जोन्सनको खोप १८ वर्ष माथिकालाई दिइने

काठमाडौं,काठमाडौंमा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । खोप ५० देखि ५४ वर्षका नागरिक,अपाङ्गता भएका व्यक्ति,शरणार्थी,जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।

तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताए । ‘कति नागरिकलाई खोप दिन पुग्छ, त्यही अनुसार खोप कार्यक्रम अगाडि बढ्छ,’ उनले भने । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाललाई दिएको थियो । यो खोप एक डोज मात्र लगाए पुग्छ ।