गलत समूहको रगत चढाउँदा बालिकाको अवस्था गम्भीर

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा एक बालिकाको अवस्था गम्भीर भएको छ । सर्लाहीकी ५ वर्यीया बालिका आकृतिकुमारी साहको शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाइएको हो ।

मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ छ । रगत चढाइएको रिपोर्टमा भने ‘ए’ पोजिटिभ लेखिएको छ । मुटुमा समस्या भएपछि वैशाख १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । १७ गते उनको शल्यक्रिया गरिएको थियो ।

अवस्था गम्भीर भएपछि अस्पतालले बिरामीलाई भेट्न नदिएको आफन्तको गुनासो छ । गलत रगत चढाइएकोबारे खोजीनिती गर्न थालेपछि बिरामी पक्ष र अस्पताल प्रशासनसबीच विवाद भइरहेको छ । अस्पतालले बालिकाको रगत समूह ‘ए’ पोजिटिभ नै थियो भन्ने जबर्जस्ती पुष्टि गर्नका लागि रगतसम्बन्धी तीनवटा रिपोर्टमा केरकार गरी आफंैले लेखेको ‘ओ’ पोजिटिभको ठाउँमा ‘ए’ पोजिटिभ बनाएको भेटिएको छ ।

बालिकालाई शल्यक्रियामा लगिनुअघि बिरामीका आफन्तसँग लिइएको सहमतिमा डा । ज्योतिन्द्र शर्मा, डा.रवीन्द्रभक्त तिम्ले र डा. नवीनचन्द्र गौतमले शल्यक्रिया गर्ने उल्लेख छ । अस्पतालका निर्देशक समेत रहेका डा. शर्माले भने शल्यक्रियामा आफू संलग्न नभएको बताए ।

‘यो घटनाबारे मलाई धेरै थाहा छैन, अस्पतालमा छानबिन समिति बनाएर अनुसन्धान गराउनेछु,’ उनले भने, ‘अनुसन्धानपछि जसबाट गल्ती भएको छ, उसलाई कारबाही गरिनेछ । बच्चाको शल्यक्रिया नै जटिल थियो । ओपन हर्ट सर्जरी जटिल नै हुन्छ । हामीले बचाउने कोसिस गरिरहेका छौं ।’ उनका अनुसार बालिकाको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालले बालिकाको अवस्था बुझ्न नसघाएको भन्दै आफन्त भने घरि प्रहरी कार्यालय पुग्ने घरि मानव अधिकार आयोग धाउने गरिरहेका छन् ।

शल्यक्रिया गर्नुअघि बेहोस गराउँदाको (एनेस्थेसिया) रिपोर्टमा पनि बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ नै उल्लेख छ । अस्पतालको प्रयोगशालमा लिइएको रिपोर्टमा पनि उही रक्तसमूह टिपिएको छ । ‘यति धेरै रेर्कड हुँदाहुँदै पनि बच्चालाई गलत रगत चढाइदिए, यो सरासर लापरबाही हो,’ आफन्त सुरेन्द्र साहले भने, ‘बच्चाको अवस्थाबारे पनि हामीलाई केही भनेका छैनन् ।’

रगतरोग विशेषज्ञ डा.अमित श्रेष्ठका अनुसार शरीरमा नमिल्ने समूहको रगत हाल्दा बिरामीको ज्यान जोखिममा पर्न सक्छ । ‘शरीरमा संक्रमण हुन्छ, मिर्गौला फेल हुने सम्भावना उच्च हुन्छ,’ उनले भने, ‘सक्दो छिटो व्यवस्थापन गर्न सके मात्र बिरामीको ज्यान जोगाउन सकिन्छ ।’

शल्यक्रिया गर्नुअघिको प्रयोगशाला रिपोर्टअनुसार बालिकाको रगतमा ‘प्लेटलेट्स’ को मात्रा ३ लाख १ हजार ३३ सय छ । ‘प्लेटलेट्सु’ मानिसको शरीरमा रगतसँगै बग्ने कोषिका हुन् । रगतमा यस्ता कोषिकाको मात्रा ५ लाखभन्दा माथि भएमा जटिल मानिन्छ ।

शल्यक्रियापछि बालिकाको रगतमा ‘प्लेटलेट्स’को मात्रा बढेर ७ लाख पुगेको छ  । रक्तरोग विशेषज्ञ सुधीर सापकोटाका अनुसार रगतमा ‘प्लेटलेट्स’को मात्रा ६ लाखभन्दा बढी भए रगत जम्ने, रगतका नली बन्द हुने सस्मया देखिन्छ । उनी भन्छन्, ‘हृदयाघात भएर बिरामीको मृत्यु पनि हुन सक्ने जोखिम हुन्छ ।’

शल्यक्रिया गर्नुअघि बालिकाको मिर्गौला परीक्षणको रिपोर्ट सामान्य छ । रिपोर्टअनुसार बालिकाको मिर्गौलामा ‘क्रेटिनिन’ लेभल ० दशमलब ३ छ ।

मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार ‘क्रेटिनिनु लेभल १ दशमलब ४ भन्दा माथि गएमा मिर्गौलाले काम गर्न छाड्छ । शल्यक्रियापछिको बालिकाको मिर्गौला परीक्षण रिपोर्टमा ‘लेभल ४ दशमलब २ छ । डा.काफ्ले भन्छन्, ‘रगत चढाउँदा या मुटुजस्ता मुख्य अगंको शल्यक्रिया गर्दा अस्थायी रूपमा पनि मिर्गौला फेल हुनसक्छ, मिर्गौलाले फेरि काम गर्ने सक्ने पनि हुन्छ ।’