कर्णालीका चार नेतालाई उपचुनाव भए जिताउने जिम्मा मेरो भयोः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन व्यक्त गरेका छन् ।महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन् ।

उनीहरुमध्ये एक अम्बरबहादुर थापा उपस्थित कार्यक्रममा नेता नेपालले चार सांसद गलत कुराविरुद्ध उभिएको बताएका छन् ।यसले प्रदेशसभा सदस्य पद धरापमा परेको भन्दै उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’

पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने बताए । नेता नेपालले भने, ‘अँध्यारो सुरुङमा जाने वाला छैनौं । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई माथ गरेर नै अगाडि बढ्नेछौं ।’