पुँजीवादमा धनी र गरिब बीचको खाडल यसरी बढ्छ

सामन्त तथा पुँजीपतिहरुले अझै ठूलो परिमाणमा श्रमजीवी जनतामाथि शोषण, दमन तथा उत्पीडन गरिरहेका हुन्छन्। यिनको मुख्य उदेश्य शोषणमुलक राज्यव्यवस्था कायम राखेर सत्ता र पुँजीमा आफ्नो प्रभुत्व कायम राखिरहने नै हो। त्यसका निम्ति पुँजीपतिले शुद्ध र सापेक्षित अतिरिक्त मूल्य निचोर्न तथा त्यसलाई पुँजीमा रूपान्तरण गर्नका निम्ति हरसम्भव कोसिस गर्दछ। अतिरिक्त मूल्यलाई पुँजीमा बदल्ने यस प्रक्रियालाई पुँजी सञ्चय भनिन्छ। पुँजी सञ्चयको विश्लेषणबाट हामीले के बुझ्न सक्दछौँ भने समाजमा पुँजीपति, जसले कहिल्यै श्रम गर्दैन, उ अझै धनी हुँदै जान्छ। जब कि ढाड भाँचिने गरी मेहनत गर्नेहरू, किसानहरु र मजदुरहरूको अवस्था झन्झन् खराबभन्दा खराब हुँदै जान्छ । यस व्यवस्थाको आर्थिक प्रणालीको कारण धनी र गरिब बीचमा झन्झन् ठुलो खाडल बन्दै जान्छ।

त्यसको कारण चर्को अन्तर्विरोध समेत बढ्दै जान्छ। यसले हामीलाई त्यो कुरा राम्ररी बुझ्नमा सहयोग गर्दछ कि एकथरी परिश्रम नगरी धनी बन्दै गएको र अर्कोथरी जतिसुकै परिश्रम गरेपनि उनको अवस्था झन्झन् गरिब हुँदै जानुमा यो पुँजीवादी राज्य प्रणालीको कारण जिम्मेवार छ। त्यसको प्रमुख कारण शोषण हो। शोषणको अन्त्य गर्नको लागि सामन्ती तथा पुँजीवादी व्यवस्थाको अन्त्य गर्नुपर्छ। र त्यसको ठाँउमा समाजवादी व्यवस्थाको प्रादुर्भाव हुनुपर्छ। त्यो अवश्यम्भावी पनि छ। समाजवादका निम्तिको विजयलाई कुनै पनि प्रतिक्रियावादी शक्तिहरूद्वारा रोक्न सकिँदैन। र यस सैतानी सामन्ती तथा पुँजीवादी व्यवस्थालाई उखेलेर फाल्नु सर्वहारा वर्गको महान ऐतिहासिक मिसन हो।

प्रथम, पुँजीवादीहरुले पुँजीपति वर्गले मजदुर वर्गको शोषण गरेको छैन, बरु पालेको छ भन्ने भ्रम सृजना गरिरहेका छन्। तर वास्तविक रूपमा श्रमजीवी तथा मजदुर वर्गले नै पुँजीपती वर्गलाई पालिरहेको छ। पालेको मात्रै छैन, पुँजीपतिहरुले पुँजी सञ्चय गरिरहेको छ। श्रम गर्ने मजदुरहरू जसको कारण पुँजी पुनरुत्पादन हुने पुँजीपतिहरुको यस विश्लेषणबाट यस झूटको पर्दा हटाऊनु जरुरी छ कि पुँजीपतिले मजदुरलाई पाल्दछ। अब हामीले पहिले नै उल्लेख गरिसकेका छौँ कि पुँजीपतिद्वारा हड्पिएको अतिरिक्त मूल्यलाई पुँजीमा परिवर्तन पुँजी सञ्चय हो। पुँजी सञ्चयको विश्लेषण गर्नुभन्दा पहिले आउनुहोस् हेरौँ कि पुँजीपतिले हडपेको अतिरिक्त मूल्यलाई पुँजीमा बदल्नुको सट्टा पुँजीपति वर्गले पूर्णरूपेण आफ्नैमाथि खर्च गरिदिन्छ भने के होला? यस्तो अवस्थामा पुँजीपतिको उत्पादनको विस्तार हुनै सक्दैन। उसले त केवल साधारण पुनरुत्पादन मात्र जारी राख्न सक्छ।

मान्नुहोस्, एउटा पुँजीपतिले रु. १,००,००० बाट एउटा कारखाना सुरु गर्दछ। जसबाट रु. ८०,००० कारखानाको भवन कच्चा पदार्थ, मेसिन उपकरण खरिद र अन्य वार्षिक खर्च गर्नका लागि खर्च गर्दछ। अब बाँकी रु. २,०,००० श्रमशक्ति खरिद गर्नमा खर्च हुन गयो। मानौँ, अतिरिक्त मूल्यको दर परिवर्तनशील पुँजीको शतप्रतिशत छ। अब कारखानाको वार्षिक उत्पादनको मूल्य हुन्छ, स्थिर पुँजी ८०,००० + परिवर्तनशील पुँजी २०,००० + अतिरिक्त मुल्य २०,००० = जम्मा रु. १,२०,००० जसमध्ये रु. २०,००० अतिरिक्त मूल्य हो। अब, पुँजीपतिले त्यस अतिरिक्त मुल्य रु.२०,००० लाई आफ्नो र आफ्नो घरपरिवारको पालनपोषण वा विलासितामा खर्च गर्दछ भने दोस्रो वर्षको सुरुमा पुँजीपतिको पुँजी पहिलो वर्ष जत्ति नै रहन जान्छ। अर्थात् ८०,००० + २०,००० = रु. १,००,०००। अतिरिक्त मूल्यमा कुनै फेरबदल भएन भने दोस्रो वर्षको उत्पादन मूल्य पनि फेरि पनि ८०,००० + २०,००० + २०,००० = जम्मा रु. १,२०,००० नै हुन्छ। पुनः अतिरिक्त मुल्य पुँजीपतिले आफ्नो घरपरिवारको पालनपोषण र विलासिताको लागि खर्च गर्ने हो भने यो प्रक्रिया चलिरहदासम्म पुनरुत्पादनको अवधिमा पूरै क्रिया व्यापारको परिमाणमा विस्तारित हुँदैन बरु सुरुकै स्तरमा बनिरहन्छ। प्रारम्भिक परिमाणमा आधारित यस पुनरुत्पादनलाई साधारण पुनरुत्पादन भनिन्छ।

अब विचार गर्नुहोस्, यहीँ साधारण पुनरुत्पादन प्रक्रियाले के बताउछ? सर्वप्रथम हामीले यो स्पष्टसँग देख्न सक्दछौँ कि पुँजीवादी समाजमा कसले कसलाई पाल्दछ? कुनै एउटा उत्पादन प्रक्रियाबाट हेरियो भने त सरासर लाग्न सक्छ कि पुँजीपतिले आफ्नो पुँजीलाई ज्यालाका रूपमा दिएर मजदुरलाई पालिरहेको हुन्छ। पुँजीपतिले यसलाई यसै रूपमा प्रस्तुत गर्दछ। तर पुँजीपतिको पुँजीले मात्रै उत्पादन हुन सक्दैन, जब त्यहाँ मुर्त मानव श्रमको प्रयोग हुँदैन। हामीले माथिको साधारण पुनरुत्पादन प्रक्रियाबाट हेर्‍यौँ भने त पुँजीपतिको झूटको गोपनीयता सजिलै खुल्न जान्छ। मजदुरले पाउने ज्याला उत्पादन प्रक्रियामा स्वयम् मजदुरद्वारा उत्पादन गरिएको मूल्यको एक भाग मात्र हो। अझै मजदुरद्वारा उत्पादन गरिएको नयाँ अर्थात् अतिरिक्त मूल्यमा न केवल मजदुरको आफ्नो भरणपोषण र श्रमशक्तिको पुनरुत्पादन मूल्य मात्र होइन, पुँजीपतिको भरणपोषण र उसको विलासितापूर्ण जीवनशैलीका निम्ति अतिरिक्त मूल्य पनि सम्मिलित हुने गर्दछ। यसकारण पुँजीपतिले मजदुरलाई पाल्दैन, यसका विपरीत मजदुरले पुँजीपतिलाई पाल्छ।

दोस्रो, साधारण पुनरुत्पादनको प्रक्रियाबाट नै हामी देख्न सक्दछौँ कि अतिरिक्त मूल्य पुँजीपतिको पुँजीमा पनि बदलिने गर्दछ। हाम्रो पहिलो उदाहरणमा रु. १,००,००० बाट सुरु गर्ने पुँजीपतिले आफ्नो निजी उपभोगमा रु. २०,००० खर्च गर्दछ। सामान्यतया यसरी पाँच वर्षपछि उसको सुरुको पुँजी समाप्त हुनुपर्दथ्यो। तर साधारण पुनरुत्पादनको माध्यमबाट पाँच वर्षपछि पनि ऊसँग पुँजीका रूपमा रु. १,००,००० बचिरहेको हुन्छ। यो १,००,००० त्यही पुँजी होइन जसबाट उसले सुरु गरेको थियो। बरु यो पाँच वर्षमा लगातार निकालिएको अतिरिक्त मूल्यको योगफल हो। मार्क्सका अनुसार, – “कुनै प्रकारको सञ्चय नगरीकन पनि, उत्पादन प्रक्रियाका साधारण रूपबाट जारी रहन अथवा साधारण पुनरुत्पादन केही समयपछि कुनै पनि पुँजीलाई सञ्चित पुँजी वा पुँजीकृत अतिरिक्त मूल्यमा बदलिदिन सक्छ।”

यसर्थ पुँजीपतिको पुँजी मजदुरद्वारा सिर्जित अतिरिक्त परिवर्तित रूप हो। यसकारण यो पूर्ण रूपमा जायज हुन्छ कि मजदुरवर्गद्वारा राजनीतिक सत्तामाथि कब्जा गरिएपछि पुँजीपतिबाट खोसिएका उत्पादनका सबै साधनहरूमाथि सर्वहारा राज्यको अधिकार हुन्छ। यो मजदुर वर्गका पुर्खाहरूको श्रमद्वारा निर्मित सम्पदालाई फिर्ता लिएको मात्र हो। श्रममा भाग कहिल्यै नलिने पुँजीपतिको कुनै सम्पत्तिमा कब्जा गरेको होइन।

तेस्रो, साधारण पुनरुत्पादनको प्रक्रियाबाट हामी यो पनि देख्न सक्छौँ कि पुँजीवादी पुनरुत्पादन न केवल विभिन्न मालहरू मात्र उत्पादन गर्दछ यसले त पुँजीवादी उत्पादन सम्बन्धहरूलाई पनि पुनरुत्पादन गर्दछ। पुनरुत्पादनको प्रक्रियामा मजदुरले लगातार श्रमशक्ति खरिद गर्न प्रयोग गरिने परिवर्तनशील पुँजीको उत्पादन गर्दछ। जब उत्पादन प्रक्रिया पूरा हुन जान्छ तब पनि मजदुर पहिले झै खाली हात भाडाको श्रमिक नै हुने गर्दछ तर पुँजीपति तब पनि मजदुरको शोषणका सबै साधनहरूको मालिक नै रहने गर्दछ। यतिमात्र होइन कि पुँजीपतिले अझ धेरै अतिरिक्त मूल्य उठाउनका निम्ति पुनरुत्पादनलाई विस्तार समेत गर्दछ। माथि उल्लेख गरिएअनुसार हामीले के मानेका थियौँ भने पुँजीपतिले सबै अतिरिक्त मूल्य आफ्नो निजी उपयोगमा खर्च गर्दछ। त्यसका कारण पुनरुत्पादन सुरुकै परिमाणमा नै जारी रहन सक्दछ तर साधारण पुनरुत्पादन पुँजीवादी उत्पादनको अभिलाक्षणिकता होइन। पुँजीवादी उत्पादनको अभिलाक्षणिकता हो विस्तारित पुनरुत्पादन। विस्तारित पुनरुत्पादन जारी राख्नका लागि पुँजीपतिले हड्पिएको सबै अतिरिक्त मूल्य आफ्नो निजी उपभोगमा खर्च गर्न सक्दैन। बरु कारोबारको परिमाण विस्तारित गर्न र अझै विस्तारित पुनरुत्पादन सुरु गर्नुभन्दा पहिले उसलाई नयाँ मेसिनहरू र उपकरण खरिद गर्न तथा अतिरिक्त मजदुरहरूलाई भाडामा लिनका निम्ति अतिरिक्त मूल्यको एक भागलाई पुँजीमा बदल्नका निम्ति निकाल्ने गर्छ।

अब मानौँ, पुँजीपतिले रु. २०,००० अतिरिक्त मूल्यको आधा भाग निजी उपभोगका निम्ति राख्छ र आधालाई पुँजीमा बदल्नका लागि सञ्चय गर्दछ। स्थिर पुँजी र परिवर्तनशील पुँजीको अनुपात स्थिर रहन्छ भने यस रु. १०,००० को नयाँ पुँजीमा रु. ८,००० स्थिर पुँजी र रु. २,००० परिवर्तनशील पुँजी हुन जान्छ। यसको सङ्घटन यसप्रकार हुन्छ : स्थिर पुँजी रु. ८८,००० + परिवर्तनशिल पुँजी २२,००० + अतिरिक्त मुल्य रु. २२,००० = जम्मा पुँजी रु.१,३२,००० । गत वर्षको उत्पादन वस्तुहरूको मूल्य १,२०,००० रुपैयाको बदलामा त्यस पुँजीपतिले पुनरुत्पादनलाई विस्तार गर्‍यो। हामी देख्न सक्दछौँ कि पुँजीवादी विस्तारित पुनरुत्पादन तब मत्र सम्भव हुन सक्छ जब अतिरिक्त मूल्यको एक भागलाई पुँजीमा बदल्ने गरिन्छ। साधारण पुनरुत्पादनमा पुँजीपतिद्वारा निवेश गरिएको पुँजीलाई अतिरिक्त मूल्यबाट पुँजीमा बदलेको केही समय बितेपछि मात्र देख्न सकिन्छ तर विस्तारित पुनरुत्पादनमा जोडिएको पुँजीको अतिरिक्त मूल्य पुँजीमा बदलिएको सुरुआतदेखि नै देख्न सकिन्छ।

पुँजीपतिले सबै अतिरिक्त मूल्य आफ्नो निजी स्वामित्वमा खर्च गर्नुको बदला विस्तारित पुनरुत्पादनका लागि पुँजीको सञ्चय किन गर्दछ? यस प्रश्नमा केही बुर्जुवा अर्थशास्त्रीहरूले पुँजीको सञ्चयलाई पुँजीपतिको ‘सञ्चय’ को गुण बताएका छन् जस्तो कि पुँजीपतिद्वारा पुँजीको सञ्चय सिङ्गो समाजको भलाइको निम्ति हुने गर्दछ र उपभोगको उसको इच्छालाई दबाउनुको परिणाम हो। तर मार्क्सले त्यस ‘सञ्चय’ को चरित्रमाथिको बुर्जुवा अर्थशास्त्रीले लगाएको पर्दा हटाउनुभयो। माक्र्सले बताउनुभयो, – “पुँजीपति ‘अमीर हुने निरङ्कुश इच्छा’ बाट ग्रसित हुने गर्दछ। अतिरिक्त मूल्यका निम्ति पुँजीपतिको लालच असीमित हुने गर्दछ। अतिरिक्त मूल्य तब मात्र निरन्तर बढाइरहन सकिन्छ जब पुँजीपतिले निरन्तर सञ्चय गरोस्, पुँजीको अनुपात बढाओस् र उत्पादनको परिमाणलाई विस्तार गरोस्। यसका साथै पुँजीवादी प्रतिस्पर्धाले पनि उसलाई पुँजी सञ्चय गर्नका निम्ति बाध्य पार्दछ।

जोसँग पनि धेरै पुँजी हुन्छ ऊ उपकरण बढाउने, कच्चा पदार्थ खरिद गर्ने र नयाँ प्रविधि अपनाउने दृष्टिबाट फाइदाको स्थितिमा रहन्छ। श्रम उत्पादकता बढाएर कुनै मालको व्यक्तिगत श्रमकाललाई घटाएर सामाजिक रूपबाट आवश्यक श्रमकाललाई कम गरेर त्यस प्रतिस्पर्धामा अगाडि रहने सम्भावना पनि धेरै हुने गर्दछ। अवस्था यसको विपरीत हुन गयो भने त ऊ प्रतिस्पर्धामा असफल रहन्छ र ठूला पुँजीपतिहरूले उसलाई निलिदिन्छन्। प्रतिस्पर्धा हरेक पुँजीपतिमाथि दबाबको स्थायी स्रोत बनिरहन्छ। प्रतिस्पर्धामा असफलता र टाट पल्टिन जाने डरले पुँजीपतिलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउनको निम्ति पुँजी सञ्चय गर्दै जान बाध्य बनाउँछ। प्रतिस्पर्धा पुँजीवादी उत्पादनको आन्तरिक नियमको एउटा यस्तो बाध्यकारी बाहिरी नियममा बदलिदिन्छ जसले हरेक पुँजीपतिलाई नियन्त्रण गर्दछ। प्रतिस्पर्धाले पुँजीपतिलाई बाध्य पार्दछ कि उसले आफ्नो पुँजीलाई बनाइराख्नका निम्ति त्यसको निरन्तर विस्तार गरिरहोस्। त्यसका लागि उसले उत्तरोत्तर बढिरहेको सञ्चयद्वारा आफ्नो पुँजीको विस्तार गर्दछ।”

मार्क्सको यो भनाइबाट यो देख्न सकिन्छ कि मजदुरबाट निचोरेको अतिरिक्त मूल्यको एउटा भागलाई पुँजीमा बदल्ने प्रेरणा पुँजीपतिलाई ‘सञ्चय’ बाट होइन, बरु लोभलालच र प्रतिस्पर्धा बीच टाट पल्टिने डरबाट मिल्छ। पुँजीपतिले जति धेरै शोषण गर्दछ त्यति धेरै सञ्चित पुँजी हुने गर्दछ। सञ्चित पुँजी जति धेरै हुन्छ त्यति धेरै अतिरिक्त मूल्य निचोर्न सकिन्छ। यसप्रकार सञ्चित पुँजी न केवल मजदुरको शोषणको परिणाम हो, यो त एउटा साधन पनि हो जसबाट पुँजीपतिले मजदुरको शोषणलाई अरू तिब्र रूपमा बढाउँछ।

चौथो, यस प्रक्रियामा मजदुरको बेरोजगारी बढ्दै जान्छ। यो पुँजी सञ्चयको अवश्यम्भावी परिणाम हो। पुँजीको निरन्तर सङ्घटकमा वृद्धिको परिणाम मेसिनहरूद्वारा मजदुरहरूलाई धकेलेर बाहिर निकालि दिनु पुँजी सञ्चयको प्रक्रिया, पुँजीको कुल मात्रा बढाउने प्रक्रिया मात्र होइन। यस प्रक्रियामा पुँजीको सङ्घटकमा फेरबदल हुने गर्दछ र यसले श्रमजीवी मजदुर वर्गमाथि खराब प्रभाव पनि पार्दछ। सामग्रीको दृष्टिबाट पुँजीका सङ्घटक उत्पादनका साधनहरू कारखाना, मेसिनहरू, उपकरण, कच्चा पदार्थ र श्रम शक्तिको अनुपातका रूपमा अभिव्यक्त हुने गर्दछ। खरिद गरिएका उत्पादनका साधनहरू र काममा लगाइएका मजदुरहरूको सङ्ख्याका बीचमा एउटा निश्चित सम्बन्ध हुने गर्दछ। उदाहरणका निम्ति एउटा मजदुरले एक दिनमा एउटा निश्चित मात्रामा कपासको प्रयोग गरेर तकियाहरूको एउटा निश्चित सङ्ख्या नै समाल्न सक्दछ। त्यस अनुपातको स्तर समाजमा उत्पादनको प्रविधिको स्तर, विभिन्न उत्पादन क्षेत्रहरूका अभिलाक्षणिकताहरू तथा यान्त्रिकीकरणको मात्रामा निर्भर गर्दछ।

यो विभिन्न उद्यमहरूका प्राविधिक उपकरणहरूमा पनि निर्भर गर्दछ। त्यसकारण हामीले त्यस अनुपातलाई पुँजीका प्राविधिक सङ्घटक भन्न सक्छौँ। अर्कोपक्ष पुँजीका सङ्घटकलाई मूल्यका दृष्टिकोणबाट पनि हेर्न सकिन्छ। उत्पादनका साधनहरूको मूल्य स्थिर पुँजीका रूपमा र श्रमशक्तिको मूल्य परिवर्तनशील पुँजीका रूपमा अभिव्यक्त हुने गर्दछ। स्थिर र परिवर्तनशील पुँजीका बीचको अनुपातलाई पुँजीको मूल्य सङ्घटक भन्ने गरिन्छ।

पुँजीको प्रविधिक सङ्घटक र मूल्य सङ्घटकका बीचमा नजिकैको नाता सम्बन्ध हुन्छ । सामान्यतः पुँजीको मूल्य सङ्घटक पुँजीको प्रविधिको सङ्घटकको सँगसँगै बदलिइरहन्छ। यस सम्बन्धमा मार्क्स भन्नुहुन्छ,- “पुँजीको मूल्य सङ्घटक जुन कि पुँजीका प्रविधिको सङ्घटकद्वारा निर्धारित हुने गर्दछ जसले यसको बदलावको प्रतिबिम्बित गर्दछ, यसलाई पुँजीको अवयवी सङ्घटक भनिन्छ।” पुँजीको अवयवी सङ्घटकको सूत्र हो, स्थिरपुँजी:परिवर्तनशील पुँजी। उदाहरणका निम्ति मानिलिऊँ, एउटा पुँजीपतिसँग रु. १,००,००० छ जसमध्ये रु. ८०,००० स्थिर पुँजी हो र रु. २०,००० परिवर्तनशील पुँजी हो भने तब पुँजीको अवयवी सङ्घटक ८०,०००:२०,००० अर्थात् ४ः१ अनुपात हुन्छ।

पुँजीवादको विकासका क्रममा पुँजीको अवयवी सङ्घटक स्थिर रहँदैन। अझ धेरै अतिरिक्त मूल्य निचोर्न तथा प्रतिस्पर्धामा अगाडि बढ्नका निम्ति पुँजीपतिका हातबाट गरिने कामका लागि मेसिनहरू लगाएर वा पुराना मेसिनहरूको स्थानमा नयाँ मेसिनहरू लगाएर आफ्नो उद्यमको प्रविधिस्तर सुधार गर्नु पर्दछ। यस तरहले पुँजीपतिका निम्ति मेसिन उपकरणहरूमा पुँजी निवेश बढाउन आवश्यक हुन्छ। मजदुर श्रमको स्थानमा मेसिनहरू लगाउनाले मजदुर एक निश्चित समयमा धेरै कच्चा पदार्थको प्रयोग धेरै उत्पादन गर्न सक्छ। पुँजीपतिलाई अरू कच्चा पदार्थ खरिद गर्नका निम्ति पुँजी बढाउनु पर्दछ। यसप्रकार लगातार पुँजी सञ्चयका साथ कुल पुँजीमा स्थिर पुँजीको अनुपात निरन्तर बढिरहन्छ। अर्कोतर्फ मेसिन तथा उपकरणको कार्यक्षमता र मजदुरको श्रमक्षमताको अनुपातले परिवर्तनशील पुँजीको अनुपात लगातार घट्दै जानुका साथसाथै पुँजीका अवयवी सङ्घटकमा झन्झन् वृद्धि हुँदै जान्छ।

पाचौं, सामान्यतः पुँजीको अवयवी सङ्घटकको पूर्वसर्त के हो भने व्यक्तिगत पुँजीमा वृद्धि होस् या बढी भन्दा बढी अतिरिक्त मुल्य निचोर्न सकियोस्। पुँजीमा वृद्धि दुईवटा रूपमा हुन सक्छ। पहिलो हो, पुँजी सञ्चयद्वारा अर्थात् व्यक्तिगत पुँजीको सञ्चयद्वारा पुँजीको कुल परिमाणमा वृद्धि। दोस्रो हो, पुँजी केन्द्रीकरणको माध्यमद्वारा अर्थात् ठूलो पुँजीद्वारा सानो पुँजीलाई आफ्नोमा मिलाउनु। यस्तो प्रतिस्पर्धा अर्थात् कैयौँ कम्पनीहरूलाई एउटा ज्वाइन्ट स्टक कम्पनीका रूपमा विलयद्वारा हुने गर्दछ। जसअनुसार छरिएर रहेको पुँजी ठूलो पुँजीका रूपमा केन्द्रीकरण हुन जाओस्। पुँजी सञ्चय र पुँजी केन्द्रीकरणले अनिवार्य रूपबाट पुँजीका अवयवी सङ्घटकमा वृद्धि गर्दछन्।

पुँजीका अवयवी सङ्घटकमा वृद्धिले मजदुर वर्गका निम्ति गम्भीर दुष्परिणाम अगाडि आउँछन्। पुँजीका अवयवी सङ्घटक स्थिर रहे भने मात्र पुँजी सञ्चयका साथसाथै श्रम शक्तिको भाग बढाएर अर्थात् मजदुरका लागि रोजगारका अवसर बढ्छन्। उद्यपि पुँजीका अवयवी सङ्घटक बढेपछि पुँजी सञ्चयको परिणाम त्यस्तो रहँदैन। यसको श्रमशक्तिको कुल भागमा वृद्धिभन्दा धेरै कम हुन्छ। केही अवस्थाहरूमा श्रम शक्तिको कुल भाग पहिलेभन्दा पनि कम हुन सक्छ। यस्तो यसकारण हुन्छ, श्रमशक्तिको भाग कुल पुँजीको परिमाणबाट होइन, बरु परिवर्तनशील पुँजीको परिमाणमा निर्भर गर्दछ। उदाहरणका निम्ति पुँजी अवयवी सङ्घटक ४ः१ हुन्छ भने यसको अर्थ यो भयो कि कुल पुँजीको प्रत्येक रु. १०० बाट रु. २० मजदुरहरूमाथि खर्च गर्न सकिन्छ। अब पुँजीका अवयवी सङ्घटक बढेर ९ः१ हुन गयो भने त प्रत्येक रु. १०० मा मात्र रु. १० नै मजदुरहरूका निम्ति उपलब्ध हुन्छ। यस प्रक्रियामा कुल पुँजी रु. १,००,००० बाट बढेर रु. १,५०,००० भए पनि परिवर्तनशील पुँजीको परिमाण रु. २०,००० बाट घटेर रु. १५,००० हुन जान्छ। यसले बताउँछ कि पुँजीका अवयवी सङ्घटकमा वृद्धिले मजदुरहरूका निम्ति रोजगारका अवसर कम गरिदिन्छ। पुँजीवादी समाजमा मजदुर वर्ग बस्तु होइन कि मेसिनहरू बनाउँछ। जब ती मेसिनहहरू पुँजीपतिद्वारा प्रयोग गर्न थालिन्छ तब ठूलो सङ्ख्यामा मजदुरहरू बेरोजगार बन्न पुग्छन्। उदाहरणका लागि पुँजीपतिद्वारा सिलाइ मेसिनहरू प्रयोग गर्नाले अधिकांश सिलाइ मजदुरहरू बेरोजगार हुन गए। पेकिङमा सिलाइ मेसिनहरू अपनाउनाले धेरै नै पेकिङ मजदुर सडकमा आउन पुगे।

पुँजीवादको विकास प्रक्रियाको अवधिमा प्रविधिमा सुधार र पुँजीका अवयवी सङ्घटकमा वृद्धिसँगसँगै मजदुरहरूका लागि रोजगारका अवसर कम हुँदै जान्छन् र बेरोजगार बढ्छन्। यसलाई मेसिनहरूद्वारा मजदुरहरूको निष्कासन भनिन्छ। यस प्रक्रियामा पुँजीपतिहरु बीच समेत प्रतिस्पर्धा हुँदै जाने भएकोले एकातिर साना पुँजीपति टाट पल्टिँदा मजदुर वर्गमा झर्छ्न्। मजदुर वर्ग बड्छ्न् कामको अवसर घट्छ । त्यसले एकातिर धनी र गरिबको संख्या बीच खाडल बढाउछ भने अर्कोतिर सम्पुर्ण पुँजी निश्चित पुँजीपति वर्गमा सञ्चय हुन्छ भने बहुसंख्यक मजदुर वर्गमा झन्झन् हाहाकार हुन्छ। यस बीचको अन्तर्विरोधको संकटलाई पुँजीवादले पैसा र पुँजीको बलमा टाल्न सक्दैन। अन्ततः पुँजीवादको गर्भबाट सुन्दर समाजवादको जन्म अवश्यम्भावी हुन्छ। त्यस प्रक्रियाबाट उपस्थित हुने परिस्थितिलाई लेनिनले भन्नुभएको छ, – “पुँजीवादले आफ्नो चिहान आफैं खन्छ।”

२०७७ – ०५ – ०६