वर्तमान परिस्थिति र नौलो जनवादी क्रान्ति

चीनको हुनान प्रान्तमा २६ डिसेम्बर १८९३ मा नेता माओत्सेतुङको जन्म भएको थियो । एउटा सामान्य निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मेका माओ चिनियाँ कम्युनिस्ट आन्दोलनका उत्कृष्ट नेतृत्व थिए । चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइनको संघर्षमा उनले सम्पुर्ण खाले अवसरवादविरुद्ध सम्झौताहिन संघर्ष गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सबैखाले अवसरवादबाट जोगाउन सफल भएका थिए ।

उनले जापानी साम्राज्यवादबाट चिनियाँ राष्ट्र र जनतालाई मुक्त गर्ने र च्याङ काइसेकजस्ता प्रतिक्रियावादी शासकमाथि विजय हासिल गरी चीनमा कम्युनिस्ट सत्ता स्थापित गरेका थिए । चीनमा नयाँ जनवादी क्रान्तिको सफलता, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको प्रयोग र समाजवादको विकासमासमेत उनको महत्वोपुर्ण योगदान रहेको थियो । उनी एक विचारक, संगठक र सैन्य रणनीतिकारसमेत थिए ।

मार्क्सवाद लेनिनवादका तीन संघटक अंग हुन् – दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । चीनमा यी तीनवटै अवयवमा माओको नेतृत्वमा नवीनतम योगदान पुर्‍याएको मुल्यांकनपछि त्यसको विचारधारात्मक संश्लेसण गर्दै विश्वका क्रान्तिकारी कम्युनिस्टहरुले माओ विचारधाराको अनुसरण गरिरहेका छन् । मार्क्सवाद, लेनिनवादसँगै माओ-विचारधाराको स्वीकारोक्तिबिना आजको अन्तरविरोधको सही निदान, परिचालन र समाधान गर्न एवं क्रान्ति सम्पन्न गर्न सम्भव छैन । तर यसो भनिरहँदा माओपछि विचारको संश्लेषण, विश्लेषण एवं थप विकास गर्न जरुरी छँदै छैन भन्ने चाहिँ होइन ।

माओ विचारधाराले दर्शनशास्त्रका क्षेत्रमा ज्ञानसिद्धान्तलाई सँगसँगै जोडेको छ । सही र वैज्ञानिक ज्ञानमा तीन किसिमका सामाजिक व्यवहारहरू हुन्छन् । प्रथम उत्पादनका लागि संघर्ष, द्वितीय वर्गसंघर्ष र तृतीय वैज्ञानिक प्रयोग । यी तीन व्यवहारबाट ज्ञान हासिल हुन्छ । ज्ञानका दुई अवस्था एवं प्रकार हुन्छन् । एउटा इन्द्रियग्राह्य ज्ञान र अर्को तार्किक ज्ञान । माओले यसरी दर्शनलाई ज्ञान सिद्धान्तसँग थप संश्लेषण गरेका थिए ।

मार्क्सवादी दर्शनशास्त्रको एउटा मुख्य विधा द्वन्द्वात्मक भौतिकवादका तीन नियमहरूमध्य विपरीत तत्वहरूको एकता-संघर्षको नियम नै आधारभूत नियम हो । यो द्वन्द्वात्मक भौतिकवादको मुटु हो । बाँकी मात्रात्मक परिवर्तनबाट गुणात्मक रूपान्तरण र निषेधको निषेध भन्ने नियम सहायक नै हुन् र यी नियममा पनि विपरीत तत्त्वको एकता-संघर्षको नियमको नै मुख्य भुमिका रहन्छ भन्ने माओको प्रवल जोड रह्यो । उनले चिनियाँ कम्युनिस्ट पार्टीको विजयपछि पार्टी र सत्ताभित्र कहिले तीन खराबी त कहिले पाँच खराबीजस्ता प्रवृत्ति पैदा भएपछि सर्वहारा सांस्कृतिक क्रान्ति वा सत्ता कब्जापछि हुनसक्ने सम्भावित प्रतिक्रान्ति र आदतीय रूढिवादि सत्ताविरुद्ध क्रान्तिको निरन्तरताको सिद्धान्तसमेत अगाडि सारेका थिए ।

राजनीतिक अर्थशास्त्रका क्षेत्रमा माओले चिनियाँ समाज र उत्पादन सम्बन्धको मार्क्सवादसम्मत व्याख्या गरे । चीन अर्धसामन्ती र अर्ध औपनिवेशिक चरित्रको भएको विश्लेषण गरे । आन्तरिक रूपमा सामन्तवाद, नोकरशाही पुँजीवाद र दलाल पुँजीवाद चिनियाँ जनताका मुख्य दुश्मन हुन् भन्ने विश्लेषण गरे । यो अन्तरविरोधलाई हल गर्न नौलो जनवाद अर्थात नयाँ जनवादको राजनीतिक कार्यक्रम अघि सारे । उनले नौलो जनवाद भनेको किसान र मजदुर एकता एवं जनवादी अधिनायकत्वमा आधारित, कम्युनिस्ट पार्टीको नेतृत्व र राष्ट्रिय औद्योगिक पुँजी निर्माण तथा समाजवादको पूर्वाधार निर्माण गर्ने संक्रमणकालीन सत्ता हो भन्दै पुरानो जनवाद र नयाँ जनवादका आधारभूत अन्तर र सीमारेखा खिच्ने महत्वपूर्ण कार्य गरे ।

माओले सर्वहारा सांस्कृतिक क्रान्तिको पुर्वसन्ध्यामा उत्पादक शक्तिको सिद्धान्तसहित अगाडी आएका पुँजीवादपन्थीहरूलाई पनि विचारधारात्मक संघर्षमा परास्त गरेका थिए । उनले क्रान्तिलाई पकड र उत्पादन बढाऊ अर्थात् राजनीतिक कमान्डमा मुख्य आत्मनिर्भर अर्थतन्त्र हो भन्ने मान्यता अघि सारेका थिए । लेनिनको निधनपछि जसरी सोभियत संघमा समाजवादको विकास र प्रयोग गरियो, यसको समेत आलोचनात्मक अध्ययन गर्दै माओले चिनियाँ अर्थव्यवस्था सुदृढ गरे । आज चीन जुन समृद्धि र उन्नतिको बिन्दुमा आइपुगेको छ यसका लागि अनुकूल हुने राजनीतिक एवं आर्थिक नीति र वातावरणको जग पनि माओत्सेतुङले नै हालेका हुन् ।                                 

एकथरी बुद्घिजीवीहरूले भनेजस्तो चिनियाँ अर्थतन्त्र आजको स्थितिमा हुनु जसरी देङ स्याओ पिङलाई स्मरण गरिन्छ, त्यो गलत बुझाई हो र यो देङको योगदान नभई यसको प्रारूप नै माओले निर्माण गरेका थिए । देङले त केवल तत्कालीन विश्वको नवउदारवादी सिद्घान्तमा आधारित खुल्ला बजार अर्थनीतिको वेगलाई पक्रेका मात्र हुन् । स्मरण रहोस्, नवउदारवाद र खुला बजार अर्थनीति पनि देङको नयाँ रचना नभई उनीभन्दा कैयौँ पहिले शास्त्रीय अर्थशास्त्रीहरूले नै व्याख्या गरिसकेको नीति हो । यसैलाई देङको नयाँ सिद्धान्त भन्दै बढाइचढाइ गर्नु अवसरवादीहरूको अज्ञानता वा बेइमानी दृष्टिकोण हो ।

माओले नौलो जनवादी क्रान्तिका क्षेत्रमा मुख्य गरी कृषिप्रधान देश चीनमा गाउँबाट शहर घेर्ने र कब्जा गर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशा विकास गरे । जनताको सहभागितामा छापामार संघर्षद्वारा आक्रमण एवं उपलब्धि रक्षा, सन्तुलन र प्रत्याक्रमणको तीन चरण हुँदै क्रान्तिको विजय हुनसक्ने र चिनियाँ समाजवादी क्रान्ति रुसको क्रान्तिको अन्ध नक्कल हुन नसक्ने र यो आफ्नो चिनियाँ विशेषतामा अघि बढ्ने निष्कर्ष निकाले । माओले क्रान्तिका लागि पार्टी, संयुक्त मोर्चा र जनसेनालाई तीन जादुगरी हतियारका रूपमा परिभाषित गर्दै यसको अभावमा क्रान्तिको विजय असम्भव हुने ठहर गरे । यसरी माओले मार्क्सवादका तीनवटै संघटक अंगहरूमा थप विकास, प्रयोग र नयाँ उचाइ हासिल गरेको हुनाले उनका यी योगदानहारु सार्वभौम विचारधाराको रूपमा संस्थागत भएको छ ।

नेपालको सन्दर्भमा कतिपय शक्तिहरुले नौलो जनवादी क्रान्ति आवश्यक नभएको र कतिपय शक्तिहरुले नौलो जनवादी क्रान्तिको चरण पुरा भएकोले समाजवादतर्फ अगाडि बढ्नुपर्छ भन्ने खालका हल्लाखल्ला एवं प्रचारप्रसार गरिएको छ । माओवादीले नौलो जनवादी क्रान्तिको नाउँमा २०५० को दशकभर उग्रवामपन्थी नीतिमा आधारित सशस्त्र विद्रोह गर्‍यो । त्यस परिस्थितिमा त्यो सफल हुने अवस्था थिएन र भएन । अहिले माओवादी चरम दक्षिणपन्थी शक्तिमा रुपान्तरण भएको छ । अब माओवादी पनि संसदीय शक्तिमा रुपान्तरण भइसकेको छ । आज कम्युनिस्ट भनिने यस्तै दक्षिणपन्थी शक्तिहरुले नेपालमा पुँजीवादी क्रान्तिको चरण पार भइसकेको र समाजवादतर्फ अगाडि बढ्ने कुरा गरिरहेका छन् । तर नयाँ जनवादी क्रान्ति पनि पुँजीवादी क्रान्ति नै हो र त्यो नेपालमा सम्पन्न भएको छैन । अहिले पनि राष्ट्रिय औद्योगिक पुँजीवाद विकासको बाधक दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवाद नै रहेको छ । त्यसैले नेपालमा अझै पनि नौलो जनवादी क्रान्तिको कार्यभार पुरा भएको छैन । दक्षिणपन्थीहरुले दलाल तथा नोकरशाही पुँजीवादसँग राजनीतिक सौदाबाजी गरेर आफ्नो रोटी सेक्न यस प्रकारको प्रचारप्रसार गरिरहेका छन् । तैपनि अहिले बहसको विषय के हुनसक्छ भने नेपालको नयाँ जनवादी क्रान्ति हुबहु चिनियाँ मोडेलमा नहुन पनि सक्छ । उतिबेलाको चीनको अवस्था र अहिलेको नेपालको अवस्थाको तुलनात्मक विश्लेषण गर्ने हो भने केहि समानता र केहि कुरा भिन्नता रहेको देखिन्छ । त्यसैले आजको परिप्रेक्ष्यमा नेपालको सन्दर्भमा कुन प्रकारले नयाँ जनवादी क्रान्तिको रोडम्याप निर्माण गर्नु पर्नेछ र त्यसको संचालन एवं सफल बनाउने कार्यविधि कस्तो हुन्छ भन्ने विषयमा छलफलको आवश्यकता भने परेको देखिन्छ ।

नेपालमा पुष्पलालको समयदेखि नै अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक भन्दै यहाँ गरिने क्रान्तिको स्वरूप नौलो जनवादी क्रान्ति हुने कुरा उल्लेख गरिदै आइयो । नेपालको उत्पादन सम्बन्धको चरित्र आधारभूत रूपमा तत्कालीन चिनियाँ विश्लेषणसँग मिल्दोजुल्दो रहेको विश्लेषण गरिएको छ । चौथो महाधिवेशन पछि नौलो जनवादी क्रान्ति न्युनतम कार्यक्रममा समेटिदै आएको पाइन्छ । नेपालको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा समस्या देखिएको छ र संघर्षको बीचबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि निर्माण होला तर नेपालको सन्दर्भमा तथ्य र तर्कका आधारमा अब हुनुपर्ने  क्रान्तिको कार्यक्रम अर्थात् नौलो जनवादी क्रान्तिको रुप रंगबारे बहस हुनु जरुरी छ ।

नौलो जनवादको राजनीतिक कार्यक्रम माओले सन् १९४० मा चिनियाँ राष्ट्रिय प्रतिरोध युद्घको समयमा अघि सारेको थेसिस हो । चीनमा जापानी साम्राज्यवादको हस्तक्षेप र नेपालमा अमेरिकी साम्राज्यवाद एवं भारतीय विस्तारवादको हस्तक्षेपको बस्तुस्थिति मिल्दोजुल्दो नै छ । तर सन् १९४० को चीनको समय र आजको नेपालको समयमा कैँयौ अन्तरहरू एवं फेरबदलहरू रहे देखिएका छन् । त्यसैले परिस्थिति र बस्तुलाई गति र परिवर्तनको प्रवाहमा बुझ्न र त्यस अनुसारको रोटम्याप कोर्न आवश्यक देखिएको छ ।

चीनमा नौलो जनवादी क्रान्ति सम्बन्धी अवधारणा अगाडि ल्याउँदा विज्ञान-प्रविधि र उत्पादन शक्तिको विकास निकै पिछडिएको थियो । वस्तुहरूको ओसार प्रसारका लागि सामान्य ट्याक्टरलगायत साधनको समेत अभाव थियो । चीनको भूगोल र जनसङ्ख्या विशाल थियो । भोकमरी, अशिक्षाका समस्याहरू निकै जटिल थिए । माओको मुख्य सरोकार नै कृषिमा आधारित अर्थव्यवस्थालाई कसरी औधोगिकीकरण गर्ने र भोकमारीबाट चिनियाँ जनतालाई मुक्त गर्न उत्पादकत्वमा वृद्धि कसरी गर्ने भन्ने थियो । यस्तो स्थितिमा त्यहाँको राष्ट्रिय पुँजीपति वर्ग साम्राज्यवादी उत्पीडनबाट पीडित थियो । आजको नेपालको परिस्थिति पनि राजनीतिक एवं उत्पादन सम्बन्धको आधारमा मिल्दोजुल्दो परिस्थितिमा नै रहेको छ । तर बिज्ञान-प्रविधि विकासको सन्दर्भमा परिस्थिति फेरिएको छ । सूचना एवं प्रविधिका हिसाबले बायो इन्जिनियरिङदेखि आर्टिफिसियल इन्टेलिजेन्सको विकाससम्म भएको छ, जुन चिनियाँ नौलो जनवादी क्रान्तिकालको भन्दा भिन्न स्थितिमा रहेको छ ।

कतिपय विषयको सन्दर्भमा तत्कालीन चिनियाँ अवस्थाभन्दा नेपालको हालको अवस्था अझै पिछडिएको देखिन्छ । चीनमा नौलो जनवादको अवधारणा ल्याउँदा राष्ट्रिय पुँजीपतिहरूको हिस्सा नेपालको भन्दा तुलनात्मक रूपमा धेरै थियो । तर अहिलेसम्म पनि नेपालको जीडीपीमा औद्योगिक क्षेत्रको ६ प्रतिशत मात्रै योगदान रहेकोछ । राष्ट्रिय पुँजीवादको विकास न्यून छ र झन्डै सम्पुर्ण अर्थतन्त्र दलाल पुँजीवादको कब्जामा नै रहेको छ । त्यसैले जुन वर्गको सङ्ख्या नै नगण्य छ र त्यो राष्ट्रिय पुँजीपतिसँग साझेदारी गरेर क्रान्तिको रुपरेखा कोर्नुपर्ने अवस्था जटिल देखिन्छ । आधारभुत वर्ग किसान-मजदुर भएकोले तिनीहरुको बलमा क्रान्तिको मुख्य मिसन पुरा गर्नुपर्ने अवस्था रहेकोछ । तर राष्ट्रिय पुँजीपति, निम्न पुँजीपति वर्गको राजनीतिक इमानदारीतामा ह्रास आइरहेको स्थिति छ, त्यसैले संयुक्त मोर्चाको निर्माणको परिस्थिति चिनियाँ परिस्थिति अनुसार नेपालमा व्यवहारत: संभव हुने नहुने निश्चित अवस्था देखिन्न।

सन् १९८० पछिको दशकमा अर्थशास्त्री फ्रायडमेन, बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्ट्रपति रेमन्ड रेगनलगायतको अगुवाइमा विश्व आधारभूत रूपमा नवउदारवाद र भूमण्डलीकरणको प्रक्रियामा प्रवेश गर्यो । नेपालमा पाँचौ पञ्चवर्षीय योजना २०४२ मा (Structural adjustment program— SAP) ले प्रवेश पाएपछि नेपाल भूमण्डलीकृत पुँजीवादको अङ्ग बन्न पुग्यो । यहाँको उद्योग, व्यापार, वाणिज्य, शिक्षा, स्वाथ्य, संविधान र ऐनहरूसमेत त्यस अनुसार एड्जस्टमेन्ट गर्दै लग्नुपर्ने भयो तर ठीक यस्तै अवस्था माओकालीन चीनमा थिएन । हामीले नेपालमा कस्तो राजनीतिक कार्यक्रम अघि सार्ने भन्ने कुरा आजको विश्वपरिस्थिति र साम्राज्यावादको बदलिएको चरित्रले पनि प्रभाव पार्न सक्छ । माओकालीन चीनमा दलाल पुँजीवादी उत्पीडन भए पनि त्यसको चरित्र अहिलेको जस्तो भूमण्डलीकृत प्रकृतिको थिएन ।

नेपालको उत्पादन सम्बन्धको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक हो तर त्यसको साथसाथै हाल आएर नवऔपनिवेशिक र बहुध्रुवीय विश्वव्यवस्थाको पनि व्यापक प्रभाव परिरहेको अवस्था छ । अर्धसामन्ती र अर्धऔपनिवेशिक उत्पादन सम्बन्धसँगको प्रधान अन्तरविरोध हल गर्न छापामार संघर्ष अर्थात् दीर्घकालीन जनयुद्घको सामरिक कार्यदिशाको खाँचो पर्दछ । गाउँबाट शहर घेर्ने, गाउँमा स्थानीय जनसत्ता निर्माण गर्दै घेराभित्र पारि राज्यव्यवस्थाको केन्द्रमा प्रहार गर्ने कार्यक्रम रहेको हुन्छ । तर अब नेपालको उत्पादन सम्बन्धको चरित्र अर्धउपनिवेशको सट्टा  नवऔपनिवेशिक चरीत्र र प्रधान अन्तरविरोधको केन्द्रमा सामन्तवाद एवं राजतन्त्रको ठाउँमा दलाल तथा नोकरशाही पुँजीवाद भनिसकेपछि यसलाई नौलो जनवादको पुरानै कार्यक्रम, तौरतरिकाको फौजी कार्यदिशाले हल गर्न खोज्नु बस्तुगत हुन्छ वा हुँदैन ? मुख्य कार्यदिशा फौजी कार्यदिशा नै होला, त्यो स्पष्ट छ तर ठोस कार्यक्रममा परिवर्तन गर्नुपर्ने वस्तुगत अवस्था सृजना भएको देखिन्छ ।

यहाँ अन्तर्विरोधको मुख्य केन्द्रबाट सामन्तवाद गौण भयो भन्नुको अर्थ सम्पुर्ण सामन्ती शोषणको अवस्था अन्त्य भयो भन्ने अर्थ बिलकुलै होइन । महिलाहरूमाथि भैरहेका लैङ्गिक उत्पीडन, दलित/श्रमिक समुदायहरूमाथि भैरहेका छुवाछूत र विभेददेखि सामन्ती उत्पादन सम्बन्धमा आधारित श्रम सम्बन्धलगायत सामन्तवादका थुप्रै अवशेषहरू बाँकी नै छन् । मुख्य गरि क्रान्तिकारी वैज्ञानिक भूमिसुधारको अत्यन्तै आवश्यकता रहेको छ । गाउँहरूमा खेतीपातीमा प्रयोग हुने काठको हलो र यन्त्रको सट्टा अझै गोरु जोत्ने दासयुगीन उत्पादनका साधनबाट समाज माथि उठ्न बाँकी नै छ । यी सबै सामन्ती उत्पीडन र उत्पादन सम्बन्धसँग सम्बन्धित छन् । यी सबै नौलो जनवादी क्रान्तिको ऐतिहासिक सफलतापछि नै पुरा हुन सक्दछ्न् ।

तर आज यो सामन्ती प्रवृत्ति नै मुख्य र डोमिनेन्ट भूमिकामा छैन । श्रमका सामन्ती स्वरूपका ठाउँमा जनसंख्याको ठुलो हिस्सा ज्यालादारी श्रममा आश्रित छ । वस्तुहरूको उत्पादन आफ्नो उपभोगका लागि भन्दा पनि विनिमय र नाफाका लागि गर्ने क्रम बढ्दो रहेको छ । देशको अर्थतन्त्र परम्परागत सामन्ती बालीप्रथामा आधारित होइन कि आयातित वस्तुको भन्सार महसुल, आन्तरिक राजस्व संकलन, विप्रेषण, एसियायी विकास तथा  विश्व बैंक र आईएमएफमा निर्भर छ । देशको शासकीय भूमिकाबाट राजा हटेपछि सत्ताको बागडोर दलाल पुँजीपतिहरूको हातमा पुगेको छ । स्थानीय सामन्तहरू, डिट्ठा, बिचारी, जिमुवाल, राजा रजौटाको हातबाट केही फटाहाहरूको हातमा गाउको शासन बदलिएको छ । धनी र गरिबबीचको आय असमानता चुलिँदो छ ।

उपरोक्त तथ्य र तर्कका आधारमा हेर्दा अब नेपालको नयाँ जनवादी क्रान्तिको प्रक्रियामा हुबहु चिनियाँ नयाँ जनवादी क्रान्तिको तौरतरिकाले गर्दा बेमेल हुने अवस्था सृजना भएको छ । दलाल तथा नोकरशाही पुँजीवाद एवं सामन्ती अवशेषविरुद्ध संघर्ष गर्नका लागि दीर्घकालीन सशस्त्र विद्रोह अनिवार्य शर्त त छदैछ तर त्यसको तौरतरिका, रोडम्याप र सफलताको लागि ठोस कार्यक्रम नेपालको विकसित अवस्था देश काल परिस्थिति एवं वस्तुगत अवस्था र अन्तर्राष्ट्रिय विकसित परिस्थिति अनुसार नयाँ ढंगलको हुनुपर्ने आवश्यक छ । अब खाली न्युनतम कार्यक्रम नौलो जनवादी क्रान्ति भनेर दस्तावेजमा लेख्ने कार्य भन्दा पनि अबको विकसित परिस्थितिमा जन संघर्ष र सशस्त्र संघर्षको ठोस रोडम्यापको रेखाचित्रको व्याख्या र त्यसको प्रचारप्रसारको साथै क्रान्तिकारी पार्टी निर्माणमा जोड दिनुपर्ने आवश्यकता रहेको छ ।