लालपुर्जा धितो राखेर बनाएको घर बगरमा परिणत

ऋण तिर्न तयार पारेको पैसा समेत बाढीले बगायो

रामेछापको लिखु गाउँपालिका-६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । उनलाई शरीर र हात-गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा मुस्किलले उनको ज्यान बचेको थियो ।

उक्त घटनाबाट पीडित उनमा शरीर र हात-गोेडा काँप्ने समस्या देखिएको बताइएकाे छ । 

लालपुर्जा धितो राखेर बनाएको घर बगरमा परिणत

बाढीले धार परिवर्तन गरी बस्तीमा पसेपछि उनको साढे दुईतले घर मात्रै बगेन, दुहुनो भैंसीसहित खसी-बाख्रा, कुखुरा र झन्डै ३५ धार्नीको सँुगुर पनि बगाएको थियो । गेलुपिटासीका उनी परिवारसहित केही वर्षअघि मात्रै खिम्ती झरेका थिए । उनले दुई वर्षअघि जनहित सहकारीमा लालपुर्जा धितो राखेर कर्जा लिएको दुई लाख ६८ हजार रकमले चार रोपनी दुई आना जग्गा किनेका थिए । उनले त्यहीं नै घर पनि ठड्याएका थिए । बाढीले उनको घरजग्गालाई बगरमा परिणत गरिदिएको छ । सहकारीलाई तिर्न ठिक्क पारेर बाकसभित्र राखेको दुई लाख ६८ हजार पनि बाढीले बगायो । बाढीले पैसाभन्दा पनि घरजग्गा पूर्णरूपमा स्वामित्वमा ल्याउने उनको सपना बगाएर लग्यो ।

ऋण तिर्न तयार पारेको पैसा पनि बग्यो

‘एक-दुई मिनेट ढिला गरेको भए हामी पनि बाढीसँगै बग्थ्यौं । ज्यान बचेकोमा खुसी लागेको छ । तर, यति खेर हामीसँग आफ्नो शरीरभन्दा केही छैन । न बस्ने ठेगान छ न त खाने कुरा नै’, छिमेकीको कटेरोमा आ श्रय लिइरहेका उनले बिलौना गर्दै भने, ‘ऋण गरेर किनेको जग्गा र जोडेको घर बग्यो । त्यही ऋण तिर्न तयार पारेको पैसा पनि बग्यो । अहिले घरबारविहीन छु । शरीर काँप्ने रोग थपिएको छ ।’

‘आमा बित्नुभयो​, सम्पत्ति केही बाँकी छैन’

अर्का पीडित होमबहादुर खत्री पनि उस्तै पीडामा भेटिए । बाढीको समयमा उनी जिल्लाबाहिर रहे पनि आमालाई बगाएर बेपत्ता बनायो । बोल्न-सुन्न नसक्ने दाजु र भाउजूसहित उनीहरूका दुई छोरी घाइते भए । उनीहरूको राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाढीले परिवारलाई छिन्नभिन्न पारिदिएपछि उनी पनि गाउँमै विरक्त अवस्थामा भेटिएका हुन् । ‘आमा बित्नुभयो । बोल्न र सुन्न नसक्ने दाइको सम्पत्ति केही बाँकी छैन ।

घरबारविहीन

परिवारका सबैले उपचार गराइरहनुपरेको छ’, आमाको अन्तिम कर्म सकाएर बरखीको सेतो कपडामा भेटिएका उनले भने, ‘दाइको परिवारको बिचल्ली हुने भयो ।’ बाढीमा जायजेथा सबै गुमाएका टंक खत्रीको व्यथा पनि उस्तै छ । बाढीले घर र १० रोपनी खेत बगाएपछि उनी पनि घरबारविहीन बनेका छन् ।

६० घरधुरी बस्न नहुने अवस्थामा

मध्यरातमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएका थिए । तीन जना बेपत्ता भएका थिए । उनीहरूको मृत्यु भएको ठानी मृत्युपछि गरिने सबै कर्म गरिसकिएको छ । बाढीले अन्य सम्पत्तिसँगै १२ परिवारको घर बगाएको छ भने ६० घरधुरी बस्न नहुने अवस्थामा छन् । अन्नपूर्ण पोस्टबाट ।