लालमति

लघुकथा

“घर तीन वर्षे र चार वर्षे बर्साैंटे केटाकेटी छन् हजुर, ती अबाेध शिशुमाथि साैतेनी आमा हाल्दा तिनकाे बिचल्ली हुनसक्छ । साैतेनी आमा र बा देख्न र छन् भन्नकाे लागिमात्र त हुन् नि । उसले जानिन भनेर मैले ती अबाेधहरूमाथि अन्याय त गर्नु भएन नि । जसरी हुन्छ लालमतिलाई मसँगै बस्ने वातावरण मिलाइदिनु पर्‍याे हजुर” शिवहरिले झगडाकाे छिनाेफानाे गर्न आएका वडाध्यक्षलाई हात जाेड्दै भने ।

“हाेइन, ए लालमति ! शिवहरिले त घरै बसाेस् भनेकाे छ, तिमीले के भन्छ्याै ? “वडाध्यक्षले साेधे । “आ, म त यिनै हर्केसँग नै बस्न खुसी छु । अहिले दुई महिनासँगै बसेर के गर्नू, दुई महिनापछि यी लाहुर गइहाल्छन् । फेरि ३, ४ वर्ष अघि आउँदैनन् ।” लालमतिले भनी । “हाेस् अब आएँ, आएँ फर्केर फेरि उही लाेग्नेसँग के जानू ?” उसले थपी ।

“लालमति शिवहरि ब्रुनाेइकाे लाहुरे हाे । ऊसँग प्रशस्त सम्पत्ति छ । यति ठूलाे शहरमा यत्राे पाँच तले महल छ । घरकाे कामकाजमा सघाउन कामदार पनि राखेकाे छ । उसले त कमाउनेमात्र हाे, सारा सम्पत्ति तिम्रै हातमा छ । मन लागेका गहना र लत्ताकपडा लगाउन कसैकाे राेकताेक छैन । यति सुख हुँदाहुँदै पनि तिमीलाई रिक्शावाला हर्केसँगै किन जानु पर्‍याे र ! ऊसँग न राम्रो घर छ, दिनभरि कमाएर साँझबिहानकाे छाक टार्ने हाे । त्याेसँग जाँदा दुःख हुन्छ । अलि साेच है लालमति” वडाध्यक्षले भने ।

“हाे हजुर , शिवहरिसँग अग्लाे घर छ, काम गर्ने मान्छे छन्, प्रशस्त सम्पत्ति पनि छ । रुचेकाे खान र मन परेकाे लाउन कसैसँग हात फैलाउनु पर्दैन तर खानु र लाउनुमात्र पनि त जीवन हाेइन नि हजुर । हाम्रा पनि त इच्छा हुन्छन् नि । बूढाबूढी सँगसँगै हिंड्ने, मीठा नमीठा गफगाफ गर्ने, मीठो नमीठो सँगसँगै खाने” । उसले भनी । विवाह गयाे । ३ ४ वर्षमा यसाे एकदुई महिना सँगै बस्याे , केटाकेटी जन्मायाे, के त्यतिमात्र हाे जिन्दगी ! उसले अझै थपी ।
“पैसा त पठाइदिएकै छु नि ! “शिवहरिले भन्याे ।

“ए पैसामात्र सबै थाेक हाे जिन्दगीमा ” उसले प्रत्युत्तर फर्काई ।

“म त बरु दिनभरि मजदुरी गरी निर्वाह गर्ने हर्कसँगै बस्छु । दिनभरि काममा खटिए पनि साँझ त सँगै भइन्छ । मीठो नमीठो सँगसँगै खाइन्छ । सुखदुःखका कुरा गरिन्छ । तब पाे जिन्दगी । एउटा सूर्य अर्काे चन्द्रमाझैं एउटा एकातिर अर्को अर्काेतिर , के जिन्दगी । ग्रहण लागेकाे बेला सूर्य, चन्द्रमा र पृथ्वी एकै रेखामा देखिएझैं कहिलेकाहीँमात्र भेटघाट हुने । भाे भाे । उसले भनी ।

“त्यसाे नभन लालमति । यी साना केटाकेटीलाई हेर न । के यिनकाे माया लाग्दैन ?” वडाध्यक्षले भने ।
लालमति केही बाेलिनँ।
“लालमति” वडाध्यक्षले भने “केही त भन ।”
” लाै उसाे भए यिनी यहाँ बसुन्जेल म यिनैसँग बस्छु । यिनी लाहुर गएपछि हर्के कहाँ गएर बस्छु । केटाकेटीलाई बाेर्डस् राखे हुँदैन र ! उसले भनी ।
“अँ, शिवहरि के भन्छाै त ” वडाध्यक्षले साेधे ।

“त्यसाे किन गर्नु पर्‍याे र ! शिवहरिले भन्न के भ्याएकाे थियाे ” हुन्न, हुन्न म हर्केकहाँ नै बस्छु लालमतिले च्याट्ठिंदै भनी ।
“ल ल ठीकै छ , तिमीले भनेबमाेजिम नै भाे बरु म गएपछि हर्केकहाँ जानुभन्दा उसलाई यहीं बाेलाऊ । हुन्न । त्यसाे गरेपछि केटाकेटी एक्ला हुँदैनन् ” शिवहरिले भने “केटाकेटीकाे जीवनसँग खेलवाड गर्नु भएन है” ।
लालमतिले ठूलाठूला आँखा लगाउँदै सहमतिकाे सङ्केत गरिन् ।

आकाशमा कालाे बादल मडारिए पनि छाेराछाेरी टुहुरा हुनबाट जाेगाउन सकेकाेमा शिवहरिकाे अनुहार भने उज्यालो भएकाे थियाे ।