कोरोना अवधिको शिक्षण शुल्कमा ५० प्रतिशत छुट गर्न क्रान्तिकारीको माग

काठमाडौं, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कोरोनो महामारी अवधिको शिक्षण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ ।

अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको पूर्ण बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्न काठमाडौंको रिपोर्टस क्लबमा आईतबार आयोजित पत्रकार सम्मेलनको क्रममा कोरोना महामारीको समयमा शिक्षण संस्थाहरुले लिइने शिक्षण शुल्कमा कमतिमा ५० प्रतिशत छुटको व्यवस्था गर्न संगठनले माग गरेको छ।

पत्रकार सम्मेलनमा संगठनको २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसेको पूर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन कास्कीको पोखरामा गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ ।

समितिका संयोजक ढकालले असोज ६, ७ र ८ गते पोखरामा राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको बताए । ढकालले बैठकले ४ वटा महत्वपुर्ण निर्णय गरेको भन्दै २२ औं राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरु गठन गरेको बताए ।

ढकालले शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजिवीकासँग सम्बधित विषयहरुमा संघर्ष केन्द्रित गर्ने बताए । कक्षा ११ र १२ कक्षाका परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेको छ।