उपत्यकामा सार्वजनिक बस चल्न सुरु

काठमाडौं,उपत्यकामा बिहानैदेखि सार्वजनिक बस चल्न सुरु गरेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस चल्न सुरु भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर बिजोर प्रणाली लागु गरेर सञ्चालन गर्न दिने गरी एक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए । उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।

कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएन । काठमाडौं उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर(बिजोर प्रणाली अनुसार नै सञ्चालनमा आइसकेका छन् ।