाई खाना खुवाउने भन्दै उनले ठमेलको नियल होटेलमा लगेर ‘ओरल सेक्स’लगायत गतिविधि गराएका थिए । पछि साथी नामक संस्थाले सो घटना थाहा पाएपछि प्रहरीमा उजुरी गरी उनलाई पक्राउ गरेको थियो ।

दुई वर्षअघि विश्वकै कुख्यात बाल यौनदुराचारी फेनविक म्याकन्तोस ललितपुरमा पक्राउ परेका थिए । सेन्ट जेभियर्स वेलफेयर सेन्टरका एक बालकलाई होटेलमा लगेर उनले यौनशोषण गरेका थिए । धनाढ्य व्यवसायी म्याकन्तोस क्यानडाका कुख्यात बालयौन दुराचारी हुन्, जो भारतमा समेत बाल यौनदुराचारकै आरोपमा पक्राउ परेका थिए । क्यानडामा मोस्ट वान्टेड रहेका उनलाई भारतमा पक्राउ गरी क्यानडामा बुझाइएको थियो । तीन वर्षअघि क्यानडामा छुटेपछि उनी नेपालमा बस्दै आएका थिए । सो घटनामा उनलाई सात वर्ष मात्र कैद सजाय भएको छ । ललितपुर जिल्ला अदालतले उनलाई पीडित बालकलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । हाल उनी जेलमा छन् ।

केही महिनाअघि फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपसमेत बाल यौनदुराचारकै लागि पटक–पटक नेपाल आउने गरेको खुलेको छ । तीन महिनाअघि फ्रान्सको प्रहरी उनको गतिविधिबारे अनुसन्धान गर्न नेपाल आएको थियो । अनुसन्धानका क्रममा उनले १४ जना बालकमाथि यौन दुव्र्यवहार गरेको खुलेको छ । अाजको नयाँ पत्रिकामा खबर छ।