काठमाडौँमा यातायात व्यवसायीहरुले निकाले र्‍याली

भाडा समायोजन र कोरोनाको खोप माग

काठमाडौं,कोरोनाविरुद्धको खोप र भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् । व्यवसायीहरुले बिहीबार बिहान आफ्ना सवारी यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ ।

र्‍यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन देखिन्छ । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या पनि देखिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न,नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले २०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलनमा उत्रिनु परेको बताए । ‘कि २०६९ सालमा भाडा समायोजन गर्दा भएकै पेट्रोल–डिजेलको मूल्य कायम गर्नुपर्यो कि भने वैज्ञानिक भाडा समायोजन गर्नुपर्यो,’ उनले भने । संघ सरकारले अन्तर प्रदेशको यातायातको भाडा वृद्धि गरिसक्दा पनि प्रदेश भित्र र स्थानीय रुपमा चल्ने सार्वजनिक गाडीहरुको भाडा समायोजन नहुँदा सवारी चलाउनै नसक्ने अवस्था आएको उनले बताए ।