कोरोना वर्ग विभेद

कोरोना भाइरसमा पनि वर्ग देखियो । विश्व साम्यवादी आन्दोलनका प्रणेता कार्ल मार्क्सले आर्थिक असमानताको आधारमा वर्ग विभेद रहने ठहर गरि द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गरे । त्यस्तै दार्शनिक तथा समाजशास्त्री म्याक्स वेबरले शक्ति, प्रतिष्ठा र सम्पत्तिको आधारमा वर्ग निर्माण हुन्छ भन्ने कुरा उल्लेख गरे ।

अर्कोतर्फ इमाइल दुर्खिम, अगस्त कम्ते, हर्बेर्ट स्पेन्सर जस्ता समाजशास्त्रीहरूले व्यक्तिको व्यक्तिगत क्षमता र समाजका विविध आवश्यकताको आधारमा वर्ग निर्माण हुन्छ भन्ने कुरा उल्लेख गरे । जे जसरी भएपनी विश्व इतिहासमा वर्गको परिणाम वर्गसंघर्ष सिर्जना भयो र विभिन्न समयमा विभिन्न किसिमका आन्दोलनहरू भए र विश्व समाजमा गहन परिवर्तन भएको कुरा इतिहासका पन्ना पल्टाएर पढ्न सकिन्छ ।

समाजमा वर्ग विभाजन स्वभाविक र प्राकृतिक प्रक्रिया हो, भन्ने मेरो ठम्याइ छ । वर्ग विभाजनको कारण खोज्दा कुनै एक-दुईवटा पक्षलाई मात्र विश्लेषण नगरी विविध पक्षलाई विश्लेषण गर्न आवश्यक पर्दछ । समाजमा वर्ग विभाजन र वर्ग विभेद दुई अलगअलग कुरा हो । वर्ग विभाजन प्राकृतिक र स्वभाविक पक्ष हो, भने वर्ग विभेद मानव निर्मित पक्ष हो । अझ स्पष्ट भाषामा भन्नुपर्दा वर्ग विभेद राज्य संचालनका संयन्त्र वा भनौं शासक वर्गले सिर्जना गरेको विभेदकारी नीति हो ।

पुँजीवादी शासन प्रणाली होस् या समाजवादी शासन प्रणाली भएका देशहरुमा, हामी वर्ग विभाजनलाई सहज रुपमा देख्न सक्छौं तर त्यसको मात्रामा कम र बढी हुन सक्दछ । यहाँ सोच्नु पर्ने कुरा वर्ग विभाजनको हो, विधिको शासन र लोककल्याणकारी राज्यव्यवस्थामा वर्ग विभाजन त रहन्छ नै तर वर्ग विभेदलाई सकेसम्म नियन्त्रण गरिएको हुन्छ । यदि राज्य व्यवस्थामा निरंकुशता हावी छ या शासक वर्ग तानाशाही प्रवृत्ति को छ भने वर्ग विभाजनलाई वर्ग विभेदमा लगेर कार्यान्वयन गर्दछ ।

कोरोना भाइरस २१औं शताब्दीको मानव जातिको महान शत्रु हो, भन्ने कुरा विश्व समुदायले स्विकार गरिसकेको छ । चीनबाट सुरुवात भएर विश्वव्यापी महामारिको रुप लिएको कोरोना भाइरसले हालसम्म करोडौं मानिसलाई संक्रमित गराइसकेको छ । लाखौं मानिसको ज्यान लिइसकेको छ, भने यसको भविष्यको बारेमा विश्वका दिग्गज मस्तिष्कहरू पनि अनुमान समेत गर्न सकेका छैनन् । विश्वका कतिपय देशहरू यसको केही हदसम्मको नियन्त्रणमा सफल पनि भएका छन् ।

नेपालको सन्दर्भमा कुरा गर्दा गत चैत्रको पहिलो साताबाट यसको प्रभाव ज्यादै न्यून रुपमा सुरुवात भयो भने सरकारले तत्काल लकडाउनको घोषणा गरेर केही हदसम्म नियन्त्रण गरेको भन्ने प्रतिवेदन सार्वजनिक गर्न र भविष्यको नयाँ पुस्तालाई इतिहास पल्टाएर हेर्दा लकडाउनको सार्थकता रहेछ भन्ने लायक बनाएको देखिन्छ । लामो समयावधिको लकडाउनले लगभग देशको सबै क्षेत्र र सबै वर्गलाई सानो-ठुलो प्रभाव र क्षति भने अवश्य पुर्यायो ।

माथि विश्लेषण गरे जस्तै वर्ग विभाजन र वर्ग विभेदको कारणले कोरोना भाइरसको प्रभावलाई हेर्ने हो भने सबैभन्दा बढी आर्थिक आधारमा कमजोर आर्थिक अवस्था भएका वर्ग, दैनिक ज्याला मजदुरी काम गरि खाने वर्ग, निजि क्षेत्रमा काम गरि खाने वर्ग, सानो तथा मझौला लगानीमा व्यवसाय गर्ने वर्ग, सबैभन्दा ठूलो मारमा पर्न गएको देखिन्छ । यसको खास कारण नेपाली समाजमा भएको वर्ग विभाजन र त्यो वर्ग विभाजनलाई शासक वर्गले गरेको वर्ग विभेद नै हो । नेपालको संविधानमा राज्यको मुख्य दायित्व तथा कर्तव्यमा जनताको जीउधनको सुरक्षा पहिलो प्राथामिकतामा छ ।

लोककल्याणकारी राज्य व्यवस्थामा राज्यले प्रदान गर्ने सेवा सुविधाको लागि सबै नागरिकहरू समान रहन्छ्न् । प्राकृतिक न्यायको सिद्धान्तमा मानव जीवन सबैको समान हो भनिएको छ । अझ नेपालको पछिल्लो राज्य संचालनको संयन्त्र, सरकार संचालन गर्ने दलको दर्शन र उनिहरूको सिद्धान्तलाई हेर्ने हो भने आफुलाई समाजवादी हो भनेर दाबी गरेको पाइन्छ । राज्य संचालनको नेतृत्व गर्ने व्यक्तिको भाषणमा देशलाई समाजवादको दिशामा ला’ने भन्ने कुरा सुनिन्छ ।

समाजवादको जग भनेको नै वर्ग विभेदको अन्त्य हो, तर नेपालमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणको पछिल्लो अभ्यासलाई हेर्ने हो भने लोककल्याणकारी राज्य व्यवस्था, समाजवादतर्फ उन्मुख राज्य, विधिको शासन जस्ता मान्यताको धज्जी उडेको देखिन्छ ।लगभग ६/७ हजार मात्र सक्रिय संक्रमित रहँदा सरकार भनिरहेको छ – हस्पिटल र स्वाथ्यकर्मीहरूको अभाव हुन थालिसक्यो ।

राज्यकोषबाट अरबौं खर्च गरिसक्दा सरकारले अपेक्षा अनुरुप परिक्षणको दायरा बढाउन सकेको छैन । PCR को नमुना संकलन गर्दा निम्न अवस्थामा रहेका वर्ग, जोखिम तर पहुँचमा नरहेका वर्ग भन्दा पनि सम्भ्रान्त वर्ग कार्ल मार्क्सको भाषामा भन्दा बुर्जुवा वर्ग, शासक वर्गमा लक्षित गरि नमुना संकलन गरिएको छ । संक्रमितहरूमा वर्ग विभाजनको आधारमा उपचार, अस्पताल र एकान्तबासको व्यवस्था गरिएको छ ।

जोखिमताको आधारमा भन्दा पहुँच हुनेहरू पटक-पटक नमुना परिक्षण गर्दै छन् । कोरोना नियन्त्रणमा गरिएको पछिल्लो अभ्यासले अब नेपालमा वर्गीय विभेदको विरुद्धमा लड्ने चिन्तन स्खलन भएको पुष्टि हुँदै छ । पहुँचवाला वर्ग मात्र बाँच्नु पर्छ भन्ने चिन्तन हावी हुँदै छ । जनताभन्दा सत्ता प्रमुख होकि भन्ने नजिर बस्दै छ । नेपालको कोरोना सम्भ्रान्त वर्गीय बन्दै छ । राज्य संयन्त्रसँग आम जनताको विश्वास टुट्दै छ । भित्तामा झुन्ड्याइयको विश्व साम्यवादी आन्दोलनका प्रणेता कार्ल मार्क्सको अपमान हुँदैछ ।

उप-प्राध्यापक, बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर