नेपाल संवतलाई राष्ट्रियरूपमा मान्यता दिन आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौ,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन् । मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सवत न्हूँद विषय विद्वत्गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले नेपाल सवत्लाई राष्ट्रिय रुपमा मान्यता दिनको लागि राष्ट्रियस्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताए । उनले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको हो की जस्तो भान हुने गरेको बताए । उनले अहिले शंखधर शाख्वाका नाममा काम गर्ने धेरै संस्थाहरु भएपनि राष्ट्रिय रूपमा प्रचार हुन नसकेको बताए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय रुपमा प्रचारको लागि शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान बन्न आवश्यक रहेको बताए । उनले राष्ट्रियस्तरको प्रतिष्ठान भएमात्रै नेपाल सवत र शंखधर शाख्वाको इतिहास र योगदानको प्रचार हुने बताए ।

‘नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति एउटा समा समारोह गर्न मात्रै गठन भएको जस्तो भएको छ । हाम्रो प्रचलन पनि त्यस्तै छन् । त्यसैले शंखधर शाख्वाका नाममा काम गर्ने कतिपय संस्थाहरु पनि छन् । शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान आवश्यकता रहेको छ । त्यस्ता प्रतिष्ठानहरु छन्’, मन्त्री श्रेष्ठले भने, ‘तर, राष्ट्रिय रूपमा नै स्वीकार्य गर्ने वा राष्ट्रिय रूपमा प्रतिनिधित्व हुने गरी प्रष्ठिान विकास गरेर अगाडि बढाउनसक्यौँ भने शाख्वाका जीवन, योगदान र इतिहासका विषयमा राष्ट्रियस्तरमा जानकारी लिन सहज हुनसक्छ ।’