रवि लामिछानेमाथि नेकपाका कार्यकर्ताको अरिगांल आक्रमण

टेलिभिजन पत्रकार रवी लामिछाने विरुद्ध माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा अरिगांल आक्रमण थालेका छन् । केही दिन अघि टेलिभिजन कार्यक्रममा पूर्व माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जथाभावी गाली गलौज गरेको भन्दै उनीहरुले कारबाहीको माग समेत गरेका छन् । पूर्व माओवादी निकट भातृ संगठन वाईसिएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिका र महासचिव सुवोध श्रीपालीले सामाजिक सञ्जालबाटै पत्रकार रवि लामिछानेलाई धम्की दिएका छन् ।

वाईसिएल अध्यक्ष दीपशिखाले लामिछानेलाई पेटिकोट लम्पटभन्दै रवि लामछानेलाई गाली गरेका छन् । उनले आफ्नो फेसबुकबाट रविलाई गाली गर्दै भनेका छन्, ‘पत्रकार नामको एक पेटिकोट लम्पटले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डबारे जे अभिव्यक्ति दिए त्यो खेदजन्य मात्रै छैन माफियोग्य समेत छैन । कृष्णलीलाभक्त लामिछानेप्रति साईबर अपराध अन्तर्गत कारबाही गर सरकार,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । यता महासचिव सुवोध श्रीपालीले आफूहरुले कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘पत्रकार रवि लामिछानेलाई कानुन बमोजिम तत्काल कारबाही गरिनुपर्छ । यदि राज्यले समयमा नै सहि कदम नचालेमा हिसाब कसरी मिलान गर्ने हामीलाई राम्ररी थाहा छ,’ श्रीपालीले सामाजिक सञ्जालबाटै चेतावनी दिएका छन् । केही समय अघि सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा पार्टी बिरुद्ध बोल्नेहरुमाथि अरिगांल झै आक्रमण गर्न कार्यकर्ताला निर्देशन दिएका थिए ।