पत्थरीका बिरामी अस्पताल छिर्छन्, लास बनेर निस्कन्छन्

तानवग्रस्त अस्पताल

काठमाडौं, काठमाडौंको चाबहिलमा रहेको ओम अस्पतालमा पत्थरीका बिरामी उपचार गर्न जाँदा लापरवाहीका कारण लास बनेर फर्किनुपर्ने सिलसिला रोकिएको छैन ।

शनिबार पनि डाक्टरको लापरवाहीका कारण एक बिरामीको मृत्यु भएपछि आइतबार ओम अस्पतालमा तनाव बनेको छ । धादिङकी गंगाजमुना गाँउपालिकाकी २९ वर्षीया अनिता गुरुङको पत्थरीको शल्यक्रिया हुनासाथ मृत्यु भएको छ ।

डाक्टरको लापरवाहीका कारण मृत्यु भएको उनका आफन्तले बताएका छन् । शुक्रबार हिँडेर उपचारका लागि अस्पताल पुगेकी गुरुङको शनिबार मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् ।

यसअघि ३० जेठ २०७६ मा ओम अस्पतालमा उपचारका क्रममा सिन्धुपाल्चोककी रामप्यारी थापाको पित्तथैलीको पत्थरीको शल्यक्रिया गलत गर्दा मृत्यु भएको थियो ।

यस्तै, १९ साउन २०७४ मा गोरखा आरुघाटकी ५० वर्षीया नन्दकुमारी लामिछाने पत्थरीको उपचारका क्रममा शल्यक्रिया गरेकै दिन मृत्यु भएको थियो ।

ओम अस्पतालले बारम्बार बिरामीको गलत उपचारका कारण मृत्यु भएको भनी आफन्तसँग सहमति गर्दै आफ्नो बचाउ गर्दै आएको छ ।