बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

सहकर्मीलाई चुम्बन गरेको आरोप

एजेन्सी,सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा पत्र बुझाएका हुन् ।

केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको तस्बिर द सन पत्रिकाले शुक्रबार सार्वजनिक गरेको थियो । मन्त्रीले नै कोरोनाको महामारीमा सामाजिक दूरी तोडेपछि चौतर्फी विरोध भएको थियो ।

४२ वर्षीय ह्यानककले ट्विटरमा भिडियो पोस्ट गर्दै नियमहरू जसले बनाए पनि ती कानुन कडाइका साथ पालना गर्नुपर्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन् । स्वास्थ्यमन्त्रीका रूपमा तीन वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन्।