बुटवल कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

बुटवल ,बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण नवलपरासी पश्चिमका एक जना र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषलाई गत भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहीवार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी समेत थिए ।

यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । असोज १ गते अस्पताल भर्ना भएका उनको बिहीवार बिहान ७ बजे मृत्यु भएको हो ।उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।