रोकियो ५० करोडको एन्टिजेन खरिद प्रक्रिया

काठमाडौं, विवादमा पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले एन्टिजेन किट खरिद गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । ठूलो परिमाणमा मौज्दात हुँदाहुँदै मन्त्रालयले दुई चरणमा गरेर ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको थियो ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा एन्टिजेन किट खरिद प्रक्रियाका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले तत्काल किट खरिद नगर्ने बताए । ‘हामीसँग हाल दुई लाख एन्टिजेन किट मौज्दात छ, त्यसैले तत्काल खरिद गर्दैनौँ,’ उनले भने, ‘थप छलफल गरेर मात्रै कति आवश्यक पर्ने हो त्यसका आधारमा प्रक्रिया अगाडि बढाउने छौँ ।’

स्रोतका अनुसार मौज्दात हुँदाहुँदै किट खरिद गरिए कमिसनका लागि किनिएको आरोप लाग्न सक्ने भएकाले मन्त्रालय पछि हटेको हो । विज्ञहरूले पनि एन्टिजेन प्रभावकारी नहुने भन्दै पिसिआर परीक्षणमा जोड दिनुपर्ने बताएका छन् । कोरोना परीक्षणका लागि सरकारले यसअघि खरिद गरेको आरडिटी किटले यकिन नतिजा नदिएपछि पिसिआर परीक्षणमै जोड दिएको थियो ।

मन्त्रालयले आरडिटी किटजस्तै कोरोना भाइरसको द्रुत परीक्षणका लागि एन्टिजेन खरिद गर्ने बताएको थियो । स्वास्थ्य सेवा विभागले पहिलो चरणमा ३० करोड रुपैयाँको तीन लाख किट खरिद गर्न २४ पुसमा टेन्डर आह्वान गर्ने तयारी गरेको थियो । त्यस्तै, माघमा थप दुई लाख किट खरिद गर्ने योजना थियो ।मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठले भने एन्टिजेनको प्रयोग आवश्यक भएको बताए । ‘संक्रमणलाई रोक्ने हो भने एक मात्रै विकल्प एन्टिजेन परीक्षण हो,’ उनले भने । पहिलो एक हप्ताको भाइरस पत्ता लागाउन एन्टिजेन परीक्षण आवश्यक हुने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार आरडिटी परीक्षणले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए–नभएको निक्र्याेल गर्छ भने एन्टिजेन परीक्षणले शरीरमा भएको कोरोना भाइरसको प्रोटिनको मात्रा पहिचान गर्छ । मन्त्रालयले एन्टिजेन किटलाई २५ भदौमा स्वीकृति दिने निर्णय गरेको थियो ।प्रमुख विशेषज्ञ श्रेष्ठले देशभर जोखिम क्षेत्रको पहिचान भएका स्थानमा एन्टिजेन परीक्षण गर्ने बताए । हाल विभिन्न दातृ निकायले सहयोग गरेका दुई लाख एन्टिजेन किट मौज्दात छ । पुसमा उपत्यकामा मात्रै ६४ हजारजनाको एन्टिजेन परीक्षण गर्ने लक्ष्य लिएको भए पनि त्यसअनुसारको काम नभएको मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट