प्रेम अनि पौरख

हामी मानिस जाती प्रेमलाई सँधै उच्च प्राथमिकतामा राख्दछौँ। जबकि प्रेमको लागि हामी जुनसुकै हदसम्म पुग्न सक्छौं तर वास्तविक जीवन प्रेमले होइन अधिक भन्दा अधिक पौरखले चल्दछ।

हामी कोहिलाई प्रेम नगरौँ तर पनि जीवन चलेकोनै हुन्छ। कोहिले हामिलाई प्रेम नगरुन तर पनि हामी बाचेकै हुन्छौं तर यदि हामिले मेहनत र परिश्रम गरेनौँ भने, हामिले जिवनलाई एउटा अनिवार्य यात्रा ठानेर समयको गतिमा पाइला चालेनौँ भने जिन्दगी जहाँ को तहिँ सकिन्छ। जिन्दगीको आनन्द त धेरै परको कुरा यसको अर्थ पनि सकिन्छ।

यसको अर्थ मैले यहाँ प्रेमलाई अनावश्यक र अनर्थको पनि भनेको होइन तर केवल यति मात्रै भन्न खोजेको हुँ कि जीवन यापनको निम्ति प्रेम भन्दा अझै पर अझै अनिवार्य तत्व हो पौरख। हो प्रेम अध्यात्मिक मार्ग हो। आजको युगले अध्यात्म लाई स्वीकार गर्न राजी नभए तापनी र यसको व्यक्तिपिच्छे दुरुपयोग गर्दै गएपनि यो एक सर्वमान्य अध्यात्मिक मार्ग हो। यो आफैमा शक्तिशाली त छनै तर यसैले मात्रै जिन्दगी चल्दैन बरु जिन्दगी चलाउन प्रेरित गर्दछ।

प्रेम एक प्रेरक अध्यात्मिक पद्धति हो जसले जिन्दगी लाई अति छिटो दौडाउन पनि सक्छ यात फेरि कोसौँ पछि धकेलिदिन पनि सक्छ यदि यसको दुरुपयोग भयो भने तर पौरखको गति तपाईंले जति बढाउनुहुन्छ उतिनै जिन्दगीको र सफलताको गति तिब्र बनेर बढ्दै जान्छ। यहाँ बुझ्नुपर्ने कुरा के हो भने, जिन्दगी खुशी र आनन्दको लागि मात्रै पनि होइन सभ्यतालाई केही नयाँ सृजना दिने मिसायल पनि हो।

आजको उरन्ठेउला युवा वर्गको निम्ति मेरो यो एउटा संदेश हो। प्रेमले जीवन बढाउन पनि सक्छ अनि घटाउन पनि तर पौरखले छिटो ढिलो जिन्दगी बढाउँछ मात्रै। प्रेम प्रेरणा अवश्य होला तर पौरख जिन्दगीको कारण हो।

प्रेमले जिन्दगीलाई सुगन्ध प्रदान गर्न सक्ला तर पौरख आफैमा सुन खोज्ने यात्रा हो। प्रेम भोजनमा मिठासता होला तर पौरख आफैमा भोजन, जल, अक्सिजन जे भनेपनी हो। प्रेमले जिन्दगी बाँच्न सिकाउला तर पौरख आफैमा जिन्दगीको आधार बनेर यसलाई काँधमा राखेर चल्छ गन्तव्य तर्फ। अब भनौँ कुन अनिवार्य र उच्च छ ? 

प्रेमको पछि दौडेर आफ्नो जिवनको उद्देश्य भुल्ने वर्ग, प्रेमको नाम जपेर यसको नकारात्मक फाइदा उठाउने वर्ग र प्रेमको कारण आफ्नो जिवनको उत्तरदायित्व भुल्ने वर्गको निम्ति हो बिशेश यो सन्देश। हो जिन्दगी सुन्दर बनाउन प्रेम गरौं अनि कोहिको जिन्दगी सुन्दर बनाइदिन पनि प्रेम गरौं तर साच्चिकै जिन्दगीलाई अर्थपूर्ण र सौहार्दपुर्ण बनाउनेतर्फ लाग्ने हो भने पौरखको गति बढाउनुहोस।

प्रेम नगरेपनी जिन्दगी चल्छ तर पौरख नगरे जिन्दगी चल्नै सक्दैन। पौरख त ईश्वरले पनि गर्नैपर्छ भने हामी त मनुष्य पो हो। श्रमजीवी भनौँ या कर्मजिवी जे भनेनी हामिनै जो। तपाईं आफैमा एक नयाँ सृजना हुनुहुन्छ अनि नयाँ इतिहास। पौरख गरौँ र साबित गरिदिउँ यो कुरालाई। 

सजिलो बाटो सहज गन्तब्यमा त जो कोहीले पुर्‍याउन सक्छ तर कठिन बाटो हुँदै महान गन्तव्यमा पुर्‍याउन सक्नेलाई नै भनिन्छ ईश्वरको अवतार, मसिहा…..।