व्यवसायीको दवावपछि नियमावली विपरित बसमा छत राख्न अनुमति

सरकारले यातायात व्यवसायीको दवावपछि सार्वजनिक बसमा छत (क्यारियर) राख्न अनुमति दिएको छ । दसैंका बेला अग्रिम टिकट बुकिङ नै नखुलाइ सरकारसँग सौदाबाजी गर्दै आएका व्यवसायीसामु सरकार झुकेको छ । सरकारले व्यवसायीको दवावमा छत राख्न दिने निर्णय गरे पनि यो कानुनविपरित कदम हो ।

दसैंमा २५ लाख सर्वसाधारणलाई उपत्यकाबाहिर पठाउनुपर्ने बाध्यताका कारण सरकारलाई झुकाउन व्यवसायी सफल भएका छन् । सार्वजनिक सवारीमा सरकार व्यवसायीसँग मात्र निर्भर हुँदा सरकार झुकेको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा मन्त्री वीरबहादुर बलायरलाई साक्षी राखेर व्यवसायीले नियमविपरितका आफ्ना माग पूरा गराएका छन् । गत वर्ष पनि रुट नभएका सवारी चलाउन नदिने भनेपछि व्यवसायीले अग्रिम बुकिङ नै खोलेका थिएनन् ।

व्यवसायीको बसको छत राख्न दिनुपर्ने माग पूरा भएपछि दसैंका लागि बसको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खोल्ने भएका छन् । सरकारले यातायात व्यवसायीले राखेको भाडा वृद्धिको सर्तमा पनि प्रक्रिया अघि बढाउने संकेत गरेको छ । चाडपर्वपछि वैज्ञानिक भाडा प्रणालीका आधारमा भाडा समायोजन गर्ने सहमति भएको हो ।

“बसमा यात्रुको सामान राख्न छत राख्न दिने र भाडा वैज्ञानिक प्रणालीमा चाडपर्वपछि समायोजन गर्ने सहमति भएपछि बुकिङ खुल्ने भएको हो,” नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने ।

यात्रुका सुविधाका लागि मंगलबारदेखि दसैंको अग्रिम टिकट बुकिङ खुल्न व्यवसायी राजी भएको उनको भनाइ छ । शनिबार मन्त्री बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा उक्त सहमति भएको हो । यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरे पनि छत राख्न नदिने भनेपछि व्यवसायीले अटेर गरेका थिए ।

व्यवसायीले यातायात व्यवस्था विभागलाई यसैगरी निरिह बनाउँदै आएका छन् । विभागले नियमावलीमा छत राख्न नपाइने उल्लेख भएकाले कुनै हालतमा राख्न दिन नसकिने भन्दै आएको थियो । तर दसैंको अप्ठेरो देखाइ मन्त्रिपरिषद्मा नियमावली संशोधन गर्न लैजानेगरि छत राख्न दिने निर्णय भएको हो ।

शनिबारको बैठकमा पनि व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए । मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

शनिबार भएको निर्णयअनुसार अग्रिम टिकट बुकिङ भदौ २७ गतेदेखि खुल्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । “दसैंमा यात्रुलाई सुरक्षित र सहज तवरले घर पु¥याउन सरकार प्रतिवद्ध छ । यातायात व्यवसायीले पनि यसमा सहयोग गरी अग्रिम टिकट बुकिङ खोल्ने हुनभएको छ,” प्रवक्ता पाण्डेले भने ।

काठमाडौं उपत्यकाबाट दसैं मान्न करिब २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ । व्यवसायीले यसपटक सडकको अवस्था खबराव रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न आनाकानी गरेका थिए ।

बाटोको समस्या समाधान गर्ने, टिकट बुकिङ गर्ने कर्मचारीले अनिवार्य परिचय पत्र लगाउने, ट्राफिक प्रहरीको चेकजाँचलाई कडाइ गर्ने सहमतिसमेत भएको छ ।