मेरो गाउँमा मेरो पहिचान हेड सरकै छ

नेपाली राजनैतिक,आर्थिक,सामाजिक,शैक्षिक तथा सांस्कृतिक विषयमा कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसे ज्युसंग कुसे न्युज डटकमका साहित्य सम्पादक धिरेन अनुपमले गरेको संक्षिप्त भलाकुसारी ।

–  कुसे न्युजमा यहाँलाई स्वागत छ ।

धन्यवाद

– दिनहरू कसरी व्यतित गर्दै हुनुहुन्छ ?

एक राष्ट्रसेवकको नाताले नेपाल सरकारले दिएको जिम्मेवारी बहन गर्दै आइरहेको छु । हाल २०७८ जेठ १० गतेदेखि निर्वाचन आयोग,नेपाल अन्तर्गत प्रदेश निर्वाचन कार्यालय,कर्णाली प्रदेश,सुर्खेतमा प्रदेश निर्वाचन अधिकारीको भूमिका निर्वाह गर्दै कर्णाली प्रदेशका १० ओटा जिल्लाको निर्वाचन सम्बन्धी क्रियाकलापहरूको समन्वय एवम् सुर्खेत जिल्लाको निर्वाचन व्यवस्थापनका लागि आवश्यक तयारीमा दिनचर्या व्यतित भइरहेको छ ।

– यहाँको जन्म कति सालमा कहाँ भएको हो ? आफ्नो बाल्यकाललाई कसरी सम्झिनुहुन्छ ?

मेरो जन्म पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नं.८ गुटु (तत्कालीन रेक्चा पञ्चायत)मा वि.सं २०२९ पौष २७ गते भएको हो । मेरो बाल्यकाल आफ्नो जन्मभूमि गुटुमै वित्यो । मेरो पढाइको शुरुवात वि.सं. २०३४ मा तत्कालीन श्री ने.रा. जीवन ज्योति प्रा.वि.चौकुने,गुटुमा भयो । मैले सोही विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययन गरेँ । त्यसपछि कक्षा ४ देखि ७ सम्म श्री जनजागृत मा.वि. तोश्रामा एवम् कक्षा ८ देखि १० सम्म श्री जनता मा.वि. छाप्रेमा अध्ययन गरी वि.सं.२०४४ सालमा एस.एल.सी. उत्तीर्ण गरेँ। मेरो बाल्यकाल गाउँले जीवनमै रमाएर वित्यो । विद्यालयको पढाइका अतिरिक्त घरको काम गर्ने,गाईबाख्रा चराउने, घाँस काट्ने,पौडी (डम्म) खेल्ने, गुच्चा खेल्ने एवम् विशेष गरेर पुराना मोजामा कपडाका टुक्रा जम्मा गरेर बनाएको सानो भकुण्डो खेलेर व्यतित भयो।

– तपाईको जागिरे जीवन कहाँ देखि शुरु भयो ?

 महेन्द्र बहुमुखी क्याम्पस,नेपालगंजबाट प्रवीणता प्रमाणपत्र तह (आई.कम ) अध्ययन गरिसकेपछि मेरो गाउँकै विद्यालय श्री जीवन ज्योति मा.वि. गुटुमा २०४७ माघ २ गतेदेखि शिक्षण सेवामा प्रवेश गरेर मेरो जागिरे जीवनको शुरुवात भयो। १५ वर्ष ४ महिना शिक्षण सेवा गरिसकेपछि २०६३ जेष्ठ २ गतेदेखि जिल्ला शिक्षा कार्यालय कालिकोटको प्राविधिक सहायक (शिक्षा) पदमा नियुक्ति लिईं मैले निजामती सेवामा प्रवेश गरेँ।

– तपाईलाई निजामती कर्मचारी हुनका लागि कुन कुराले अभिप्रेरित गर्‍यो ?

तत्कालीन परिवेशमा स्वतन्त्र रुपमा शिक्षण पेशा अपनाउन कठिन हुनु,सशस्त्र द्वन्द्वको समयमा आधार ईलाकामा रहेर शिक्षण पेशा गर्न असुरक्षित महसुस हुनु,शिक्षण सेवा आफैमा मर्यादित भए पनि वृत्ति विकासको अवसर नहुनु एवं लोक सेवा आयोगप्रति मेरो अटुट विश्वास नै निजामती सेवामा प्रवेश गर्ने सोचलाई मूर्तरूप दिन अभिप्रेरित गर्ने प्रमुख आधारहरू हुन्।

– जीवन ज्योति मा.विको प्रधानाध्यापक र नेपाल सरकारको कर्णाली प्रदेशकाे प्रदेश निर्वाचन अधिकारी मध्ये कुन ओहोदामा बस्दा तपाईले बढी आनन्द पाउनुभयो ?

सुबिधाको हिसाबले निश्चित रुपमा अहिलेको जीवनशैली सुबिधाजनक छ तर भावनात्मक र आत्मियता एवम् सन्तुष्टिका हिसाबले भन्नुपर्दा मेरो जीवनको त्यो १५ वर्षका ती संघर्षपूर्ण ऊर्जाशील दिनहरू आनन्ददायी एवम् अतुलनीय छन् । मेरो जीवनका धेरै महत्वपूर्ण घटनाक्रम समेटिएको त्यो स्वर्णिमकालमा आफ्नो जन्मभूमिलाई आफूले सक्ने जति योगदान गर्ने प्रयास गरेका कारण नै अहिलेसम्म मेरो जन्मभूमि गुटुमा मेरो पहिचान हेड सरकै छ नेपाल सरकारको उपसचिवको परिचय गौण छ।

– तपाईलाई मानिसको जीवन के हो जस्तो लाग्छ ?

मानिसका अपेक्षा र उपलब्धिहरूबीचको अन्तर्सङ्‍घर्ष नै जीवन हो । आफ्नो मनस्थिति र परिस्थितिबीच तालमेल भयो भने मात्र मानिसले जीवनमा खुसी प्राप्त गर्न सक्छ अन्यथा आफ्ना अनगिन्ती अधुरा योजना र आकांक्षाहरूका साथ मानिसको जीवन समाप्त हुन्छ ।

– गुटुबासीले तपाईलाई जीवनज्योति मा.विको दुःखारी हेड सर भन्छन् निजी स्रोतबाट विद्यालय संचालन गर्दा के-कस्ता दुःख पाउनुभयो ?

हो म त्यस विद्यालयको अधिकतम दुःखारी हेड सर हो ।अन्य शिक्षक साथीहरू,अभिभावक वर्ग,विद्यार्थी भाइबहिनीहरूको योगदानले गर्दा त्यतिबेला आर्थिक रुपले संकटग्रस्त निजी स्रोतमा संचालित जीवन ज्योति मा.वि.ले आफूलाई जीवन्त राख्‍नका लागि कठिन संघर्ष गर्‍यो अभिभावक,शिक्षक एवम् विद्यार्थीहरुको सहयोग लिई वि.सं.२०४८ असोजदेखि २०५५ पौषसम्म मैले विद्यालयको प्र.अको रुपमा नेतृत्व सम्हाले ।

त्यो बेलाका केही तिता मिठा अनुभवहरूले मलाई जिन्दगीमा सङ्‍घर्ष गर्न सिकायो,इमान्दारीपूर्वक प्रशासनिक नेतृत्व गर्न प्रेरणा दियो एवम् नि.मा.वि. तहको पारिश्रमिक लिएर मा.वि. तहसम्म निःशुल्क पढाउनका लागि प्रेरित गर्‍यो।देउसी भैलो खेलेर,वृक्षारोपण गरेर,घर-घरमा चन्दा उठाउन गएर योगदान गर्ने शिक्षक,अभिभावक एवम् विद्यार्थीहरूको अनुपम संयोगबाट नै जीवनज्योति मा.वि.स्थापित भएको हो। यसमा सबै गुटुबासीको अथक प्रयासको बलमा इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने म एउटा निमित्त पात्र थिएँ ।

– राज्य व्यवस्था फेरियो,नेता फेरिए तर पश्चिम सुर्खेतको विकासले अपेक्षित गति लिन सकेन । यसमा कसको दोष देख्‍नुहुन्छ ?

मेरो विचारमा यसमा विशेषगरी तीनवटा पक्षको दोष छ ।

१. नेतृत्व वर्ग: जनमतलाई उचित सम्मान गरी जनताको जीवनस्तरमा अपेक्षित सुधार गर्नका लागि स्पष्ट योजना तथा कार्यक्रम ल्याउन नसक्नु ।
२.सरकारी संयन्त्र: सुर्खेत उपत्यका बाहेक पूर्व र पश्चिम सुर्खेतलाई वेवास्ता गर्ने एवम् सुबिधाजनक अवस्थामा मात्र काम गर्न मनस्थितिबाट ग्रसित हुनु ।
३.स्थानीय बुद्धिजीवी: पार्टी कार्यकर्ता एवम् समाजका अगुवाहरू आफ्नो क्षेत्रको समग्र दिगो विकासभन्दा पनि आ-आफ्नो व्यक्तिगत स्वार्थमा आल्झिनु ।

– चौकुने गाउँपालिका वडा नं.६ स्थित चौकुने सिमेन्ट खानी हात्तीको देखाउने दाँत मात्र भयो,यसलाई छिटो सञ्चालनमा ल्याउन क-कसले के-के गर्नुपर्ला ?

१. आवश्यक पूर्वाधार निर्माणमा नेपाल सरकारले प्राथमिकता दिनुपर्छ ।
२. हाम्रो क्षेत्रका जनप्रतिनिधिहरूले सम्बन्धित निकायहरूसँग समन्वय गरी इमानदारीपूर्वक प्रयास गर्नुपर्छ ।
३. सिमेन्ट खानी संचालनका लागि हाल अनुमति-पत्र लिएर काम नगर्ने कम्पनीको इजाजत तत्काल खारेज
हुनुपर्छ ।
४. प्रभावित क्षेत्रका जनताहरूलाई मुआब्जासहित रोजगारीको उचित प्रबन्ध मिलाउनुपर्छ ।

– सेवा निवृत्त भएपछि भावि योजना के छ ?

 निजामती सेवा ऐनको वर्तमान प्रावधान बमोजिम अब ९ बर्षपछि म निजामती सेवाबाट निवृत्त हुन्छु । सेवा निवृत्त भएपछि पिछडिएको वर्ग,समुदायलाई लक्षित गरी सरकारी सेवामा रहेको समयमा आफूले प्राप्त गरेको ज्ञान,सीप एवम् अनुभवका आधारमा सामाजिक संस्थामार्फत कर्णाली प्रदेश केन्द्रित भएर बिभिन्न कार्यक्रम संचालन गर्ने योजना छ ।

– अन्तमा सोध्न छुटेका थप केही बिषयवस्तु छन् कि ?

खास त्यस्तो बिषयवस्तु केही छैन,लगभग समेटिएका छन् । एक राष्ट्रसेवकको नाताले आफ्ना अनुभूति एवं विचार प्रकट गर्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक आभार सहित धन्यवाद ।