डडेल्धुरामा पनि भेटियो डेंगु, सुदूरपश्चिमा मात्रै ३५ जना संक्रमित

डडेल्धुरा ,डडेल्धुरामा पनि डेंगु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरामा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

ज्वरोका कारण उपचारका लागि डडेल्धुरा ल्याइएका उनको परीक्षण गर्दा डेंगुको देखा परेको अस्पतालका डाक्टर जीवन खरेलले जानकारी दिए ।

‘उनलाई लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगतजस्तो लक्षण देखिएको थियो,’ डा. खरेलले भने, ‘मिल्दोजुल्दो लक्षण देखिएकाले उनलाई परीक्षण गर्दा डेंगु भएको पुष्टि भयो ।’

सुदूरपश्चिममा डेंगु र स्क्रब टाइफस देखिएकाले सबैलाई सर्तकता अपनाउन उनले सुझाव पनि दिए ।

सुदूरपश्चिमभरी ३५ जनामा डेंगु संक्रमण

हालसम्म सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका ३५ जनामा डेंगुको संक्रमण देखिएको छ । डेंगुबाट एक जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार कैलालीमा १६, दार्चुलामा ८, कञ्चनपुरमा ७, डोटी, अछाम, बैतडी र बझाङमा १/१ जना गरी ३५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले जनाएको छ । जसमध्ये डोटीमा एक जनाको मुत्यु भएको हो ।

७ जिल्लाकै बिरामीलाई डडेल्धुरा, कैलाली र कञ्चनपुरका अस्पतालहरुमा जाँच गर्दा डेंगुको संक्रमण भेटिएको हो । प्रदेशभर हालसम्म ३५ जनामा संक्रमण देखिए पनि हजारौं व्यक्ति प्रभावित भएको स्वास्थ्य निर्देशनालय दिपायलको अनुमान छ ।

किनकि, धेरै बिरामी अस्पतालको सम्पर्कमा नआएका हुनसक्ने निर्देशनालयको भनाइ छ । बिरामी अस्पतालको सम्पर्कमा आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्नसक्ने निर्देशनालयले जनाएको छ ।