सन्दीप पिएसएल खेल्न पाकिस्तान प्रस्थान

काठमाडौँ,  इन्डियन प्रिमियर लिग (आइपिएल)को सन् २०२१ को सिजनमा ‘अनसोल्ड’ नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पिसिएल) खेल्ने भएका छन् । उनी पिसिएलमा लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्न आज(शनिबार) त्यसतर्फ प्रस्थान गरेका हाे ।

लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो ।

उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेको हो । यसअघि लामिछाने पिएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहेको थियो । उक्त ड्राफ्टमा नेपालबाट उनीसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख समावेश भएको थियो ।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामा तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेको थियो । सन्दीपले सात खेलमा ११ विकेट लिएको थियो । सन् २०२० मा भने उनले पिएसएल खेल्न पाएन् ।