सरकारी निवास बालुवाटारमा सरे प्रधानमन्त्री देउवा

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका उनी शुक्रबार बिहान बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् ।बिहान १०:०३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गरेका देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए । सर्वोच्च अदालतको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

१४६ सांसदले हस्ताक्षरसहित बुझाएको रिटमाथि फैसला गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गर्न र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।