पहिचानको मुकुटमा ज्युदो मुर्दा

यो दुनियाँका सबैभन्दा मूर्ख मानिसहरु ती हुन जसले वर्गीकरणको सिद्धान्त प्रतिपादन गरे । अखण्ड पद्धतिलाई खण्ड-खण्डमा बिभक्त गरे । सनातन अखण्ड सृजनालाई अनगिन्ती खण्डमा टुक्र्याइदिए । अनि अट्टाहस गर्दै आफ्नो छाती पिटेर भने ‘हामीले स्वर्णिम सभ्यताको निर्माण गर्‍यौँ ।’

वास्तवमा उनीहरुले कहाँ त्यो सभ्यताको निर्माण गरेका थिए र ? बरु उनीहरुले त त्यसलाई विध्वंस बनाइदिए । त्यो सुन्दर सृजनालाई रुग्न बनाइदिए । त्यो पुर्ण इतिहासलाई भग्न बनाइदिए । तर ती प्रतिपादनकर्ताहरु ठिक त्यसरीनै हाँसे जसरी एक मगज खुस्किएको धनपतिले आफ्नै महलमा आगो लगाएर भन्छ ‘मैले त्यो काम गरेँ जुन काम सृष्टिले गर्नै सकेको थिएन ।’

आज हामी हाम्रो आँखा वरिपरिको समाज र सभ्यतालाई जब नियाल्छौँ तब त्यहाँ पाउँछौँ एक दरिद्र मानसिकताको बीभत्स परिदृश्य । हामी पाउँछौं एक कुरुप प्रकृतिको अट्टाहस । अनि हामी पाउँछौँ एक भग्न हृदयहरुको सभा । बस् हामीले यहाँ अरु केही पाउँदैनौँ जीवन र जगतप्रतिका बितृष्णित भावनायुक्त मृत हृदय बाहेक । यहाँ जिउँदा जिन्दगी भन्न लायक कोहि छैनन् ती आकाशमा विचरण गर्ने पंक्षी र जंगलमा रहने जनावर बाहेक । किनकी उनीहरुको कुनै खण्ड छैन, कुनै सम्प्रदाय छैन, कुनै जाति या वर्ग छैन । यहाँसम्मकी उनीहरुको कुनै राजनीति पनि त छैन । जब उनीहरुको केही छैन त्यसैले उनीहरुको सबथोक छ । सबैभन्दा उत्तम कुरा त उनीहरुसँग सुन्दर जीवन छ । त्यसैले ती जनावर र पंक्षीहरु वास्तवमा जिउँदा छन तर मानिसको सभ्यता पुर्णतः मृत छ । उनीहरु केही नगरेर सजीव छन तर मानिस सबथोक गरेर पनि निर्जीव छ ।

सतही रुपले हेर्दा बिबिधताले सौन्दर्य दिएको छ तर अलिक गहिरिएर अवलोकन गर्ने हो भने यहाँ भित्र त्यतिनै रुग्णता र भग्नता छ जति शरीरको समग्रताबाट अलग्गिएका अंगहरुमा हुने गर्छ । यसकारण यहाँ वर्गीकरणको सैद्धान्तिक आविष्कार गर्ने आदिम टाउको कोहि थियो भने उ केवल यी भग्नता र रुग्णताको जिम्मेवार छ ।

एकपटक सोच्नुहोस् त ! यो नेपाल भन्ने भुमी भित्रका यी तीन करोड जनसंख्यामा १२६ जातीको निर्माण कसरी भयो होला ? समग्र बिश्वको ०.०३ प्रतिशत जति मात्रै भुमिमा समेटिएको यहि सानो अंश जुन समग्र धर्तिको अनुहारमा आउने एक खटिरा जत्रो पनि छैन तर यसैभित्र निहित १२६ जाती अनि बिबिध धर्म कसरी बने ? र एकपटक कल्पना गर्नुहोस्, दिमाग घुमाउनुहोस्, टाउको चिसो बनाउनुहोस् अनि सोच्नुहोस् कि यदि यी सबै खण्डहरु नहुँदा हुन त हाम्रो सभ्यता कस्तो हुने थियो होला ? सोच्नुहोस् यदि यहाँ कोहि हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन, जैन या यस्तै अन्य-अन्य धर्म सम्प्रदाय हुँदैनथे भने यो सभ्यता कस्तो हुने थियो ? यदि यहाँ धनको होड चल्दैनथ्यो भने यो सभ्यता कस्तो हुने थियो होला । तपाईंले तर्क गर्नुसक्नुहुन्छ कि यदि त्यसो हुँदैनथ्यो भने यो विल्कुल बेरङ्गको र बेढंगको हुनेथियो । अनि भन्नुहोला सात पृथक रंगको कारण त इन्द्रेणी सुन्दर हुन्छ । यदि मानिसमा पनि पृथकता हुने थिएन भने मानव सभ्यताको सौन्दर्य कहाँ ? यदि तपाईंको तर्क यसो हुने छ भने यो विल्कुल सहि छैन ।

यथार्थ हो बिबिधतामा सौर्न्दर्य हुन्छ तर यसो भन्दैमा पनि आफ्नो शरीरको अंगलाई काटेर त्यसलाई रोगन गर्दैमा शरीर सुन्दर त हुन सक्दैन नि । ठिक त्यस्तै हुन मानव सभ्यताका प्रत्येक टाउका पनि । जस्तो एक शरीरको प्रत्येक अंग हुने गर्छन । सतही रुपले हेर्दा बिबिधताले सौन्दर्य दिएको छ तर अलिक गहिरिएर अवलोकन गर्ने हो भने यहाँ भित्र त्यतिनै रुग्णता र भग्नता छ जति शरीरको समग्रताबाट अलग्गिएका अंगहरुमा हुने गर्छ । यसकारण यहाँ वर्गीकरणको सैद्धान्तिक आविष्कार गर्ने आदिम टाउको कोहि थियो भने उ केवल यी भग्नता र रुग्णताको जिम्मेवार छ । उ सुन्दर सभ्यताको जनकको रुपमा सम्मानित हुन भन्दा धेरै यसलाई जिर्ण बनाएर वितृष्णित भएका प्रत्येक हृदयको क्रोध र क्रन्दनको जिम्मेवार छ । उ धन्यको पात्र होइन उ केवल पापको पात्र हो । धर्मको पात्र होइन अधर्मको पात्र हो अनि उसले अस्तित्वको काम गरेन वरु सैतानको काम गर्‍यो । यसैले उ तिरष्कृत हुन योग्य छ । हुनसक्छ सैतान भन्ने कुनै तत्व छैन तर हामी यसलाई एक कुरुप प्रवृत्तिको रुपमा मानौँ ।

सबैभन्दा भन्दा पहिला यो पृथकिकरणको जनक हिन्दु सभ्यताको कुरुप कदमबाटै आलोचनात्मक बिचारको अनुष्ठान गर्दछु । हामी जुन सभ्यतालाई निकै पुरानो सभ्यता मान्दछौँ अनि जुन सभ्यतालाई समग्र सभ्यताहरुको आदिम जनक मान्दछौँ त्यही सभ्यताले मानिसका टाउकाहरुमा पृथकताको मुकुट पहिर्‍यायो जुन आजसम्म उतार्न सकेका छैनन् । इतिहासमा ताकतवर भन्दा ताकतवर राजा महाराजा सम्राटहरुको अस्तित्व उदित थियो जसका मुकुटहरु उत्रीए अनि अस्तित्व मेटियो । तर हिन्दुवादले लाएको यो वर्गीकरणको मुकुट कुन्नी कुन धातु र कुन रसायनबाट बनेको हो जुन आजपनी उतार्न सकेनन् मानिसहरुले । यो निकै कुरुप छ अनि तिरस्कारको योग्य छ ।

छुवाछूतले पाराकाष्ठा नाघ्यो, मानवता जिर्ण भयो हिन्दुहरुका अशिक्षित पण्डित हरुको कारण । अब त्यतिले पुगेको थिएन थप संसारभर धर्मका नाममा अनेक सम्प्रदायहरुको जन्म भयो ।

हिन्दुवादले बिभाजन गर्‍यो मानिसलाई चार वर्णमा । ती आदिम चार वर्ण हुन ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र । तर आज ती चार वर्णले पनि छोराछोरी, नातिनातिना पाएर नेपाल जतिको सानो परिधिमा पनि १२६ जात भैसकेछन । कस्तो अचम्म ! हिन्दुवादले मानिसमाथी लाएको मुकुट समेतले छोराछोरी पाउँछ । छोराछोरी पायो त ठिकै थियो तर त्यसले निम्त्याएको दुर्गम दुष्कर प्रभाव आहा: भन्न योग्य भएन बरु छ्या: भन्न योग्य भयो । र आजसम्म मानिसले भनिरहेका पनि त्यही छन । कारण यो वर्गीकरण सहि थिएन । यसको श्रेय हिन्दुवादलाई भन्दा पनि अझ उसलाई जान्छ जसलाई हिन्दुहरुले आदिपुरुष माने र नाम दिए ‘मनु जि महाराज’ । ती नाम चाहिँ महाराजको पाउने तर काम डाँकुको गर्ने मनु जि को कारणनै वैद्विक समाजले मानिस पाएन बरु ब्राह्मण, क्षत्रीय, वैश्य, र शुद्र नामका मृत शवहरु पायो । के समाजमा मानिस मात्रै हुन पर्याप्त थिएन र यसलाई चार वर्णमा बिभाजन गर्नुपर्ने ? ईश्वरको महिमाको जयजयकार गर्ने हिन्दु समाजले यो किन बुझेन कि यदि ईश्वर भन्ने तत्व छ भने सम्पुर्ण मानिस र सम्पुर्ण सृष्टि उहि ईश्वरको सृजना हो । अनि एक पिताका सन्तानमा जात कहाँबाट आउँछ ? भयो यस्तो कि हिन्दुवादले ज्ञानी उब्जाएन केवल पण्डित उब्जायो । पण्डितले शास्त्र उच्चारण गर्न जाने तर अर्थ लाउन जानेनन् । जसको फलस्वरूप आज मानिस मानिस रहेन, रुग्न, भग्न, वितृष्णित, निराश एक शवको प्रतिमुर्ति बन्यो ।

छुवाछूतले पाराकाष्ठा नाघ्यो, मानवता जिर्ण भयो हिन्दुहरुका अशिक्षित पण्डित हरुको कारण । अब त्यतिले पुगेको थिएन थप संसारभर धर्मका नाममा अनेक सम्प्रदायहरुको जन्म भयो । हिन्दु पनि धर्म होइन यो एक सम्प्रदाय हो, एक सभ्यता हो । न क्रिश्चियननै धर्म हो । न मुस्लिम, न बौद्ध, न जैन अनि न अरु केहिनै धर्म हो । यी त धर्म नजानेका पाखण्डहरुको सृजना हो जसले अर्को एक भ्रान्ती फैलायो कि धर्मको पनि कुनै नाम हुन्छ र मानिसको पनि कुनै छुट्टै धर्म हुनसक्छ । यसको कारण अब वैश्विक रुपमा मानिस केवल मानिस रहेन । अब उ हिन्दु भैसक्यो, बौद्ध भैसक्यो, इसाई भैसक्यो, मुस्लिम, शिख, जैन केके भसक्यो । तर मानिस भएन । मानिस नामको प्रकृतिको सुन्दर हिरा कति टुक्रामा बिभक्त भयो ? अब म त्यसको हिसाब लगाउन सम्म समर्थ छैनँ । म केवल यहि भन्न समर्थ छु कि यो जे भयो राम्रो भएन । यसको कारण यहाँ जिउँदो कोहि छैन सबै मुर्दा मानिस छन ।

जसले जातको नाम दियो उहि पाखण्ड थियो । जसले धर्मको नाम दियो उहि पाखण्ड थियो । जसले वर्गको परिकल्पना गर्‍यो उ पनि पाखण्ड । र यो अनेक पाखण्डताको भिडबाट उ पनि अछुतो छैन जसले राजनीतिको शिलान्यास गर्‍यो । यी सबै पाखण्डहरुको योग बाट मानिस भित्रको मानिस बियोग भयो र जीवनको अस्तित्व नष्ट भयो । यसर्थ यो संसार केवल एक चिहान बन्यो ।

के जात र धर्म नै कम थियो र फेरि राजनीतिको आविष्कार भयो ? के तिनै अन्तरजातीय, अन्तरधार्मिक संघर्षनै कम थियो र फेरि राजनीतिक संघर्षको प्रतिपादन भयो ? यो पनि एक पृथकिकरण थियो । आदिकालदेखी आधुनिक कालसम्मका मानिसमाथी थोपरिएका अनगिन्ती झुटका आवरण र पहिचानका मुकुटहरु थिए ती मध्यको अर्को एक मुकुट थपियो राजनीति । आज प्रत्येक दैलोलाई म नियाल्छु र त्यसको भित्र रहने अनुहारमा पढ्छु र पनि म त्यहाँ मानिस पाउँदिन । त्यहाँ मानिस बाहेक सबथोक छन, सब चिज छन तर मानिस छैनन् । विश्वको अंग राष्ट्र र राष्ट्रको सबैभन्दा सानो अंग गाउँ । तर त्यही गाउँभित्र ती सब थोक छन, जुन समग्र विश्व भित्र हुन्छन । तर त्यहाँ पनि मानिस पाइदैनन् मुर्दा पाइन्छन । एक गाउँमा हिन्दु, बौद्ध, क्रिश्चियन, मुस्लिम जैन केके पाइन्छन् । एकै गाउँमा ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र पाइन्छन् । या छुत पाइन्छन या अछुत । या धनी पाइन्छन या गरिब । प्रत्येक घरमा या प्रजातन्त्रवादी पाइन्छन या कम्युनिस्ट । कांग्रेस, माओवादी, एमाले, समाजवादी, राप्रपा केके पाइन्छन केके । तर त्यहाँ अहँ मानिस पाइदैनन् । सबै पृथकता र पहिचानका मुकुट, मुखौटा आवरणमा यसरी गुम्सिएका छन कि चालै नपाइ कतिबेला उनीहरु भित्रको मानिस मरिसक्यो । मात्रै मुर्दा बाँकी छ । जिउँदो कोहि छैन लास बाँकी छ ।

एक नजर विज्ञानको धारणा तर्फ पनि दिउँ । चार्लस डार्विनको क्रम विकासको सिद्धान्त अनुसार मानिस बाँदरबाट विकसित भयो जसलाई आर्डिपिथिकस रेमिडल्स भनिन्छ । अनि त्यो बाँदर पनि माछाबाट विकसित बनेर आयो । अब बिचारनिय कुरा, के एकै किसिमको माछाबाट विकसित हुँदा बाँदरले जात, धर्म, वर्ग र राजनीति जस्ता कुराहरुको पहिचानको चाङ बोकेर आएको हो र ? अनि के बाँदरबाट रुपान्तरण हुँदै गर्दा मानिसले यी सबै पहिचानहरु बाँदरबाटै ल्याएर आयो र ? अहँ यसो कदापि हुन सक्दैन । ढुङ्गे युग, जहाँ मानिससँग कुनै आविष्कार थिएन, कुनै पहिचान थिएन, तब केवल त्यहाँ मानिस एक मानिस थियो । न उ हिन्दु थियो, न बौद्ध, क्रिश्चियन, शिख, जैन, इस्लाम या अन्य कुनै । त्यहाँ कोहि ब्राह्मण थिएन, कोहि क्षत्रीय थिएन, कोहि वैश्य थिएन र त्यहाँ कोहि शुद्र थिएन । त्यसैले त्यहाँ कोहि छुत थिएन र कोहि अछुत पनि थिएन । त्यहाँ कुनै धर्म थिएन । त्यहाँ कोहि धनि थिएन र कोहि गरिब पनि थिएन । त्यहाँ न कोहि सुन्दर थियो न कुरुप । न कोहि दक्षिणपन्थी थियो न कोहि बामपंथीनै । त्यहाँ केवल जीवन थियो, केवल मानिस थियो अनि केवल एक चिज थियो ‘सौन्दर्य ।’

तर आज मानिस भित्र मानिस जिउँदो छैन । थाहा छैन कतिबेला पो उ पहिचान र पृथकताको बोझले थिचिएर मरिसक्यो । आजपनी हरेक खुट्टा आफ्ना टाउका बोकेर दौडिरहेका छन परिवर्तन गर्न । के खाक परिवर्तन गर्नेहुन ? जहाँ मानिसनै जिउँदो छैन । किनकी यी सबै वर्गीकरणका पृथक पहिचानले मानिस मुर्दा भैसकेको छ र जसको जिम्मेवार छ वर्गीकरणको सुरुवात गर्ने आदिम पाखण्ड । जसले जातको नाम दियो उहि पाखण्ड थियो । जसले धर्मको नाम दियो उहि पाखण्ड थियो । जसले वर्गको परिकल्पना गर्‍यो उ पनि पाखण्ड । र यो अनेक पाखण्डताको भिडबाट उ पनि अछुतो छैन जसले राजनीतिको शिलान्यास गर्‍यो । यी सबै पाखण्डहरुको योग बाट मानिस भित्रको मानिस बियोग भयो र जीवनको अस्तित्व नष्ट भयो । यसर्थ यो संसार केवल एक चिहान बन्यो । मानिस केवल मानिस रहेन पहिचानको मुकुट पहिरेको एक ज्युदो मुर्दा बन्यो । मानिस बनेर जिउँनलाई कुनै पहिचान चाहिदैन मात्रै मानिस बन्न जरुरी छ । त्यसैले त्याग्नुस सबै मुकुट, मुखुण्डा र आवरणहरु अनि बाँच्नुस प्रकृतिको एकमात्र सौर्न्दर्य भएर । मानिस भएर ।