एमाले स्थायी कमिटी बैठक शुरू

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । दिउँसो ३ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो ।

जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तय गरिसकेको छ। स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुनेछन् ।

संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ। आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने सो पक्षको अडान छ । पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको नेपाल पक्षकै आग्रहमा हिजो बस्नेगरी बोलाइएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक एक दिन सारिएको थियो।

नेपाल पक्षले भने सहमति गर्न पर्याप्त छलफल आवश्यक भएकाले केही दिन बैठक स्थगित गरेर दुवै पक्षबीच संवादमा जोड दिन आग्रह गरेको छ।