माओवादीको विधान अधिवेसन : के कस्ता छन् त सुझाव ?

काठमाडौं, नेकपा माओवादी केन्द्रले विधान सम्मेलनमा सुझाव लिन थालेको छ । नेताहरुले विधानमा कस्तो व्यस्था गर्ने भन्ने विषयलाई सुझाव दिन थालेका छन भने समूहगत रुपमा गरिएका छलफलको निष्कर्ष समेत आउन थालेको बताइन्छ ।

सुझाव संकलनको यो रफ्तारले के माओवादीले यो विधान सम्मेलनबाट ठूलो परिवर्तन गर्ला त ? काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी माओवादी केन्द्रको विधान सम्मेलनमा पदाधिकारीदेखि सबै पदहरुमा निर्वाचित हुनुपर्ने आवाज जोडतोडका साथ उठेको छ ।

कमिटी प्रणालीलाई प्रतिष्पर्धात्मक बनाउनु पर्ने भन्दै चलेको बहसले विधानमा स्थान पाउला ? त्यो भने हेर्न बाँकी छ । तर, माओवादीले मुख्यतः अहिले धेरै परिवर्तन खोजेको संकेत भने गरेको छ । विधान सम्मेलनमा सुझाव राख्ने अधिकांश नेताहरुले पार्टीको नाम फेर्ने, सानो र चुस्त कमिटी निर्माण गर्ने, चुनाव चिन्ह फेर्ने, वर्ग सत्रु र मित्र शक्ति तोकेर अघि जानेदेखि पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पद त्याग गरेर एकताको पहल गर्नुपर्ने विषय समेत उठेको छ । तर, के यस्ता विषय सुझावको रुपमा मात्रै आउने र विधान प्रचण्डले चाहेजसरी नै आउला ? यो भने चासोका साथ हेरिएको छ ।

के कस्ता छन् त सुझाव ?

१. पार्टीको नाम फेर्ने

नेताहरुले पार्टीको नाम फेर्नुपर्ने सुझाव दिइरहेका छन् । माओवादी नाममा सबैलाई गोलबद्ध गर्न नसकिने र समाजवादी बाटोमा जान यसले बाधा पु¥याउने भन्दै पार्टीको नाम नेकपा समाजवादी वा नेकपासहित कुनै राख्न सुझाव दिन थालिएको छ ।

२. चुनाव चिन्ह

गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्हसहित निर्वाचनमा होमिने गरेको नेकपा माओवादी केन्द्र अब चुनाव चिन्ह नै फेर्ने स्थितिमा पुगेको छ ।

चुनाव चिन्ह फेर्ने विषय पहिले पनि उठेको थियो । तर, नेताहरुले अहिलेको चुनाव चिन्ह र युद्धको विषय जोडिने भय रखेर यसलाई फेर्नुपर्ने आवाज उठाउदै आएका छन् ।

३ निर्वाचित कमिटी

पार्टीका हरेक कमिटी निर्वाचित भएर आउनुपर्ने र निर्वाचनका लागि मतदाता छान्ने विषय पार्टी सदस्यलाई मान्ने सुझाव देखिएका छन् ।

पार्टी सदस्यताका लागि सुझाव दिएकाहरुले पार्टी सदस्यता सहज दिने व्यवस्था मिलाउनुपर्ने र यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने र अनलाइन माध्यमबाट नविकरण समेत गर्न मिल्ने गरि काम गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

४. वर्ग शत्रुको पहिचान

माओवादी केन्द्रभित्र वर्गिय मुद्दालाई बिर्सिएका कारण नै समस्या पैदा भएको विषयले प्रमुख स्थान पाइरहेको छ । यसकारण पार्टीले जोसँग पनि सहकार्य गर्ने, गठबन्धन गर्ने गर्नाले माओवादीको स्थिति नाजुक बन्दै गएकाले अब वर्ग सत्रु र मित्र शक्ति तोकेर अघि बढ्नुपर्ने आवाज उठेको छ ।

यसअघि माओवादी केन्द्रले वर्गसत्रुको रुपमा पार्टीलाई नै चित्रित गर्ने गर्दथ्यो र मित्रशक्तिसँगको सहकार्यको विषय समेत समावेश गर्ने गरिन्थ्यो ।

५. वामपन्थी एकताको पहल

पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पद छाडेर आफ्नो नेतृत्वमा वामपन्थी एकतालाई जोड दिदै समाजवादको लक्ष्यमा पुग्ने बाटो तय गर्नुपर्ने सुझाव समेत आएको छ । नेताहरुले प्रचण्डले एकताको नेतृत्व गर्दै समाजवादको बाटोलाई प्रष्ट पार्नुपर्ने आवाज उठाएका छन् ।

६. चुस्त र छरितो पार्टी कमिटी

पार्टीको जनाधार घट्दै जाने तर नेताहरुको सूची बढ्दै जाने कारण समस्या पैदा भएको भन्दै सानो, चुस्त र छरितो किसिमको पार्टी संरचना बनाउने आवाज उठेको छ ।

केहिले त स्थायी समिति नै खारेज गर्ने र पदाधिकारी पनि नराख्ने सुझाव पेश गरेका छन् । अध्यक्षपछि शक्तिशाली सचिवालय र केन्द्रिय कमिटी राख्ने र यसलाई चुस्त र छरितो बनाउनुपर्ने सुझाव बलियो ढंगले उठेको छ ।

७. शहर केन्द्रित संगठन विस्तार

रोल्पा, रुकुम र गोरखाको नजरबाट मात्रै माओवादी आन्दोलन र राजनीतिलाई हेर्ने स्थितिको अन्त्य गर्दै विज्ञान प्रविधिको उपयोगसहित शहर केन्द्रित र धेरै जनसंख्या भएको क्षेत्रमा विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव समेत आएको बताइन्छ ।

माओवादीको शहरमा कमजोर संगठन भएकै कारण नतिजामा धक्का लाग्ने गरेको बुझाई स्थापित बन्दै गएको छ ।

यसरी माओवादी केन्द्रको विधान सम्मेलनमा विभिन्न सुझाव आउनेक्रम चलेपनि माओवादी केन्द्रले के विषयलाई समेटेर जाने भन्ने निषकर्ष भने निकालिसकेको छैन् । फागुन ३ अर्थात बिहीबार मात्रै यसबारे टुंगो लाग्ने र माओवादी केन्द्रले विधानमा यस्ता विषय समेटेर पारित गर्ने बताइएको छ । यो विधान विशेष महाधिवेशनपछि लागू हुने समेत बताइएको छ ।