भारतीय सिमेन्टको आयात राेकियाे

प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि भारतबाट ठूलो परिमाणमा पैठारी हुँदै आएको सिमेन्टको आयात रोकिएको छ । सिमेन्ट आयात गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात गत आर्थिक वर्षमा निकै घटेको र चालू आवको साउन १ गतेबाट सिमेन्ट पैठारी पूर्ण रूपमा रोकिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गुणस्तरीयताको परीक्षण गराएर मात्र भारतीय सिमेन्टको आयात गर्नदिनु भनी ०७३ साल जेठ १७ गते परिपत्र आएपछि सिमेन्टको आयात घट्दै गएको जनाउँदै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले चालू साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी पूर्णरूपमा रोकिएको बताएका छन् ।

आर्थिक वर्ष ०७२–७३ मा नेपालगन्ज नाकाबाट ५ करोड ६९ लाख ६२ हजार ४ सय ४५ किलो भारतीय सिमेन्ट आयात भएकोमा ०७३–७४ मा सो आयात घटेर १ करोड ४० लाख ६४ हजार ८ सय १ किलोमा झरेको प्रमुख आचार्यले बताए । गुणस्तरीयता प्रमाणित गर्नुपर्ने परिपत्रपछि एक वर्षमै ह्वात्तै ४ करोड किलोभन्दा बढी सिमेन्टको आयात घटेको र चालू आर्थिक वर्षमा हालसम्म आयातनै नभएको उनले जनाए ।

यसअघिसम्म आइएसओको प्रमाणपत्रका आधारमा भारतीय सिमेन्ट पैठारी हुने गरेकामा गत आवको जेठ महिनादेखिनै सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ल्याब टेस्टको प्रतिवेदन अनिवार्य व्यवस्था गरिएको थियो ।

ल्याब टेस्ट गराउन सिमेन्टको नुमना राजधानी पठाउनु पर्ने र टेस्टको परिणाम आउन करिब १६ दिन समय लाग्ने हुँदा उक्त नियम लगाइएपछि भारतीय सिमेन्टको आयात घट्दै गरेर हाल बन्द भएको भन्सार कार्यालयले जनाएको छ ।

गुणस्तरीयताको प्रमाणपत्र हेरेर मात्र सिमेन्ट आयात गर्ने व्यवस्थाले नेपाली सिमेन्ट उद्योग फस्टाउने र सिमेन्ट उद्योगमा लगानी बढ्ने निश्चित भएको जनाउँदै यस्ता निर्णयले आर्थिक विकासलाई टेवा पु¥याउने नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । गत आर्थिक वर्षमा निकै कम सिमेन्ट आयात भएको र चालू आवमा आयात पूर्ण रूपमा रोकिएको तथ्यांकले नेपाली सिमेन्ट व्यवसायी उत्साहित भएको संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।

उता, गत वर्षददेखि भारतीय सिमेन्टको आयात घट्दै गएकाले नेपाली सिमेन्टको बिक्री अत्याधिक बढेको स्थानीय व्यवसायीले बताएका छन् ।  नेपाली सिमेन्टको मूल्य र गुणस्तर भारतीय सिमेन्टको तुलनामा राम्रो र सस्तो रहेकाले भारतीय सिमेन्टको आयात घटेपछि नेपाली सिमेन्टको माग र बिक्री दुवै ह्वात्तै बढेको स्थानीय व्यापारी तेजनारायण कँडेलले बताए ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले भारतबाट सिमेन्ट पैठारी गर्न जरुरी नरहेको जनाउँदै उहाँले भारतीय सिमेन्टको आयात बन्द हुँदा पनि सिमेन्टको कुनै अभाव नदेखिएको जनाए । केही वर्ष पहिलेसम्म भारतीय सिमेन्टकै भर पर्दै आएको यस क्षेत्रको बाँके र दांगमा पछिल्लो समयमा ठूला–ठूला अत्याधुनिक ४ वटा सिमेन्ट उद्योग खुलेपछि हरेक निजी र सरकारी निर्माणमा नेपाली सिमेन्टको प्रयोग हुँदै आएको छ ।