यस्ता छन नेपालका प्रधानमन्त्रीको माग चिनियाँ राष्ट्रपतिसँग

रेलदेखि तातो पानी नाकासम्मको कुरा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सोमबार भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउँसो भेटवार्ता भएको हो । प्रचण्डले भेटवार्ता महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको बताए ।

भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको प्रतिक्रिया दिए । भेटका क्रममा प्रधानमन्त्रीले तातोपानी नाका, रेलवे लाइन लगायतका विषयमा चिनियाँ राष्ट्रपतिसँग कुरा राखेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले विसं २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताएका थिए ।

नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताएका थिए ।

यस्ताे थियाे  चिनियाँ राष्ट्रपतिको  जवाफ

करिब ३५ मिनेट भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ दिएका थिए । चीनका राष्ट्रपति जिनफिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल–चीनको तातोपानी नाका सञ्चालन तथा अन्य नाका सञ्चालन गर्न आफू र आफ्नो सरकार गम्भीर रहेको र त्यस विषयमा यथाशक्य चाँडो लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनका राष्ट्रपति जिनफिङले दुई देशबीचका अन्य सम्भावित नाका सञ्चालन गर्ने विषयमा सकारात्मक जवाफ दिएका थिए।

चीनका राष्ट्रपति जिनपिङसँगको छलफल सोचेभन्दा महत्वपूर्ण भएको प्रधानमन्त्री दाहालले जवाफ दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्दआचार्यले बताए । उनका अनुसार नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैँ नेपालको राजनीतिक स्थायित्व, विकास, समृद्धिसहित पूर्वाधार विकास, रेल्वे र नाका खोल्नेजस्ता विषयमा चासोका साथ प्रस्तुत भएका थिए ।

‘नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको छ,’ प्रधानमन्त्रीको प्रतिक्रिया उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।

निर्वाचनका लागि नौ मिलियन युयान सहयोग

आचार्यका अनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनपिङले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्ड सोमबार नै बेइजिङबाट चेङ्गदु प्रस्थान गर्नेछन् । त्यहाँ पनि राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।मंगलबार ल्हासा हुँदै भ्रमण टोली बुधबार काठमाडौं आइपुग्ने छ ।

‘एक चीन नीति’ प्रति प्रतिबद्ध

यस उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै उनले नेपाल र नेपाली जनता ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताएका थिए ।

नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रूपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनफिङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जवाफमा चीनका राष्ट्रपति जिनफिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।