क्रिकेट व्यवस्थापनमा सफल भए मात्र राजनीतिमा आउँछुः पारस खड्का

काठमाडौं,नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने जनाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ । यो चुनौतिपूर्ण छ ।’

उनले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको पनि सुनाए । क्रिकेटको क्षेत्रभन्दा टाढा नरहने उनले बताए । आफ्नो पहिलो प्राथमिकता क्रिकेट नै रहेको बताउँदै उनले भने, ‘राम्रो अवसर आयो भने राजनीतिमा पनि हुनसक्छु ।’