कफी पिउनुस यस्ता छन् कफीका फाइदा

केही मानिसमा ऊर्जा प्राप्त गर्नका लागि चिया र कफीको आवश्यकता पर्छ। बिहान उठ्ने वित्तिकै मानिसमा कफीको आवश्यकता पर्न सक्छ। अफिसमा पुरै दिन बसेर काम गर्दा होस् अथवा अवेर रातिसम्म अनिदो बस्दाहोस्, मानिसले कफीको सेवन गर्छन्। केही रिपोर्टले कफीको सेवनलाई हानिकारक पनि भनेका छन्। स्वास्थ्य विशेषज्ञका अनुसार कफीमा क्याफिन हुन्छ। त्यसैले कफीको अधिक सेवनले शरीरमा समस्या पैदा गर्ने जोखिम हुन्छ।

एक अनुमान अनुसार विश्वभर प्रतिदिन मानिसहरूले लगभग २.२५ बिलियन कप कफी पिउँछन्। तर, एउटा अध्ययनले कफीको सही सेवनले शरीरमा केही गम्भीर रोगबाट जोगिनसमेत लाभ मिल्छ।

धेरै मानिसहरु कफीको साथमा आफ्नो दिनको सुरुवात गर्छन्। कफीले एकाग्र हुन मद्दत गर्छ भन्ने कतिपयको विश्वास छ भने कतिपयले कफी पिए शरीरलाई जाँगरिलो बनाउँछ भन्ने गर्छन्। जे होस् कफी धेरैको मनपर्ने पेय पदार्थ हो।

शरीरलाई ऊर्जावान बनाउनुका अतिरिक्त पनि कफी धेरै सम्भावित स्वास्थ्य लाभको लामो सूचीसँग जोडिएको छ। त्यसले पनि जो कोहीलाई कफी पिउन थप उत्साह दिएको छ। के-के छन् त कफी पाउनु फाइदा?

१. शरीरमा उर्जा बढाउँछ

कफीमा क्याफेन नामक पदार्थ हुन्छ। जसले केन्द्रीय स्नायु प्रणालीलाई नै उत्तेजक बनाउँछ। क्याफेनमा शरीरमा थकान घटाउने र शरीरमा उर्जा प्रदान गर्ने क्षमता रहेको हुन्छ।

क्याफेनले एडेनोसिन भनिने न्युरोट्रान्समिटरको रिसेप्टरहरुलाई रोक्ने तथा शरीरमा उर्जाको स्तर नियमन गर्ने डोपामिनलगायतका केमिकल बढाउने भएकाले यसको सो गुण देखिएको हो।

एक अध्ययनले साइक्लिङका क्रममा क्याफेनको सेवनले सहभागीहरुमा उल्लेखनीय रुपमा थकान कम भएको देखाएको थियो। अर्को एक अध्ययनमा पनि यस्तै किसिमको नतिजा देखिएको थियो। जसमा गल्फ खेल्नुअघि तथा खल्दै गर्दा क्याफेनको सेवन गर्दा सहभागीहरुको प्रदर्शनमा सुधार भएको थियो भने शरीरमा उर्जा बढ्नुका साथै थकान कम भएको पाइएको थियो।

२. मधुमेहको जोखिम कम गर्छ

केही अध्ययनहरुले नियमित रुपमा कफी सेवन गर्नाले टाइप-२ मधुमेहको जोखिम कम गर्न सक्ने देखाएको छ। ३० वटा फरक-फरक अध्ययनको समीक्षा गर्दा हरेक पटक पिइने एक कप कफीले टाइप-२ मधुमेह हुने सम्भावनालाई करिब ६ प्रतिशतले कम गर्न सक्ने देखिएको थियो।

कफीले प्यान्क्रियाजको ‘बेटा सेल’लाई सुरक्षित गर्छ। प्यान्क्रियाज यस्तो ग्रन्थी हो जसले इन्सुलिन नामक हर्मोन उत्पादन गर्छ। र, इन्सुलिनले नै शरीरमा चिनीको मात्रालाई नियमन गर्छ।

३. मस्तिष्कलाई स्वस्थ राख्छ

विभिन्न अध्ययनहरुमा मिश्रित नतिजाहरु देखिएको भएपनि केही अनुसन्धानमा कफीले अल्जाइमर्स र पार्किन्सन्स रोग जस्ता न्युरोडिजेनेरेटिभ डिसअर्डरहरुबाट बचाउन सक्ने देखिएको छ।

१३ वटा अध्ययनको समीक्षामा नियमित कफी सेवन गर्नेहरुमा पार्किन्सन्स रोग विकास हुने सम्भावना कम रहेको देखिएको थियो। त्यस्तै, कफी पिउनाले पार्किन्सन्स रोग थप बढ्न रोकिने पनि देखिएको थियो।

२९ हजार जनाभन्दा बढीमा गरिएको ११ वटा अवलोकन अध्ययनको अर्को समीक्षामा जति धेरै कफी पियो त्यति नै अल्जाइमर्स रोगको जोखिम कम हुने देखिएको थियो।

त्यसैगरी, केही अध्ययनले मध्यम रुपमा गरिने कफी सेवन डिमेन्सियाको जोखिम घट्नुसँग जोडिएको हुन सक्ने देखाएको थियो।

४. शरीरको तौल घटाउन मद्दत गर्छ

केही अध्ययनहरुमा कफीले शरीरमा बोसो जम्न कम गर्न सक्ने तथा पेटको स्वास्थ्यलाई बलियो राख्न सक्ने देखिएको छ। यी दुवै कुरा शरीरको तौल व्यवस्थापनमा फाइदाजनक मानिन्छ।

उदाहरणको लागि १२ अध्ययनहरुको एक समीक्षाले बढी कफी पिउने मानिसहरु विशेषगरी पुरुषको शरीरमा बोसोको मात्रा कम भएको देखाएको थियो। अर्को एक अध्ययनमा कफी पिउने महिलाहरुको शरीरमा बोसो कम भएको पाइएको थियो।

यसबाहेक एक अध्ययनले दिनमा एक वा दुई कप कफी पिउने मानिसहरु नपिउनेको तुलनामा १७ प्रतिशत बढी शारीरिक रुपमा सक्रिय रहने गरेको देखाएको थियो। शारीरिक गतिविधि बढी हुँदा स्वतः शरीरको तौल व्यवस्थापन हुने गर्छ।

५. डिप्रेसनको जोखिम कम गर्छ

केही अध्ययनहरुले कफी पिउने बानी डिप्रेसनको जोखिम कम हुनुसँग जोडिएको हुन सक्ने देखाएको छ।

सात अध्ययनहरुको एक रिभ्यूका अनुसार दैनिक पिइने प्रत्येक कप कफीले ८ प्रतिशतसम्म डिप्रेशनको जोखिम कम गर्छ।

अर्को एक अध्ययनमा दिनमा कम्तिमा चार कप कफी पिउँदा डिप्रेसनको जोखिम उल्लेखनीय रुपमा कम हुने देखिएको छ।

६. कलेजोको सुरक्षा गर्छ

धेरै अध्ययनहरुले कफीमा कलेजोलाई स्वस्थ राख्न मद्दत गर्ने र विभिन्न रोगहरुबाट बचाउने गुण रहेको देखाएको छ।

एक अध्ययनमा दिनमा दुई कप भन्दा बढी कफी पिउँदा कलेजोको समस्या भएकाहरुमा कलेजोको क्यान्सर हुने सम्भावना १५ प्रतिशत र दिनमा चार कप कफी पिउँदा ७१ प्रतिशतले कम हुने देखिएको छ।

अर्को एक अनुसन्धानमा कफी सेवनले कलेजोको कडापन घटाउन मद्दत गर्ने देखिएको थियो। फाइब्रोसिस हुनबाट रोक्न पनि यसले सहयोग गर्ने विश्वास गरिएको छ।

७. मुटुलाई स्वस्थ राख्छ

विभिन्न अध्ययनहरुमा कफीको सेवनले मुटुलाई फाइदा पुग्ने देखिएको छ।

एक अध्ययनले दिनमा ३ देखि ५ कप कफी पिउँदा मुटुको रोग हुने सम्भावना १५ प्रतिशतले कम हुने देखाएको छ।

२१ वटा अध्ययहरुको एक समीक्षामा दैनिक ३ देखि ४ कप कफी पिउनाले स्ट्रोकको जोखिम २१ प्रतिशतले कम हुने पाइएको छ।

२१ हजार जनामा गरिएको एक अध्ययनले कफी सेवन बढाउँदा मुटु फेल हुने सम्भावना उल्लेखनीय रुपमा घटेको देखाएको छ।

यद्यपि, कफीले रक्तचापलाई प्रभाव पार्न सक्छ। त्यसकारण रक्तचाप असामान्य भएका व्यक्तिहरुले भने कफीको सेवन कम गर्नु पर्छ या मध्यम रुपमा मात्रै कफीको सेवन गर्नुपर्छ।