उज्यालो देखाउने ठाउँ अन्धकारको चपेटामा

द्वन्द्व पिडित बिद्यालयको नालिबेलि

इतिहासको उज्यालो छर्ने पुण्य भुमि आफै अन्धकारमयी इतिहासको गर्वमा अन्धकारलाई चिरेर सभ्यताको न्यानो र लालियुक्त किरण छर्ने ठाउँ त्यहीँ वषौँसम्म उज्यालो भएन।आजसम्म पनि पर्याप्त न्यानोपनको अनुभुती छैन भन्ने सुनेको दिन कस्तो लाग्ला ? जसले हजारौं लाखौंलाई अज्ञानताको अन्धकारबाट मुक्ती दिलाउँछ।त्यही पुज्य स्थान आफै परचक्रीको चंगुलमा फसेको कथाले के हजुरको मन नछोला र ? जुन आँगनमा मानवता, नैतिक मूल्य मान्यता, आदर्शता, सदाचारिता, न्याय, शान्ती, भातृत्व अनि सद्भावनाका दिव्य ज्योती चम्किन्छन त्यही आँगन रगतको भेलले पोतियो अनि लाशको थुप्रोले भरियो भन्ने सुन्दा त अनुभव पनि भयोकी साच्चिकै कलियुगमा हिंसा र दानवियताको मात्र अस्तित्व रहनेछ।

जुन पुण्य भुमिले हजारौं लाखौं जनशक्ति उत्पादन गर्छ। जुन पुण्य भुमिले समग्र समाज, देश, संसार अनि सभ्यताकै भार उठाउने दक्ष, स्वाभिमान र सशक्त कर्मठ वीरहरु जन्माउँछ त्यही भुमिले निर्दोष र निरीह मान्छेहरुका लास बोक्यो भनेको सुनेको दिन साच्चिकै कुसाइतमा निस्किएछु भन्नेपनी लाग्छ। मानवता जन्माउने ठाउँ अमानवताको शिकार बन्यो। न्याय र शान्ती सिकाउने गुरुभुमी हिंसा र अन्यायको अखडा बन्यो अनि प्रेम र भातृत्वका फुल फक्रीने ठाउँमा रगतको बाढी आयो तथा जनशक्ति उत्पादन हुने ठाउँमा उत्पादन गर्ने मानवीय अदभूत यान्त्रिक जनशक्तिनै नष्ट भयो। यो प्रतिकुल तथा विषम कथा हो श्री गणेश प्राथमिक बिद्यालयको।

प्रवेश

हिउँदकै समय भएतापनी पहाडी भेग भएकोले घाम स्पष्ट र छिप्पिसकेका थिए। घाम छिप्पिएकै भएपनी सिरसिरेको कारण न्यानो भने थिएन। बिहानै घाम भन्दा पहिले नास्ता खाएर हिँडेका थियौँ म अनि साथमा मेरो भाइ। निक्कै उकालो चढेर लामै बाटो हिँडेपछि करिब डेढ घण्टाको यात्राले हामिलाई त्यो गाउँमा पुर्‍यायो। जहाँ भिरालो लाग्ने तर समथर जग्गाहरु थिए। केही हरिया च्यादरयुक्त, केही ढुङ्गे छाना भएका र केही खरले छाएका टाढा टाढा लाग्ने घरहरु थिए। गाउँमा हामी बिल्कुलै नयाँ थियौँ। चिनजान कोहि सँग थिएन र कसैले हामिलाई पनि चिन्दैनथे।

गाउँमा केही मान्छेहरुलाई सोधेर पसल भएको ठाउँ तिर लाग्यौं सरासर। हामी नयाँ भएकोले अनि हेर्दा अलिक परिस्कृत लाग्ने र ठाँटबाँटको साथ हिड्ने भएकाले स्थानीयले सरकारी अफिसर या त कुनै प्रोजेक्टमा आएका संस्थाका कर्मचारी हुनुपर्छ भनी लख काट्नु पनि स्वभाविकै थियो र कतिपयले भनेको पनि सुन्यौं यी केटाहरू बिद्यालयमा केही काम भएर आएका होलान्। नत्र यो अपाएक ठाउँमा बिराना मान्छे।

कसैको कुराको वास्ता नगरी अनि जवाफ नफर्काई घुम्ती पसल भएतिर बढ्यौँ। किनकी हामिसँग उनीहरुका सवालका जवाफ पनि थिएनन् र जवाफ दिनैपर्ने जरुरत पनि थिएन। घुम्ती पसलमा पुगेपछि आवश्यक सामान किन्यौँ तब त्यहीँबाट तलतिरको सुन्दर बिद्यालयमा दृष्टि परिहाल्यो। लाग्यो आजको गन्तव्य सुन्दर रहेछ।तब त्यहाँ पसलमा बस्नुभएका आमाहरुलाई बिद्यालय सम्म पुग्ने बाटो सोध्यौँ अनि झर्‍यौँ ओह्रालो बिद्यालय तर्फ।

अघिअघि म अनि पछ्याउँदै थिए भाइ। जहाँको उदेश्य लिएर हिँडेका थियौँ। अलिकति मात्र तल झरेपछी बिद्यालयको प्राङ्गणमा पुग्यौँ। त्यही प्राथमिक बिद्यालय जुन भौतिक संरचनाको सुन्दरता अनि आकर्षणले भित्री पिडा रहस्यमय तवरले समेटेको छ।जहाँको इतिहासले वर्तमान पनि अमिलो बनाएको छ। त्यही आँगन टेक्दै थियौँ र प्रवेश पनि गरिहाल्यौँ बिना हिच्किचाहट, बिना रुकावट।

बिद्यालयको प्राङ्गणमा साना विद्यार्थीहरु घेराबद्ध बसेर पढ्दै थिए। निकै आकर्षक लाग्यो त्यो दृश्य। उम त्यतिमात्रै होइन म स्वयंको बिद्यार्थी जीवनको स्मरण पनि दिलायो। रोमान्चित बनायो। घेराबद्ध बसेका नानिबाबु हरुलाई लक्ष्यित गरि मैले मुस्कुराहट सहित भनेँ हाइ गुडमर्निङ एक नानिले उस्तै मुस्कान अनि उस्तै शैलीमा जवाफ दिइन हेलो गुडमर्निङ मैले सोधेँ अफिस कता छ नानी ? उनले त्यहीँबाट दाहिने हातको चोर औंलाले इशारा गरिन। मैले उनलाई थ्याङ्कयु भनेँ अनि बढ्यौँ त्यतैतिर।कार्यालयको ढोकैनिर कुर्सी राखेर प्रधानाध्यापक रुद्रबहादुर शाही प्रश्नपत्र जाँच गर्दै थिए।

तथा सहयोगी प्रश्नपत्र मिलाउँदै थिए। सहयोगीको नाम भने थाहा भएन र हामिले सोध्न पनि बिर्स्यौँ। हामिले अभिवादन गर्‍यौँ र आफ्नो परिचय सहित त्यहाँ पुग्नुको प्रयोजन बताएपछि उनले प्रश्नपत्रका सबै कागजात थन्काउन लगाए र कुर्सी लिएर खुल्ला प्राङ्गणको डिलतिर गए अनि हामिलाई पनि उतै आउन आग्रह गरे। तब सुरु भयो उनको हाम्रो भलाकुसारी। तब हामीले थाहा पायौँ त्यहाँको चोटिलो र निष्पट्ट अँध्यारो इतिहास। त्यही इतिहास आज यहाँ पस्किदै छु। कथा छोटो छ तर दर्दनाक पनि।

इतिहास बिस्तार

जब मैले हामी त्यहाँ पुग्नुको वास्तविक प्रयोजन अवगत गराएँ तब उनले त्यसको विकल्पमा बिद्यालयलाई प्रस्तुत गरे। हामी त त्यहाँ फरक जनजीवनका कथाहरू खोज्न गएका थियौं तर प्रधानाध्यापकले भने हाम्रो यो बिद्यालय आफैमा एक कथा हो। साहेद यसको बारेमा लेखेको भए सान्दर्भिक हुने थियो। मैले सहमती जनाएँ। अनि उनी अर्थात प्रधानाध्यापक रुद्रबहादुर शाहीले बताउन सुरु गरे। वि सं २०४५ सालमा स्थापित भएको बिद्यालय हो जसले साधारणतया मान्छेहरु कामबाहेक नपुग्ने दुर्गम ठाउँमा शिक्षाको सुनौलो ज्योतिको उदय गरेको थियो। नयाँ र परिवर्तित नेपालको सुचित गरिरहेको थियो।

परिवर्तन र बिकास शब्द र शिद्धान्तमा मात्र सिमित हुने परिवेशमा बिद्यालय खुल्नु चकमन्न अन्धकार आकाशमा धुर्वतारा देखिनु जस्तै थियो। भविष्यबिहिन बस्तिमा पनि साक्षरतारुपि भविष्यको उषाकिरण सलबलाउनु थियो। पाषणरुपी शैक्षिक जिवनलाई कोमलता प्रदान गर्ने शिक्षाको मन्द तापक्रम प्रवाह थियो।बिद्यालयको प्रयास र जनसमुदायको निरीक्षणमा प्रज्ञा मन्द तवरले उदाइरहेको बेला देशकै आमूल परिवर्तनका हेतु तत्कालीन नेकपा माओवादी द्वारा जनयुद्ध छेडियो। जहाँको बस्तिमा परिवर्तनको आसयनै थाहा थिएन साहेद अनि परिवर्तनको परिभाषानै थाहा थिएन साहेद। त्यहाँ पनि परिवर्तनको विकल्प सहितको आन्दोलनले हलचल मच्चायो।आन्दोलन अनि युद्धको प्रभाव देशव्यापी फैलिएको बेला त्यो गाउँ पनि अछुतो रहन्थ्यो र कसरी।

क्रूर र विध्वंसकारी युद्धले उर्ल्याएको रक्तपातका बछिटा त्यो बस्तिको पुण्यभुमीमा पनि पर्न पुगे। पापका बछिटा हुन जो अनायास पुण्यभुमीलाई बिटुलो बनाउन हतारीए। हुनत युद्ध हो सबै नीति र अनिती स्वीकार्य हुन्छन तर मानवीय मर्यादा नाघिने युद्धले स्थापना गरेका नीति र धर्मले मानिसलाई कुन मार्गमा लैजान सक्लान त ? कुरा दिअर्थी छ। नीति, बिधान र व्यवस्था बदल्न सुरुवात गरेको युद्धले थुप्रै नीति र मानवता मिचेको छ। त्यही क्रुर परिस्थितिको नजर परेकै हो त्यहाँ। जहाँ सयौंका सुन्दर भविष्य फुल्नेवाला थिए। जिवनरुपी संरचनाका जग बसालिने थिए।धरासयी बनायो जनयुद्धले।

प्रसंग २०५५ को हो। जसले उज्यालो दिपलाई नष्ट गरेर पुनः सन्नाटा छाउने वातावरण सृजना गर्‍यो। त्यतिबेला जनयुद्धले उग्र रुप धारण गरिसकेको थियो। बिद्यालयमा पठनपाठन पनि असहज थियो तथापी त्यहाँको शैक्षिक क्रियाकलाप सुचारु थियो। जेठ २२ गतेको दिन हो जसले जनसमुदायको हौसला र सपना माथी बज्रपात पार्‍यो। बिद्यालयले आफ्नै कार्यक्रम आयोजना गरेको हो जहाँ शिक्षक, विद्यार्थी तथा अभिभावक हरुको बृहत् जमघट थियो। त्यहीँ बर्सिए सरकारका सिपाही हरुको रक्तप्यासी बुलेट। रातिको समय थियो नाचगानको आयोजना गरिएको।

सरकारका मान्छेहरु द्वारा अवाञ्छनिय व्यवहार नहोस भन्ने ध्ययका साथ अवगत पनि गरिएछ बिशुद्ध बिद्यालयकै कार्यक्रम हो भनेर। तर जनयुद्धका जनवादी सिपाहीहरु पनि बस्ति बस्तिमा व्याप्त रहने भएकोले निगरानी गर्न प्रहरी टोलि उक्त बिद्यालयको परिसर समिपकै जंगलमा पुगेछन। जुन कुरा जनमासलाई अवगतनै भएन र संका पनि। संका गर्ने अवस्था पनि थिएन किनकी कार्यक्रमका सम्बन्धमा अग्रिम जानकारी गराइएको थियो। तर संकिर्ण सोच र संक्रमणकालीन परिस्थिति दुवैको कारण प्रतिकुलता उत्पन्न भएको होला। करिब २ बजे राती मास कार्यक्रमको रमझममै मस्त भइरहेको बेला, हर्ष, उल्लास र उमंग छाइरहेको बेला कसैले सोचेकै थिएनन् साहेद मृत्युका दुतहरु छेउमै पुगेर प्राण गिजोलिरहेका छन।

मृत्यु संकट झ्याली पिटाएर आउँदैन र आएन त्यहाँपनि। त्यहाँ मृत्यु छदम भेषमा आयो बरु।जनवादी क्रान्तिकारी संगितको रुपमा आफ्नो बिगुल फुक्यो अनि उपस्थित भयो नेपाल प्रहरीको रुपमा। त्यो बिशुद्ध बिद्यालयको कार्यक्रम भनिएको ठाउँमा कोहि तत्कालीन क्रान्ति र जनवादका समर्थकले जनवादी गित स्पिकरमा बजाइदिए। जुन तुरुन्तै मृत्युको शंखघोषमा बद्लियो। जनवादी संगितको ध्वनिले जंगलमा घेरा हाली बसेका प्रहरीले ठाने कि त्यहाँ माओवादी कार्यकर्ता पनि संलग्न छन। तब ती क्रूर र निर्दयी रक्त पिपाशु आत्माहरुले गोलिको वर्षा गरिदिए।

अनि ती प्यासी गोलिले पिए तीन शिक्षक र अभिभावक सहित ९ जनाको रगत अनि शोषण गरे प्रीय प्राण। हर्ष र उल्लास प्रज्वलित भएको ठाउँमा फैलियो एकैछिनमा भागाभाग अनि हाहाकार।अन्धकारमा फैलियो एक चीत्कार र क्रन्दन।शान्ती र पुण्य भुमि सिंचियो ९ जनाको रगतले। भागेर ज्यान बचाउन सफल भए धेरै तर नियती र नियत दुवैको चपेटामा पर्न पुग्यो ९ जनाको जिवन। मारिएका सबैलाई निर्दयी सिपाहीहरुले हालिदिए सौचालयको सेफ्टी ट्याङ्कमा।ती स्वप्नदर्शी र शान्तिप्रेमी हरु सिधिए एकैपलमा। ती मारिएका हरुको अन्तिम संस्कार सम्म गर्न पाएनन् आफन्तहरूले।

विकासले गति नपाएकै भएपनी अनि सिमित माध्यमहरु पनि सहजै उपलब्ध हुने अवस्था नभएपनी खबर त फैलियो देशब्यापी। केन्द्र बाट मिडियाकर्मी हरु आए अनि घटनाको जाँचबुझ गरियो। मानवीय औपचारिकता निभाउन मात्रै त्यहाँ लास माथी काठदाउरा राखेर आगो हालियो अनि रगतका दागहरु पानीले पखालियो। रगत त पखालिएको थियो तर रक्तपात पखालिएन। लासहरुमा आगो लगाइयो तर घटना त ज्युदै थियो अनि घटनाले दिलाएको सोकमग्न स्थिती बाट मुक्ती पाउन सहज थिएन।

बिद्या सरस्वती र बिद्यालय सरस्वती निवास ठान्ने हाम्रो मान्यताको विरुद्ध सरस्वती निवासमै मृत्यु ले ताण्डव मच्चाइदियो। निर्भीकताको साथ ज्ञान फुल्ने ठाउँमा त्रास र डरले मानिसको उपस्थिति शुन्य हुनेबेला भयो। परिस्थिति काँतर बनेको थियो। डर सँगै प्रतिशोध उम्रन लागेको थियो। घटना सामान्य थिएन। ९ जनाको एकै चिहान भयो र अन्तिम संस्कार गर्ने अधिकार सम्म खोसिएको थियो। जसले पोतिदियो इतिहासको मुखमण्डलमा कालो पोतो।

सुक्नै आँटेको घाउ पुनः घोचियो

समय निर्दयी छ। यसले कसैको पुकार सुन्दैन र कसैको पीडा अनुभुती गर्दैन। समयको सप्कोले घात त्यहीँ पुर्‍याउँछ जहाँ पहिलेदेखिनै कमजोर छ।रक्तपातले मुछिएको भुमी सुकेर अवशेष मेटिनै मात्र लागेका थिए। २०५५ को घटनाले जनमानस र पिडित परिवारको मनको दहन शितल भैसकेको सम्म थिएन। फेरि घट्यो अर्को घटना। जेनतेन बिद्यालयको पढाई चलिरहेकै थियो। २०५८ बैशाख ६ गते दुखिरहेको हृदयमा फेरि खस्न पुग्यो क्रूर बज्र। बिद्यालयमा पढाई भइरहेको बेला मृत्युले अर्को अस्त्र प्रहार गर्‍यो चट्याङको रुपमा अनि लिएर गयो एक शिक्षक र दुई विद्यार्थीको प्राणपखेरु।

हामीले मान्ने सरस्वती निवास, पुण्यभुमी, विद्याको घर बिद्यालयको आँगनलेनै निल्यो १२ जनाको जिन्दगी। मृत्युुको कुदृष्टी पनि त्यहीँ मात्र पर्‍यो जहाँ मान्छेको जीवन प्रतिको आस्था अधिक हुन्छ। भयावह स्थिती सृजना भयो। प्रधानाध्यापक रुद्र शाही भन्छन् ५५ को बीभत्स घटना पश्चात् बिद्यालयमा एक्लै आवतजावत गर्न र विद्यार्थी पढाउन सम्म डर लाग्थ्यो झन त्यहीँ चट्याङले थप तीनजना लिएपछि त मान्छेले त्यता हेर्नै पनि छोडिदिए। कस्तो बिडम्बना मान्छेले जीवन ग्रहण गर्ने ठाउँनै जीवन हर्ता बन्यो।भविष्यको मानचित्र कोरिने ठाउँनै मानचित्र मेटिने थलो बन्यो।

बिद्यालयको पढाई अस्तव्यस्त भइरहेको बेला अनि बासिन्दाहरुको बिद्यालय प्रतिको आस्थाभाव निर्धो बनिसकेकोबेला पढाईलाई निरन्तरता दिन वर्तमान प्रधानाध्यापक रुद्र शाहीले आफ्नै घरलाईनै बिद्यालय बनाएर पढाउम सुरु गरे।बिद्यालयको छेउछाउ जानपनि मान्छे डराउँथे। बिद्यालय प्रतिको आस्थालाई त्यही भुमिमा बिलिन भएका १२ जनाका अमुर्त चित्कारले घच्घच्याएर कमजोर बनाउँथे। लासको गन्धले झस्काउँथे अनि रगतका थोपाहरुले नजर सोझ्याउँथे। मरेर जाने गएसँगै उनको मृत्यु सँगै त्यो भुमी प्रतिको मानिसको आस्थाको पनि मृत्यु भइसकेको थियो।

अतस् मान्छेहरु भन्नथाले या त बिद्यालय सारिनुपर्छ या त हामी हाम्रो छोराछोरी अन्यत्रै पढाउँछौँ ।परिस्थिति विषम थियो। जनयुद्धले चरम सिमामै उत्पात मचाइरहेको थियो। बिकास निर्माणका त कतै नाम सम्म सुनिदैनथे बरु हर दिन बिध्वंसका समाचार आइरहन्थे। कहाँ कति को कसरी मारीए। कहाँ के ध्वंस पारियो। सरकारले के उर्दि गर्‍यो र माओवादीले कहाँ के गरे जस्ता समाचार मात्रै निरन्तर प्रसारण हुने समयमा कहाँबाट कसले योजना दिने आर्थिक दिने र बिद्यालय सारीने। त्यो त एक अस्वभाविक आकांक्षा मात्र हुनजान्थ्यो।

जनमानसमा व्याप्त बिद्यालय प्रतिको दृष्टिकोणलाई एक आयाम दिन शान्ती र स्थिर व्यवस्थाको जरुरत पर्थ्यो जुन दुवै कुरा त्यो हालतमा थिएनन्।जेनतेन पठनपाठन चलाउनुपर्ने त्यो त रोकिन दिएनन् जिम्मेवार र कर्तव्यनिष्ट शिक्षक रुद्रले। आफ्नै घरलाई समेत पाठसाला झैँ बनाएर पठनपाठन निरन्तर चलाईरहे।

अन्तत:

मानिसहरूको बिद्यालय क्षेत्र सँगको तृष्णा पुर्ण रुपले सुकेपछी बिद्यालय अनिवार्य सार्नै पर्ने भयो। एउटा चुनौती थियो जनयुद्धको दन्किदो अराजक स्थिति बिचमा शैक्षिक संस्थाको नयाँ व्यवस्थापन गर्नु तर चुनौतीको सामना गरेर समाधान खोज्न नसके नयाँ पिढि अन्धकारमा धकेलिने अवस्था थियो। कुराकानीको क्रममा प्रधानाध्यापक रुद्र शाहीले भनेका थिए मेरो आम्दानी त बिद्यालय चलेपनि आउँथ्यो र नचलेपनि आउँथ्यो तर नयाँ युगको शैक्षिक भविष्यको लागि यथाशीघ्र बिद्यालय सुरुवात गर्नुपर्ने जरुरी थियो। जिर्ण बिद्यालयको परिसरमा त गाउँबासि आफ्नो छोराछोरी पठाउन त धेरै टाढाको कुरा त्यता हेर्न दिने स्थितिमा पनि थिएनन्।

एक महा चुनौतीको सामना गर्नु थियो।कहाँ जाने ? को सँग सहयोग माग्नेरु कसरि शैक्षिक भविष्य सुनिश्चित गर्ने ? यावत सवाल हरुले मनोदशा खलबल्याउन थाले। सरकारसँग उक्त समस्याको हल थिएन किनकि तत्कालीन श्री ५ आफै डगमगाइरहेको थियो अनि अन्य पार्टिहरु पनि पुर्ण रुपमा अस्थिर थिए। चारैतर्फ क्रान्तिका शंखघोष सँगै मृत्युका हुँकार फैलिरहेका थिए।

तब त्यो संक्रमणकालीन परिस्थितिमा सम्भावनाको संकेत नदेखिएपछि आफैले विकल्प खोज्नु थियो। तसर्थ वर्तमानमा प्र अ शाहीले आफ्नै घरमा पठनपाठन सुरु गरेर नयाँ पिढिको शैक्षिक भविष्यमा अन्धकारको धब्बा पर्न नदिन जिम्मेवारी उठाए। त्यो एक महान कदम थियो जसले युद्धको गम्भीरतालाई शासहका साथ नजरअन्दाज गरेर केवल नयाँ भविष्यको खोज गर्न चुकेनन। हुनत तत्कालीन जनयुद्ध पनि समग्र व्यवस्थामा नयाँ युग खोजिरहेको थियो त्यहि शाहिले युद्ध भन्दा पछिको भविष्य आफ्नो काँधमा उठाएका थिए।

चुनौतीपूर्ण नयाँ सुरुवात

आफ्नै निजि घरमा करिब एक बर्ष पठनपाठन प्रक्रिया सुचारु गरिसकेपछि राज्यको इतिहासमा नयाँ अध्याय थपियो। युद्धविराम भयो अनि शान्ति स्थापना भयो। परिवर्तनका संघर्षरत कदम थप व्यवस्थित र शान्तिपूर्ण तवरले अघि बढ्न थाले। बम बारुद र क्रन्दन बाट थकित भएकि मातृभुमि सुस्ताउन थालिन। जनमानसमा बिराजित मृत्युभय अस्तायो अनि बिकास र नयाँ व्यवस्थाको मसिनो लालि पुर्वि क्षितिजमा पदार्पण गर्न थाल्यो।

विध्वंस र धरासयि भएका संरचनाहरु नयाँ निर्माणको कदमको प्रतीक्षा गरिरहेका थिए। दस बर्षको कठिन संघर्षमयि यात्राबाट गुज्रेर आएको संयन्त्रको नव निर्माण पक्कै सहज थिएम झन ग्रामीण बस्तिका ति संरचनाको नव निर्माण त अझै सहज थिएन। तर पनि प्र अ शाहिको लागि सहज र असजको स्पष्टता भन्दा धेरै समस्या निराकरण गर्नु थियो अनि नविनतम शिक्षा प्रवाह गर्नु थियो।

जुर्मुराए र सक्रीए भएर आफ्नो जिम्मेवारीमा लागे उनि। युद्धमा विध्वंस भएका संरचनाको उचित पहिचान नव निर्माण गर्नु सरकारकै जिम्मेवारी हो। त्यसैमाथि झन शिक्षा स्वास्थ्यको प्रसंग त पहिलो प्राथमिकतामा हुनुपर्ने तर ग्रामीणका ओझेल परेका जनता त्यति सजिलै कहाँ संयन्त्रको नजरमा आउन सक्नु। शाहिको निम्ति आफ्नो जिम्मेवारी भन्दा अर्को केहि थिएन तब उनि अहिरात्र खटिए र माग प्रस्तुत गरे। तर सजिलो त जनयुद्ध पश्चात् पनि भएन। शान्ति मन्त्रालय द्वारा दिइयो ६ लाखको योजना त्यो पनि १० प्रतिशत तिरेर।

अब यसलाई घुस दिएको भन्नु या नयाँ निर्माणको निम्ति सरकार सँग अपेक्षा राखेको जरिवाना। कस्तो बिडम्ना जहाँ सरकार स्वयंले गर्नुपर्ने काम एक व्यक्तिले आफ्नो काँधमा जिम्मेवारी बोकेर गर्दा पनि उल्टो रकम तिर्नुपर्ने। त्यो घटनाले स्पष्ट गराएको छ कि जनयुद्धको परिवर्तन सतहि मात्र थियो। वास्तविक आन्तरिक परिवर्तन त भएकै थिएन।आज बिद्यालयको भौतिक र शैक्षिक सबै उपलब्धि स्तरीय छ तर त्यो सरकारको कारण होइन त्यो त शाहिको कारण हो। जहाँ सरकारको नजर पुग्दैनथ्यो त्यहि उनले हरतरहले समस्या सुल्झाए। सरकारको तर्फबाट आएको त्यहि एउटा भवन हो त्यो पनि घोटाला गरेर तर पछि गरिबि निवारणले बिद्यालयका स्तरीय भवन र सौचालय निर्माण गरिदियो। जुन ठाउँमा सरकारको लगानी हुनुपर्ने त्यहाँ एक संस्थाले लगानि गरिदियो।

यो भन्दा अर्को बिडम्बना के हुन सक्छरु बिद्यालयको घेराबरको लागि भनेर तत्कालीन गृहमन्त्री क शक्ति बहादुर बस्नेतको पहलमा ५ लाखको योजना मिलाइयो र घेराबर पनि सम्पन्न भयो। केहि बर्ष अघि इ पाटि नामक संस्थाले उक्त बिद्यालयलाई कम्प्युटर शिक्षा प्रयोगात्मक रुपमा सुचारु गर्न कम्प्युटर उपलब्ध गराएपछि बाध्य भएर उक्त कम्प्युटर चलाउन सोलार सिस्टम नगर द्वारा प्रदान गरिएको छ। नलगाड नगरपालिकाकै उत्कृष्ट बिद्यालयमा सुचिकृत उक्त बिद्यालय साहेद आज पुर्ण र सक्षम छ। जो सरकारको पहुँचभन्दा परैबाट आजको यो अवस्थामा पुगेको छ।

आजपनि विभिन्न स्थानमा यस्ता सयौं शैक्षिक संस्था, स्वास्थ संस्था वा कुनै राष्ट्रिय संरचना हुनसक्छन जुन जनयुद्ध द्वारा ध्वंस पारीए तर सरकारद्वारा नव निर्माणको पहल गरिएन। म यही लेखको माध्यमबाट सरकार र सम्बन्धित निकायलाइ त्यस्ता संरचना पहिचान गरी उपयुक्त राहत प्रदान गर्न आह्वान गर्दछु। तथा प्र अ रुद्र शाहि जस्ता निष्ठावाम, जिम्मेवार र जवाफदेही अध्यापक हरुको सख्त जरुरत छ यो व्यवस्था र व्यवस्थाको भविष्य बदल्नको लागि भन्ने कुराको पनि अवगत गर्दछु। स-धन्यवाद ।