क्रिकेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले भत्काइदिएपछि….

चितवन,धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले डोजर लगाएर भत्काइदिएका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार बुधबार बिहान स्थानीयले डोजर लगाएर भत्काइदिएका हुन्।

फाउन्डेसनले मंगलबार रंगशालाको जग्गालाई घेराबार लगाएको थियो। स्थानीय बासिन्दाले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेका थिए। फाउन्डेसनले रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आउन बाँकी रहेकोले डिपिआर आएपछि कुरा गर्ने बताएको थियो।

‘एक पटक पनि छलफल नगरी अराजक शैलीमा रंगशालाको बार भत्काइएको छ,’ फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ले सेतोपाटीसँग भने, ‘घटना दु:खद छ। डिपिआर आएपछि छलफल गर्ने भनेकै थियौं, अस्थायी बारबिना जानकारी डोजर लगाएर भत्काइदिनु भनेको अराजक काम हो।’

फाउन्डेसनले लगाएको करिब पाँच सय मिटर तारबार र विश्वविद्यालयले लगाएको बारमा पनि स्थानीयले डोजर लगाएका हुन्। रंगशालाको छेउको सडक अहिले सात मिटर चौडाको छ। स्थानीयले यो सडक थप चौडा बनाउन फाउन्डेसनले कम्तिमा १० मिटर छाड्नु पर्ने माग राखेका छन्।

तीन दिनअघि भएको छलफलमा धुर्मुसले डिपिआर आएपछि जग्गाबारे निर्णय लिन सकिने बताएका थिए। तर बुधबार स्थानीयले तारबार हटाइदिएपछि विवाद लम्बिएको छ।

‘रंगशाला निर्माणको काम भइराखेको छ। यहाँ लाखौंका सामान छ। डोजरहरू छ। सुरक्षाका लागि तारबार लगाएका थियौं,’ उनले भने, ‘एकपटक पनि नसोधी डोजर लगाउनु दु:खद छ। यो त विकासमा पनि अवरोध हो नि!’ यस्ता घटनाले रंगशाला बनाउनका लागि स्वदेश र विदेशमा रहेर सहयोग गर्नेहरुको पनि चित्त दुख्ने उनले बताए।

‘रंगशाला बनाउने जग्गाबारे हामीले मात्रै निर्णय लिन सक्दैनौं,’ उनले भने, ‘महानगरले के भन्छ। अरूले के भन्छन् सबैतिरबाट राय लिनुपर्ने हुन्छ। छलफलबाटै समाधान खोज्नु पर्नेमा अराजकता देखाइयो। म सधैं साइटमै बसेर काम गरिराखेको छु, यस्ता घटनाले दु:ख लागेको छ।’

साथै रंगशाला निर्माणका काममा खटिएका कर्मचारीलाई केही स्थानीयले धम्कीसमेत दिने गरेको उनले बताए। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीले रंगशालाको तारबारमा डोजर लगाउनेहरूलाई नियन्त्रणमा लिएको बताए। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहितका स्थानीयले तारबारमा डोजर लगाएका थिए।

‘तारबार भत्काउनेहरुलाई जिप्रका ल्याएका छौं,’ उनले भने, ‘सिडिओसाबको कार्यकक्षमा दुई पक्षलाई राखेर छलफल भइराखेको छ। घटना ठूलो होइन, सामान्य हो।’ रंगशाला निर्माणका लागि फाउन्डेसनले देशविदेशबाट सहयोग उठाइरहेको छ।