भ्रमित पर्दा

कथा

– प्रभात चलाउने

राजधानीको मध्यभागमा रहेको न्यूरोडको एक छेऊमा छ भूगोल पार्क । नाम जस्तै एउटा लामो र बेग्लै इतिहास बोकेको छ यसले । दिनमा जति बढी व्यस्त रहन्छ– न्यूरोड, त्यतिकै व्यस्त रहन्छ भूगोल पार्क प्रत्येक बिहान । पुस–माघको माइनस तापक्रम बोकेका बिहान हुन या साउन–भदौका झरीसहितका बिहान यसको चहलपहल कहिल्यै कम हुँदैन । प्रत्येक विहान भूगोल पार्कले राजधानीलाई खबर पस्किन्छ । प्रायजसो मिडियाका गाडीबाट खसालिन्छन् एकाविहानै पत्रिकाहरु र भूगोल पार्कले गर्छ वितरण उपत्यकाका कुना कुनामा ‘साइकिल म्यान’हरु मार्फत । हो, त्यही ‘साइकिल म्यान’ बन्ने ध्याउन्नमा छ मदनसिंह कठायत ।
नाम मदनसिंह कठायत, उमेर ३५ वर्ष, पेसा … । यसरी बीचमै अड्कनुपर्ने उसका परिचय धेरै छन् । आफ्नो पेसा के भन्नेमा मदनसिंह कठायत कहिलेकाहिँ निकै सोच्ने गर्दछ । कुनै निश्चित काम छैन उसले आफूलाई चिनाउने । परिचय बनाउने क्रममा कुन काम गरेन र उसले जीवनमा । उसलाई सपना झै लाग्छ विगतका कुरा ।
घरको आर्थिक अवस्थाका कारण आठ कक्षाको पढाई छोडेर उसले ‘कालापार’ पुग्नुपरेथ्यो । जहाँ उसले सिमेन्टका बोरा उचाल्नेदेखि भवन मिस्त्रीसम्मको काम सिक्यो÷ग¥यो । अलि पछि कसैले लगाइदियो ‘कास्मिरमा कमाइ राम्रो हुन्छ’ । त्यसपछि ऊ कास्मिरका भारतीय सैनिक क्याम्पहरुमा काम गर्न पुग्यो । त्यसक्रममा उसले लडाइँ कला पनि सिक्ने अवसर पायो । वम, बारुद र हातहतियारहरु उसका निम्ति साँच्चिकै नयाँ थिए । डर होइन, कौतुहलतामा थियो तिनमा उसको । त्यसैले निकै उत्सुकताका साथ थोरै समयमै सिक्यो ती चलाउन ।
भारतमा उसले न त कोही चिनेजानेका मान्छे भेट्यो न त गाउँघरको खबर नै पायो । विभिन्न हन्डर ठक्कर खाँदै पाँच वर्षको कालापार बसाईपछि ऊ फर्कियो आफ्नै मातृभूमि । जाँदा खाली हात एक्लै गएको मदन फर्किदा पनि खाली हात नै फर्केको थियो । गाउँघरका साथीसङ्गी र दाइभाइका अगाडि खाली हात देखिन लाज मानेर घर पुग्ने दिनमा राती मात्र पुग्यो । राती ११ ः ४५ बजे गाउँको छेउमा पुगेको मदन ठीक १२ बजे मात्र घर पुग्यो । सुनसान रातमा ऊ सरासर आफ्नो घरको ढोका ढक्ढक्याउन पुग्यो ।
“भित्र को छ ? … को हुनुहुन्छ भित्र ?” –निकैबेर ढोका ढकढक्याए पनि भित्रबाट कोही पनि बोलेन ।
“आमा ! आमा !” –झ्यालमा कान राखेर भित्रको चाल सुन्यो पनि उसले । अहाँ ढोका खुलेन ।
‘कस्तो निदाका होलान ?’ गहिरो निद्राका कारण नसुनेका हुनुपर्छ । त्यही ठान्यो उसले । अनि करीव एकघन्टाको पर्खाइपछि मदन ढोकाकै छेउमा बस्यो । केहीबेरपछि ऊ झोला सिरानी राखेर त्यही निदायो ।
भालेको डाकोसँगै उसको निद्रा खुल्यो । अझै पनि ढोका खुलेको थिएन । ऊ केहीबेर त्यही पल्टियो ।
भालेको डाँकोसँगै चराहरुको चिरवीर पनि बढ्दै गयो । मदन धुलो लागेको लुगा टक्टक्याउँदै आँगनमा निस्क्यो । चारैतिर नियाल्यो । गाउँकै अगाडि हिमाल उभेको थियो । जहाँबाट हावाका चिसा झोक्काहरु उसको कानहुँदै बहिरहेका थिए । तल्लो घर, माथिल्लो घर अनि वर परका अरु घर सबै पाँच वर्ष अघि जाँदा जस्ता थिए अहिल पनि उस्तै थिए ।
तलमाथि बाटोतिर मान्छेहरुको चहलपहल बढ्दै गयो । केहीबेरपछि बल्ल घरभित्र कसैको आवाज आयो । उसले ढोकातिर हेरिरह्यो । एउटा बालक ढोका उघार्दै बाहिर निस्कियो ।
“कान्छा ?” – पक्कै पनि आफ्नै भाई हो भन्ने ठानेर मदनले बोलायो । जतिबेला मदनले घर छाडेको थियो, त्यसबेला मदनको कान्छो भाइ मात्र तीन वर्षको थियो ।

प्रभात चलाउने

“रवि होइन ?” –केही पनि नबोले पछि मदनले प्रश्न ग¥यो, “अरु खै त अझै उठेनन् ?”
“तपाई को हो ?” बल्ल केटाको बोली फुट्यो । रवि नहुर्कदै मदन कालापार गएका थियो । त्यसैले उसलाई मदनलाई चिन्न सकेन । तर, रविलाई आफ्नो दाजु कालापार गएको छ भन्ने कुरा भने आमा वुवाबाट थाहा पाएको थियो ।
“म तेरो दाइ हो ।” –मदनले भन्यो– “चिनिनस् ?”
“को दाइ ? मैले चिनिन ।” – रविलाई भित्र भित्रै डर पनि लागिरहेको थियो ।
अझै पनि नचिनेपछि मदनले आफ्नो सबै कुरा भाइलाई भन्यो । त्यसपछि मात्र रविले उसलाई चिन्यो । तर, मदनले कुरा नसक्दै रवि घुक्क घुक्क डाँको छोडेर रुन पो लाग्यो । रवि रोएको सुनेर घरभित्रबाट चार वर्षजतिको बच्ची बाहिर निस्की । अनि त्यो बच्ची पनि दाइसँगै रुन थाली । मदनलाई के गरौं, के गरौं भयो । उसले जति सम्झाउन खोज्दा पनि उनीहरु रुन छाडेनन् । केहीबेरमा वल्लोपल्लो घरबाट केही मान्छेहरु जम्मा भए । अनि ती सबैले सम्झाएपछि मदनका भाइ र बहिनी रुन छाडे । मदन छक्क प¥यो । उनीहरु रुनुको कारण उसलाई थाहा नै थिएन ।
“मदन भाइ समयमै आयौ । भाइ बहिनीले अलि सास फेर्लान । हाम्रो घरमा जाम भन्यो मान्दैनन् । राती यही सुत्छन् । समय यस्तै छ । कतिखेर के हुन्छ ? थाहा हुँदैन ।” पल्लाघरका धनबहादुर कठायतले भूमिका बाँध्दै भने, “आठ महिना भयो । सरकारी सेनाले हाम्रो गाउँमा सत्यानास पा¥यो । तिम्रो वुवा सहित ८ जनालाई गाउँबाट समातेर कुन्दाले हान्दै लग्न थाल्यो । सबैलाई एउटै डोरीले बाँधेको थियो । कुन्दा र बुटले हानेर सबैका टाउका र मुखबाट रगत बगिरहेको थियो । त्यो देखेर तिम्री आमा तिम्रो वुवालाई समात्न गइन । तिम्री आमा गए पछि अरु दुई विर्खेकी आमा र सुन्दरको वुवा पनि छोरालाई बचाउन गुहार्दै गए । तर, भाइ तिनीहरु त साँच्चिकै राक्षस नै रहेछन् । हाम्रै आँखा अगाडि तिनै जनालाई गोली हानेर ढाले । त्यसपछि त को बोल्नु । सबैलाई कुट्दै लगे । त्यसपछि मालिका ब्यारेकमा लगेको हो आठै जनालाई । त्यसपछि अहिलेसम्म उनीहरुको कुनै खबर छैन… ।” भन्दाभन्दै धनबहादुर रोकिए । पछाडि फर्केर आँसु पुछे ।
मदन छाँगाबाट खसेजस्तै भयो । भाइ र बहिनी रोएको देखेरै उसका आँखाबाट अघि नै आँसु झरिसकेका थिए । अर्को पत्याउनै नसकिने कुरा सुनाएपछि त उसको होस हवास नै उड्यो । एकैछिन पुनः रुवावासी चल्यो ।
दिनहरु बित्दै गए । मदनलाई दिनरात आमा वुवाकै झल्को आइरहन्थ्यो । दिनप्रतिदिन ऊ एकोहोरिदै गएको थियो । सानै छँदा मुखियाले एक पटक मदनका वुवालाई ऋण नतिरेको भन्दै पिट्न लगाएका थिए । मनमा जति पीडा बढ्दै गयो, त्यतिकै आक्रोश पनि बढ्दो थियो । गाउँमा माओवादी पार्टीका कार्यकर्ताहरु पनि आइरहन्थे । उसले पार्टीका केही नेताहरुलाई भेट्थ्यो र थुप्रै जिज्ञासाहरु पनि पोख्थ्यो ।
केही महिनापछि मदन पुनः हराएको खबर गाउँभरि फैलियो । कसैले ऊ पुनः इन्डिया गएको लख काटे । कसैले उसलाई पनि सरकारी सेनाले समातेर वेपत्ता पारेको हुन सक्ने अड्कले त कसैले ऊ माओवादी पार्टीमा लागेको ठोकुवा गरे । मदन हराएपछि भाइ बहिनीहरुको पुनः विचल्ली सुरु भयो ।
केही महिनापछि एक्कासी मदन गाउँमा देखा प¥यो । यसपटक ऊ आफ्नो गाउँमा एक्लै फर्केको थिएन । एउटा प्लाटुन फोर्सको बीचमा ऊ थियो । उसको हातमा ‘सर्ट मेशिन गन’ थियो । टाटे पाङ्ग्रे ड्रेसमा रातो तारा भएको टोपी निकै सुहाएको थियो । दुई दिन गाउँ बसाइका क्रममा उनीहरुले गाउँलेहरुलाई भेला पारे । भेलामा प्लाटुनका कमिसार, कमाण्डर र मदनले पनि भाषण गरे । कमाण्डर र कमिसारको भन्दा गाउँलेहरुको उत्सुकता मदनको भाषणप्रति थियो । उसको बोलीमा परिपक्वता र तर्कशैली देखेर गाउँलेहरु निकै प्रभावित पनि भए । उसले आफ्ना भाइ र बहिनीलाई पनि साथमै लैजाने कुरा गाउँलेहरुलाई सुनायो । मदनमा आएको परिपक्वताका कारण त्यसमा कसैले पनि विमति जनाएनन् । भाइ बहिनीहरुलाई आधारइलाकामै सञ्चालित विद्यालयमा पढ्ने व्यवस्था मिलाएर ऊ पुनः आफ्नो फर्मेशनमा फर्कियो ।
कास्मिरमा सिकेको हातहतियार सम्बन्धीको ज्ञानले ऊ मोर्चामा सबैको प्रशंसाको पात्र हुन्थ्यो । प्रायः राम्रा र ठूला हतियार उसकै हातमा हुन्थे । थुप्रै मोर्चाहरुमा ऊ घाइते पनि भयो । सायद घाइते नभएको कुनै मोर्चा नै थिएन । तर, जति घाइते भए पनि उसले एसल्टमा लडन भने छाडेन ।
मदनको फौजी कला, हातहतियार सम्बन्धीको ज्ञान र फुर्तिलो शरिरका कारण उसलाई ‘अर्वान फोर्स’को जिम्मा दिइयो । मदनको कमाण्डमा ‘अर्वान फोर्स’ले पश्चिम तराईमा निकै प्रभावकारी फौजी हस्तक्षेप बढायो ।” पश्चिम तराईको ‘अर्वान वार’पछि उसलाई पूर्वी क्षेत्रमा पठाइएको थियो ।
समयले त्यो विगतलाई जवरजस्त सपनामा धकेलिरहेको छ । जीवन र मृत्युको दोसाँधमा रहँदाका अनुभूतिहरुले उसलाई अन्यौलतामात्र थपिरहेछन् ।
‘के उही पुरानै चुनावी प्रणालीमा गएर बहुमत ल्याउनकै लागि यो युद्ध लडाइएको हो ?’ –ऊ सोच्छ ‘आखिर त्यो हाम्रो सबै परिश्रम के का लागि थियो ? एसल्टमा लड्न पाउनु पर्ने दावी गर्ने ती होनहार साथीहरु, जसलाई हामीले युद्धमोर्चामा छोड्दै आयौ, लाई रगत बगाउन किन लगाइएको हो ?’ उसका मनमा यस्ता थुप्रै प्रश्नहरु एकपछि अर्को गरि थपिइरहेका छन् । प्रश्नहरुको चाङ जसरी बढ्दो छ, त्यसरी नै युद्धका जीवनहरु अस्तव्यस्त हुने क्रम जारी छ ।
कहिलेकाहि सोच्छ ऊ ‘अबको लडाइँ कोसँग ?’
अहिले समयमात्र फेरिएको छैन । परिस्थिति मात्र फेरिएको छैन । युद्धकालभरि सिकाइएको राजनीतिको परिभाषा बदलिएको छ । मान्छेहरु फेरिएका छन् ।
अब कसलाई सामन्त भन्ने ? कसलाई दलाल भन्ने ? कसलाई भ्रष्टचारी, कमिशनखोरी भन्ने ? पहिले बनाइएका आकृतिहरु धमिलिएका मात्र होइनन, सरेका छन् आकृति अर्को अर्कोमा । जसले दलाललाई घृणा गरेर गर्न लगाएर गाली ग¥यो जिन्दगीभर यस क्षण उसले लिएको छ– त्यो प्रवृति अनि त्यो स्थान ।
मदनलाई लाग्थ्यो, ‘क्रान्तिले समाजमा परिवर्तन ल्याउँदैन भने त्यो के क्रान्ति । जीवनमा परिवर्तन नल्याउने क्रान्ति के क्रान्ति । देशको समग्र संरचना, नीति, कानुन र विधि अनि संस्कार, प्रवृति र संस्कृति पूरै नउल्टाइकन क्रान्ति सम्पन्न भएको कसरी मान्न सकिन्छ ? क्रान्तिले समाजमा परिवर्तन ल्याउन नसके पनि क्रान्ति गर्नेहरु त बदलिनुपर्छ भित्रैदेखि । परिभाषामा, आदर्शमा र भनाईहरुमा मात्र बदलिने होइन, व्यवहारमै देखाउनुपर्छ ।
तर, उसका सोचाई र भोगाई सबै अहिले गलत सावित भएका छन् । समाजमा, संरचनामा, नीतिमा, विधिमा, संस्कार र संस्कृतिमै आमूल परिवर्तनको कुरा त परै छ, क्रान्ति लड्नेहरु, अझ त्यसको नेतृत्व गर्नेहरुमा नै त्यो परिवर्तन छैन । बरु पूर्वतिर अस्ताइरहेछ, पश्चिमतिर उदाइरहेछ सुर्य । उल्टो छ परिवर्तनको दिशा । हिजो आफूसँग भएको संस्कार, संस्कृति र प्रवृति होइन, हिजो ज्यान फालेर गाली गरिएको संस्कार, संस्कृति र प्रवृति समातिएको छ कहिल्यै छोड्न नसक्ने गरी ।
यस्तै सोचाई, बुझाई र यस्तै मनोभावनाका बीच मदन समय व्यतित गरिरहेको छ । आज अठारौं दिन न्यूरोडका खुल्ला सडक हुँदै ऊ भूगोलपार्क तर्फ लाग्यो । विहानको झुसमुसेमा सडक पूरै खुल्ला थियो ।
“आइपुग्यौ मदन भाइ, त्यो पत्रिका गन्नुपर्यो ।” पत्रिका वितरकहरुको नेताले मदनलाई ठाडो अह्रायो ।
“त्यो सबै गनेपछि तिमी आज बालाजु रुटमा जानुपर्छ लामा भाइसँग ।”
मदनले केही पनि बोलेन । स्वीकृतिमा टाउको मात्र हल्लायो । किनकि धेरै महिनाको प्रयासपछि बल्ल उसले काम पाएको थियो । कुनै काम नगरी काठमाडौंले न त वास दिन्थ्यो, न त गास नै । पछिल्लो समय जब जनमुक्ति सेनालाई ब्यारेकमा राख्ने निर्णय भयो, त्यतिबेला नै मदनलगायतका हजारौं योद्धाहरुलाई बाहिर निकालिएको थियो । क्यान्टोनमेन्टमा बसेको पाँचौ गुणा बढी सेनाको संरचना निर्माण गर्ने भन्दै बाहिर पठाइएका उनीहरुलाई धेरै राजनीतिक कार्यमा उपयोग पनि गरियो । संविधानसभामा सबैभन्दा बढी उनीहरु नै खटे । परम्परागत राजनीतिक र अपराधिक गुण्डागर्दीसँग भिड्दै ज्यानको बाजी थापेर नेताहरुको राजनीति निर्माण गर्न भूमिका खेले । दाङको लमहीदेखि रौतहटको गौरहुँदै देशैभर सयौं जनाले ज्यान गुमाएर पनि संविधानसभामा पार्टीलाई सबैभन्दा बढी मत दिलाउन सफल भए । जहाँ अप्ठेरोपर्छ, जहाँ भिडन्त हुन्छ, जहाँ परम्परागत गुण्डागर्दीले नेताहरु खतरा महशुस गर्छन, त्यतै–त्यतै कुदाइए । उनीहरुको रगत, पसिना र काँधमा टेकेर नेताहरुले कुर्सी सुनिश्चित गरे र काठमाडौंमा छिरे । काठमाडौं गएर नयाँ योजनासहित फेरि फर्कने वाचा र प्रतिवद्धता गर्दै मदनहरुलाई कुनाकन्दरा यत्रतत्र छोडे नेताहरुले । मदनहरु पनि नयाँ योजना आउने आशै आशमा काठमाडौंमा गएका नेताहरुको प्रतिक्षा गर्दै भोकभोकै, रोग, व्याधी, गर्मी, जाडो र गुण्डागर्दीसँग लड्दै बसिरहे । तर, वर्षौ बितिसक्दा पनि नेताहरुले न त नयाँ योजना पठाए न त आफू नै फर्के । बरु, काठमाडौं पस्नु अघि कुर्सी, सरकार र सत्ताका बारेमा गरिने संश्लेषण र विश्लेषणविपरित बोल्न थाले । र, भन्न थाले– अब उस्तैगरी कहाँ लड्न सकिन्छ र ? सबै साथीहरु थाकिसकेका छन्, त्यसैले शान्तिपूर्ण तरिकाले नै क्रान्तिको विकासमा लाग्नुपर्छ । हामी त संविधान बनाउन आएका हौं, जसरी पनि (जस्तो भए पनि) संविधान नबनाई कहाँ हुन्छ ।” आदि इत्यादि । त्यसपछि क्रमशः मदनहरु तितरवितर हुन् थाले । मदन काठमाडौं पस्यो ।
काठमाडौं आएका सुरुका दिनमा ऊ नेताहरुकै कोठामा बस्यो । नेताहरुसँग उसले असन्तुष्टि राख्दै गयो । प्राय सबै नेताहरुका कोठामा एक महिना, दुई महिना, तीन महिनासम्मै बस्यो ऊ । तर, नेताका बुढीहरु विस्तारै गाउँबाट, जिल्लाबाट, विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुप्रति पोखिन थाले ।
भन्न थाले, “सबैलाई पाल्ने हामीले के ठेक्का लिएका छौं । कति मान्छेलाई खुवाउने ?” त्यतमात्र होइन, उनीहरु त भन्दै गए, “कस्ता फोहोरी मान्छेहरु आउछन्, दिसा गर्न नजान्ने, गन्हाउने लुगा लगाउनेहरु मात्र किन थुप्रिन्छन् ?”
मान्छेहरु नगएपछि, आउन नछाडेपछि नेताका बुढीहरु आफ्ना बुढालाई भन्न थाले, “म त अब बस्न सक्दिन मलाई छुट्टै फ्ल्याट खोजिदिनुस् । छोराछोरी र म छुट्टै बस्छु ।” एक दिन, दुई दिन, एक महिना दुई महिनासम्म त नेताहरुले बुढीलाई थामथामथुमथुम पारे । तर, त्यसपछि भने उनीहरु पनि कार्यकर्ताहरु, जनतालाई सुरुमा अर्ती, पछि पछि अमिला कुरा पनि गर्दै जान थाले । जसको रगत, पसिना र काँध टेकेर ती सबैको प्रतिनिधित्व गर्छु भन्दै काठमाडौं छिरेको हो, तिनलाई नै लाती हान्न थाले नेताहरु ।
त्यसपछि मदनले काठमाडौंमा बस्ने आफन्तहरु, जिल्लाबासीहरुका कोठा कोठामा चहार्दै कैयौं दिन काट्न थाल्यो । त्यसँगै उसले बुझ्यो अब पार्टीले न त कार्यकर्तालाई कुनै काम दिनेवाला छ, न त कुनै योजना दिनेवाला छ, न त व्यवस्थापन नै गर्नेछ । एकप्रकारले नेताहरुले कार्यकर्ताहरुलाई ‘तिमीहरु थियौं, गर्यौ, रगत पसिना बगायौं, अब जाउ, फेरि काम परे आउनु’ भनेर मुखले नभए पनि व्यवहारले भनिरहेको उसले बुझ्यो ।
अब के गर्ने ? उसका अगाडि कुनै विकल्प छैन । युद्धले घर डढायो, परिवार डढायो, जीवन डढायो, नेपाल र नेपालीको मात्र होइन, सारा दुनियाँको भविष्य साँच्चिकै उज्यालो बनाउन लागेको जीवन आखिरमा उही पुरानै ठाउँमा गएर ठोक्कियो ।
अनि ऊ पुग्यो काम खोज्ने दौरानमा धेरै धेरै ठाउँ चहारेपछि भूगोलपार्कतर्फ । त्यही भेट्यो उसले पत्रिका वितरण गर्ने साइकिल म्यानको काम । त्यसपछि ऊ राजधानीका कुना कुनासम्म पत्रिका बाँड्न थाल्यो ।
एकदिन मदन सामाखुसीको एउटा भव्य घरको ढोकामा सदाझै पत्रिका फाल्दै थियो । घरको कौसीमा कोही परिचित अनुहार देख्यो । उसलाई निकै खुल्दुली लाग्यो ‘कतै यो मान्छे यही घरको मालिक त होइन ?’ उसले घरतिर हेर्यो तिनतले आधुनिक डिजाइनको घर । चारैतिर अग्लो कम्पाउन्डमा बलियो मूल गेट ।
पत्रिका फालेर त्यसविहान मदन निस्कियो त्यो गेटबाट । मनभित्र खुल्दुली निकै थियो । त्यसैले भोलिपल्ट पत्रिका पुर्याउन घरभित्रै पुग्ने निश्चय गर्यो । तर, मनले मानेन । दिउसो नै कोठा खोज्ने निहुले जाने विचार गर्यो । दिउसो एक बजेतिर पुग्यो पनि । तर, अहाँ कसैले गेट खोलेन । मदन त्यत्तिकै फर्कियो । त्यसपछि वरपरका मान्छेहरुलाई सोध्यो उसले । एक वर्ष अघि मात्र बनेको रहेछ घर । अनि पाँच महिना अघि मात्र अहिलेको मान्छेले किनेको रहेछ । त्यसपछि उसले त्यो घरको वास्तविक मालिक उही अघिल्लो दिन छतमा देखिएको मानिस हो भन्ने पनि थाहा पायो । जो पार्टीको केन्द्रीय सदस्य थियो । कुनै समय मदनहरुकै कमिसार पनि । एक वर्ष अघि मात्र ऊ भाडामा बस्थ्यो । उसैले भनेको थियो मदनलाई “भाइ धेरै आदर्श छाँट्नु राम्रो होइन ।” अनि उसकी बुढीले नै धम्क्याउँदै भनेकी थिइ बुढालाई, “फोहोरी मान्छेहरुसँग बस्न सक्दिन । मलाई अर्कै ठाउँ खोजिदेउ ।”
भोलिपल्ट बिहान पुनः पत्रिका फाल्नका लागि मदन त्यही गेटमा पुग्यो । गेटभित्र पत्रिका फाल्नलाई ऊ अडियो । त्यति नै बेला कसैले आफै गेट खोल्यो । गेटभित्र दुई तीन जना मान्छे थिए । त्यसमध्ये एउटा उही मान्छे थियो । उसँग मदनका आँखा जुधे ।
“के छ भाइ हालखबर ?” आँखै अगाडि मदनलाई देखेपछि उसले नबोली धरै पाएन ।
“के हुनु पत्रिका बाँड्ने काम गरिरा’छु ।” मदनले भन्यो ।
“ल भाइ म अहिले एउटा बैठकमा जानु छ । गए है ।” नजिकै रहेको कारमा छिर्यो ऊ । गाडी बाहिर जानेबित्तिकै अर्को मान्छेले गेट लगायो । मदनले बाहिरबाटै घरतिर हेरिरह्यो ?