धुन्धुकारी अमरेशका धन्दै धन्दा

काठमाडौं । कुरा हो, एकताका हाकाहाकी भारतीय प्रधानमन्त्री कार्यालयलाई सीधै रिपोर्टिङ गर्छु भनी हिँड्ने अमरेशकुमार सिंहको । मन्त्रीको आश गरे, भएनन् । पैसा मागे, पाएनन् । मोबाइलसम्ममा झरे, त्यो पनि मिलेन । त्यसपछि गाली–गलौजमा उत्रिएको भनी बालुवाटारमा दिनदिनै चर्चा हुने गरेको छ ।

प्रधानमन्त्रीबाट अपेक्षा गरेमध्ये केही नमिलेर रहेछ अमरेशले उहाँकी छोरी गंगाविरुद्ध खनिँदै एनसेललाई मुद्दासम्म हाल्न पुगेको । उनले छोरीको संदिग्ध व्यापारीसँग साँठगाँठ रहेको भनेपछि प्रेस विज्ञप्ति नै निकालेर प्रधानमन्त्रीको सचिवालयका तर्फबाट त्यसको प्रतिवाद भएको थियो । बालुवाटारस्रोतले जनाएअनुसार एकपछि अर्को गर्दै प्रस्तुत माग पूरा गरिदिन सम्भव नहुँदा उनले त्यस्तो बोलेका हुन् ।

कांग्रेसले टिकट नदिएपछि सर्लाहीमा स्वतन्त्र उठी जितेका उनी गत वर्ष मन्त्रिपरिषद्ले पूर्णता पाउनुअघि दिनहुँ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयदेखि बालुवाटारसम्म धाइरहेका हुन्थे । त्यो क्रम पछिसम्म चल्यो । तर, प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेकी प्रमकी छोरी गंगा दाहाल र रमेश मल्लहरूले तीन महिनादेखि उनलाई रोक्न थाले । मन्त्रिपरिषद्ले पूर्णता पाउनुअघि उनैले प्रचण्डको देवत्वकरण गर्दै बोल्ने गरेका थिए । त्यसपछि आलोचना गर्न थाले । त्यसपछि पनि प्रधानमन्त्रीसँग भेट हुने  गरेकै थियो । पछिल्ला भेटमा भने विषय हुन्थ्यो पैसाको । शुरुमा यताउता खर्च चलाउन २५ लाख मागेका थिए ।

प्रधानमन्त्रीले ‘मिलाएर दिने गरी त्यस्तो केही गरिएन, त्यसैले गाह्रो छ’ भन्नुभयो । त्यसपछि उनी २५ बाट झरेर २० लाखमा पुगे । त्यो पनि दिइएन । अन्तिममा १० लाखसम्म झरेका थिए । प्रधानमन्त्रीले ‘अबदेखि यस्तो कुरा लिएर आउँदै नआउनुस्’ भनेपछि पैसाकै कुरा त निकाल्न छाडे । भेट्न भने गइरहन्थे । उनले आफूलाई भारतको सबभन्दा विश्वासिलो व्यक्तिका रुपमा दावी गरेका थिए । प्रधानमन्त्रीले आफ्नो च्यानलबाट बुझ्नुभयो ।

पछिल्लो कालमा त्यो दावी गलत रहेछ । त्यसपछि वास्ता गर्न छाड्नुभयो । हुँदाहुँदा छोरीले ढोकामै रोकेपछि रन्थनिएर उनकै बारे प्रमाण जुटाउन थाले । अमेरिकाबाट फर्किएपछि संसद भवनमा भेटिँदा गंगासँग आइफोन १५ प्रोम्याक्स मोबाइल सेट मागे । आफूले चलाइरहेको सेट दिने कुरा भएन, अलग्गै किनेर पनि दिइनन् । यसरी मन्त्री, पैसा र मोबाइलसम्ममा कुरा नमिल्दा  अमरेश बिच्किएको भनी कोर टिममा छलफल हुने गरेको छ ।

प्रधानमन्त्रीबाट‘केही नहुने’भएपछि आक्रमण सोझियो एनसेलतिर । एनसेल कम्पनीको बिक्री प्रकरणसम्म आउँदा संसदीय समितिमा मात्रै चर्को स्वर गरेनन्, भ्रष्टाचारविरुद्धका अभियन्ता कनकमणि दीक्षितलाई घरमै भेटेर सरसल्लाह गरे । त्यसपछि अदालतमा मुद्दा हाल्न सर्वोच्च पुगे । जन आस्थाबाट ।