शिक्षक संगठन कोहलपुरको परिषद सम्पन्न

कोहलपुर, नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरको प्रथम नगर परिषद बैठक सम्पन्न गरेको छ । शुक्रबार कोहलपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरवशाली विगत चुनौती वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुरुवात भन्ने नाराका साथ प्रथम नगर परिषद बैठक सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष वद्रे आलम खाँले स्थानीय निकाय शिक्षाका पेशागत घटकहरुसंग सहकार्य गर्न कन्जुस्याई गर्ननहुने बताए । उनले भने शिक्षक संगठन विद्यालयमा गुणस्तर सुधारमा प्रतिबद्ध रहेको र यसमा स्थानीय सरकारले रचनात्मक सहयोग गर्न आग्रह गरेका हुन् ।

त्यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरु ठुलो योगदान रहेको बताए । रावतले सामुदायीक विद्यालयहरुमा विद्यार्थीको आकर्षक बढाउन शिक्षकको महत्वूर्ण भूमिका रहेको उनले जोड दिएका थिए । संगठनका केन्द्रिय सदस्य एकदेव पन्थीले सामुदायिक विद्यालयका शिक्षकलाई गाली गरेर शिक्षामा गुणस्तर नआउने बताउदै स्थानिय तहका जनप्रतिनिहरुले गुणस्तर बढाउन बैज्ञानिक याेजना ल्याउन अाग्रह गरे । धनीका छोराछारीहरु निजी विद्यालयमा जाने तर गरिबका छोराछोरीहरुलाई विभिन्न चूनौतिका विच अध्ययन गराउँदा पनि सामुदायिक विद्यालयका शिक्षकलाई जस नदिने गरेको दुखेसो व्यक्त गरे ।

यस्तै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्यालले निति, नियम, नेतृत्व राम्रो भयो भने मात्र शिक्षामा गुणस्तरीय बनाउन सकिन्छ तर शैक्षिक हब बनाउने भन्दैमा शैक्षिक हब बन्न नसक्ने बताए । सामूदायिक शिक्षकहरुले योजना माग गर्दा बहुआयामीक भवन निर्माण गर्ने खालको योजना माग गर्ने समेत सुझाव दिए । उनले भने टिनको छानो, जिर्ण भवन र प्रचण्ड गर्मीमा विद्यार्थीलाई पढाउनु पर्ने भएकोले सामुदायिक शिक्षकहरुलाई निकै पिडा भएको उनको भनाई थियो । भखरै सेवा निवृत भएका संगठनका कोहलपुर नगर इन्चार्ज जित बहादुर थापालाई शिक्षामा महत्वूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष बामदेव सुवेदी, कोहलपुर नगरका अध्यक्ष विनोद भट्टराई लगायतको उपस्थिति रहेको थियो भने संगठनका सचिव निम प्रकाश थापाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।