एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी

काठमाडौं,नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् ।

ती नेताका अनुसार महाधिवेशन आयोजक कमिटी खारेज गरेपछि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी ब्युँताइनेछ । केन्द्रीय सदस्य विष्णु रिजालले पनि महाधिवेशन आयोजक कमिटी निस्क्रिय बनाइने तयारी भएको स्वीकारेका छन् । उनले भने, ‘एमालेमा अब अस्थायी संरचना रहँदैन । पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुन्छ ।’

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ । अध्यक्ष ओलीले २३ जेठमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत छैन ।

नेता नेपालले भने ओलीले भनेजस्तो ३ जेठ नभएर २ जेठ २०७५ अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडान लिँदै आएको छ । एमाले मिलाउन कार्यदलका नेताहरु अनौपचारिक सम्वादमा छन् ।