पूर्वघोषित महाधिवेशन सार्ने एमालेको तयारी

काठमाडौं,सत्तारुढ दल नेकपा एमालेले पार्टीको दसौं महाधिवेशन सार्ने विषयमा छलफल सुरु गरेको छ। शुक्रबारदेखि सुरु भएको पार्टीको १३ औं केन्द्रीय कमिटी बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ। फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि संस्थापन पक्षले नवौं महाधिवेशनबाट बनेको कमिटी भंग गरेर दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । 

उक्त आयोजक कमिटीको बैठकले मंसिर २ देखि ६ सम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो। अहिले जेठ २७ को सर्वोच्चको अर्को फैसलापछि पुनः महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गरेको एमालेले यसअघि तोकिएको महाधिवेशन सार्ने तयारी अघि बढाएको हो।

‘संविधानको राजनीतिक दलसम्बन्धी कानुनअनुसार २०७१ को महाधिवेशनपछि ५ वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने हुन्छ तर, पार्टी एकीकरण भएपछि बनेको नेकपाको समयलाई शून्य समय मानेर जाने भन्ने छ। यसरी हेर्दा अबको एक वर्षभित्रै महाधिवेशन गरेर नेतृत्व निर्माण गरिसक्नुपर्छ।’

एमाले केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक रहेका नेता विशाल भट्टराईले पूर्व घोषित महाधिवेशन सार्ने विषयमा छलफल अघि बढेको बताए। ‘संविधानको राजनीतिक दलसम्बन्धी कानुनअनुसार २०७१ को महाधिवेशनपछि ५ वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने हुन्छ तर, पार्टी एकीकरण भएपछि बनेको नेकपाको समयलाई शून्य समय मानेर जाने भन्ने छ,’ उनले भने, ‘यसरी हेर्दा अबको एक वर्षभित्रै महाधिवेशन गरेर नेतृत्व निर्माण गरिसक्नुपर्छ।’

उनले २०७८ को अन्त्यसम्ममा महाधिवेशन गरिसक्ने गरेर तयारी गरिने बताए। कात्तिक–मंसिरमा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएको र फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले पनि एमालेले पूर्व घोषित पार्टीको महाधिवेशन सार्ने तयारी गरेको हो।